|

जाजरकोट : भेरी नगरपालिका–१ रिम्नमा सिलेट उद्योग सञ्चालनमा आएको छ। घरका भित्ता सजाउनका लागि प्रयोग गरिने सिलेटको कटिङ तथा फिर्निसिङ गर्नका लागि रिम्नामा उद्योग सञ्चालन गरिएको हो।

रुकुम चौरजहारी नगरपालिका–८ निवासी मानबहादुर मल्लले गत एक वर्ष पहिले कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा ‘मल्ल सिलेट कटिङ सेन्टर प्राली’ दर्ता गरेर चौरजहारी–८, रुकुममा सञ्चालन गर्दै आएको उद्योगको शाखा गत एक महिनादेखि भेरी नगरपालिका–१ रिम्ना, जाजरकोटमा सञ्चालन गर्दै आएका छन्।

कम्पनीले उत्पादन गरेका सिलेटहरूको बजारीकरण दार्जिलिङ, धादिङ, पोखरालगायतका ठाउँहरूमा भइरहेको प्रोपराइटर मानबहादुर मल्लले बताए।

रिम्नामा सञ्चालन गरिएको उद्योगको शाखामा रुकुम, आठबीसकोट नगरपालिका–१० राडी कालाखोलामा रहेको कालो रङको सिलेट ल्याएर कटिङ भइरहेको उनले बताए। उनले केही समयभित्रै जाजरकोट नलगाड नगरपालिका–८ कायमैदेमा रहेको रातो रङको सिलेट ल्याएर कटिङ गरिने जानकारी दिए। रुकुम गोरीमा रहेको सेतो रंङको सिलेट चौरजहारीमा कटिङ भइरहेको मल्लको भनाइ छ।

घरको भित्ता सजाउनका लागि प्रयोग हुने रातो, कालो र सेतो रङको सिलेटको निकै माग बढिरहेको छ। मल्लले भने, ‘प्राकृतिक रङमा कुनै परिवर्तन नआउने गरी सिलेट कटिङ गर्न सकिएकाले सिलेटको माग दैनिक बजारमा बढ्दै गइरहेको छ।’ 

कटिङ गरेको प्रति सिलेट मूल्य २४ रुपैयाँमा उद्योगबाटै आफूले बिक्री गर्ने गरेको मल्लले बताए। पाँच लाखको लगानीवाट सुरु गरिएको उक्त उद्योगमा हालसम्म १५ लाखको लगानी भइसकेको मल्लको भनाइ छ। पहिले घर खर्च चलाउँने मुस्किल हुँने मानबहादुरले अहिले चारजना सहयोगी राखेर काम गरिहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.