|

जाजरकोट : नलगाड नगरपालिका–२ गरीस्थित कालिका प्राथमिक विद्यालय शैक्षिक सुधारको नमुना बनेको छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जिल्लाका सबै नगर तथा गाउँपालिकामा अभियान चलिरहको वेला गरीमा रहेको कालिका प्रावि उदाहरण बनेको हो।

२०४९ सालमा स्थापना भएको कालिका प्राविमा बालशिक्षा देखि कक्षा १ हुँदै हाल ५ सम्म पढाइ हुने गरेको छ।

नलगाड नगरपालिकाको नगर शिक्षा शाखाले शैक्षिक सत्र २०७४ को लागि लिएको वार्षिक परीक्षामा यो प्राविले प्रथम स्थान हासिल गरेको छ। शैक्षिक सुधारमा उदाहरणीय बनेको भन्दै २०६७ सालको शिक्षा दिवसका अवसरमा विद्यालयका प्रधानाध्यापक ठाकुरनाथ शर्माले राष्ट्रियस्तरको सम्मान प्राप्त गरेका थिए। विद्यालयकी शिक्षिका यशोदा देवी शर्माले पनि २०७३ सालको शिक्षा दिवसको अवसरमा जिल्लास्तरीय सम्मान प्राप्त गरेकी थिइन्।

शिक्षकले दैनिक ८ घण्टी पढाउनु पर्छ

कक्षा १ देखि कक्षा ५ सम्ममा दैनिक ३० घण्टी पढाइ हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिका तीन जना मात्र छन्। दरबन्दीमा रहेका शिक्षक ठाकुरनाथ शर्मा प्रधानाध्यापक  हुन भने, यशोदा देवी शर्मा दरबन्दीकी शिक्षिका हुन्। विद्यालयको निजी स्रोतबाट तलब खाँदै आएका रामलाल जैसी उक्त विद्यालयमा शिक्षण गर्ने अर्का  शिक्षक हुन्। बाल शिक्षा सहयोगी कार्यकर्ताका रूपमा रहेकी रचना जैसीले अन्य कक्षामा पनि पढाउने गरेकी छिन्।

प्रत्येक शिक्षक, शिक्षिकाले दैनिक ८ घण्टी पढाउँदा पनि ६ घण्टी बाँकी रहने भएकाले बाल शिक्षा सहयोगी कार्यकर्ताले अन्य कक्षामा पनि पढाउनु पर्ने अवस्था आएको प्रधानाध्यापक शर्माको भनाइ छ। बाल शिक्षामा अध्ययनरत २५ जना बालबालिकाहरुलाई बिहान १० बजेदेखि दिउसो २ बजेसम्म साना बच्चालाई काखमा च्यापेर पढाउने रचना दिउँसो २ बजेपछि अन्य कक्षामा पढाउँछिन्।

कक्षा १ देखि नै अंग्रेजी पढाइ हुने विद्यालयमा दुई वटा मात्र शिक्षक दरबन्दी छ। भर्खरै सुरु भएको नयाँ शैक्षिक सत्रमा त्यस विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा ६० छात्र र ७१ छात्रा गरी १३१ जना विद्यार्थी छन्। प्रअ शर्माले दिएको जानकारी अनुसार यो वर्ष त्यस विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थीमा ४२ दलित, १६ जनजाति र अन्य ७३ जना  छन्।

बालबालिका अाफैँ खोज्छन् शिक्षक 

कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बाबालिकाहरुले शिक्षक, शिक्षिकाबाट अपार ममता पाएपछि अामाबाबुको स्नेह नै बिर्सिने गरेका छन्। कालिका प्राथमिक विद्यालय गरीको कक्षा ३ मा पढ्ने  चाँदनी बिष्ट नलगाड नगरपालिका–१३ सिउनकी हुन्। पढाइका लागि सिउनबाट कालिका प्राविमा पुगेकी चाँदनी आफ्ना आमा, बुबाबाट पाउनेभन्दा बढी माया विद्यालयका शिक्षक शिक्षिकाबाट पाएको बताउँछिन्। अाठ वर्षीया चाँदनी समयतालिकाअनुसार ढिलाो हुनेवित्तिकै शिक्षक, शिक्षिकालाई बोलाउन विद्यालय अफिस कोठामै पुग्ने गरेकी छिन्।  शिक्षकको हात समातेरै विद्यार्थी शिक्षकलाई कक्षा कोठासम्म पुर्‍याउँछन्।

नगरपालिकाकै नमुना विद्यालय

भौतिक पूर्वाधार विकास भन्दा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिँदै अाएको प्रअ शर्मा बताउँछन्। पूर्वाधार विकासका लागि जिल्ला शिक्षा कार्या‍लयबाट करोडौंको बजेट विनियोजन हुँदा पनि हालसम्म यो विद्यालयमा अाएको थिएन। नलगाड नगरपालिकाको नगरसभाले यो वर्षका लागि एकमुष्ट विनियोजन गरेको २ लाख ५९ हजार २०० रुपैयाँबट पहिरो नियन्त्रण गर्न तारजाली भर्नुका साथै भवन प्लष्टर गरेर मर्मत गरिएको छ।

७५ हजार रुपैयाँ नलगाड नगरपालिका र बाँकी रकम वैकल्पिक उर्जाको अनुदानमा हजार वाट क्षमताको सोलार सेट जडान गरिएको छ। आगामी वर्ष विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्नुका साथै बालमैत्री खेलमैदान र शौचालयको व्यवस्था गरिदिने योजना रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.