जाजरकोट : भेरी नगरपालिका–१३, कुदुकी राधिका गिरीलाई पिउने पानीका लागि दिनहुँ घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ। सोही ठाउँकी सिवानी आचार्यको व्यथा पनि उही हो। गाउँदेखि आधा घण्टा दूरीमा रहेको कुवामा पानी जम्मा गरेर पालैपालो पानी भर्नु यहाँका महिलाहरूको दैनिकको बाध्यता हो।
गाउँभरको पानीको स्रोत एउटै कुवा। त्यही पनि सुक्न थालेपछि उनीहरू खानेपानीको जोहो गर्दा गदै हैरान छन्। उनीहरूजस्तै सयौं महिला कुवाको पानी संकलन गर्न पालो कुर्छन्। यहाँका ८०० घरपरिवारलाई वर्षौंदेखि खानेपानीको समस्या छ ।
वर्षौंदेखि शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका बासिन्दा भेरी नदीको धमिलो तथा दूषित पानी पिउन बाध्य छन्। उनीहरूलाई आधा घण्टा टाढाको कुवा र एक घण्टा टाढाको भेरी नदीबाट पिउने पानी नबोकी सुखै छैन। गर्मी तथा सुक्खा मौसमसँगै कुवामा पानी सुकेपछि कुदुबासी भेरी नदीको धमिलो पानी पिउन बाध्य भएका हुन्।
खडेरीले कुवाको मूल सुक्दा झन् समस्या भएको स्थानीयको भनाइ छ। ‘भाँडा लिएर पानी संकलनका लागि कुवाको पिँधसम्मै पुग्नुपर्छ, रातदिनै कुवामा पानी संकलन गर्नेको भीडभाड हुँदा पालो कुर्नै मुस्किल छ', स्थानीय शेरबहादुर बस्नेतले भने, 'समय जति पानी ओसारपसारमै बित्छ, अन्य काम कति बेला गर्ने ? जतिबेला पनि भेरी किनारामै जानुपर्छ।’ भेरी नदीको धमिलो र दूषित पानीको प्रयोगले यहाँका स्थानीयमा झाडापखाला, खटिरा लगायत रोगको संक्रमण समेत देखा पर्ने गरेको उनले बताए।
यस क्षेत्रमा रहेका स्वास्थ्य, कृषि, पशु, विद्यालयलगायत दर्जन संघसंस्थामा कार्यरत कर्मचारी र विद्यार्थीलाई पिउने तथा सरसफाइ गर्ने पानीको झनै समस्या छ । सडक निर्माण विस्तारसँगै बढदो जनघनत्व भएको कुदुगाउँमा खानेपानी आपूर्तिको व्यवस्थापन हुन सकेको छैन। तीनै तहका निर्वाचनमा नेताहरूले भोट माग्दा कुदुमा 'एक घर, एक धारा'को व्यवस्था गर्ने भने पनि अहिले चासो नदिएको बस्नेतको गुनासो छ। स्रोत अभावमा यहाँका बासिन्दालाई पिउने पानीको समस्या भएको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन प्रमुख महेशी महतोले बताए।
जनसंख्याको चापका कारण कम स्रोतबाट खानेपानी पुर्याउन नसकिने उनले बताए। कुदु क्षेत्रलाई खानेपानीको व्यवस्था गर्न पाँच करोड लागतको योजना स्वीकृत भएको तर कार्यान्वयनको प्रक्रियामा ढिलाइ भएको प्रमुख महतोले बताए। आठ किलोमिटर टाढाको मुहानबाट उक्त योजनाको सर्भे डिजाइन कार्य पूरा भैसकेको उनले बताए। यहाँको हजार रोपनी भन्दा बढी जमिन सिंचाइको अभावमा बाँझै छ।समथर फाँट रहेको कुदुमा सिंचाइ अभावका कारण बर्खे बाली मात्र लगाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।