|

काठमाडौं : सशस्त्र प्रहरी बलमा आवश्यक दरबन्दी भन्दा बढी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)  पद थपिँदा उनीहरू कामविहीन बनेका छन्। छ जनाको दरबन्दी रहेको एआइजी पदमा अहिले ११ जना वहाल छन्।

माघ ७ गते सशस्त्र प्रहरी बलले संघीय संरचानामा जानका लागि भन्दै एआइजीको दरबन्दी थपेको थियो। संघीय संरचानामा जान एआइजीको संख्या थप गर्नु पर्ने रायसहितको प्रतिवेदन गृहमा पुगेपछि सरकाले सोही प्रतिवेदनका आधारमा पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई एआइजीमा बढुवा गरेको थियो। बढुवा भएका पाँचै जना अहिले भूमिका विहीन भएर हेडक्वाटरमै थन्किएका छन्। 

बढुवा हुनेमा जानकी भट्टराई, निराकरमविक्रम शाह, सुवोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन्। एआइजी बढुवामा परेका चौधरी टीकापुर घटना हुँदा सेती अञ्चल प्रमुख समेत रहेका थिए। उक्त घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना आन्दोलनकारीद्वारा मारिएका थिए। उनलाई नेपाल प्रहरीसँग समन्वयन नगरेको भन्ने आरोप लागेको थियो र घटना पछि उनी सशस्त्र प्रहरी बल मुख्यालय तानिएका थिए। सोही घटनालाई जोडेर चौधरीको बढुवाका क्रममा समेत विरोध भएको थियो।

बढुवा भएका एआइजीहरूलाई प्रदेशमा पठाउने तयारी भएको थियो। तर, प्रदेश सरकारको मन्त्रालयमा प्रशासन प्रमुख सहसचिव रहने व्यवस्था भएसंँगै वरियता नमिल्ने भन्दै प्रहरीतर्फ एआइजी पद स्वत हटाएर प्रदेश प्रमुखको जिम्मा डिआइजीले लिएका छन्। नेपाल प्रहरीले समेत पहिला एआइजीलाई प्रदेशको जिम्मा दिएको थियो। उसले हाल डिआइजी पठाएको छ। थप भएका सशस्त्र प्रहरी बलका  एआइजीको जिम्मेवारी कसरी मिलाउने भन्नेमा सरकार नै अन्यौलमा रहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको भनाइ छ।

‘प्रदेशमा आन्तरिक मामिला कानुन सचिव प्रमुख छ, एआइजी विशिष्ट श्रेष्णीको हुन्छ। सचिवले कसरी कमाण्ड गर्न सक्छ? यसमा टेक्निकल समस्या देखिएको छ र अहिले नै प्रहरीको प्रदेश प्रमुखमा एआइजी पठाउने कि डिआइजी भन्ने समेत सरकारले निर्णय र कानुनले समेत स्पष्ट नगर्दासम्म यो बिषय अन्यौलमै रहने छ', उनले भने। यसअघिको सरकारले एआइजी बढुवा गर्दासमेत यस्तो बिषयको अध्ययन बिना नै बढुवा गर्दा समस्या भएको उनको तर्क थियो। 

सरकारको वरीयताक्रमअनुसार एआइजी १७ औँ र नेपाल सरकारका सहसचिव १९ औँ स्थानमा छन्। डिआइजीको वरीयताक्रम २१औँ स्थानमा छ।

बढुवा भएका पाँचजना एआइजी हाल हेडक्वाटरमै रहेका छन्। आवश्यक गृहकार्य बिना नै एआइजीको दरबन्दी थपिदाँ काम विहीन बस्नु परेको कतिपय प्रहरी अधिकृतहरूको भनाई छ। डिआइजीलाई एआइजीमा बढुवा गरिएसँगै हाल रिक्त भएको क्षेत्रीय सशस्त्र प्रहरीबलमा एसएसपी प्रमुख भएर काम चलाइ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.