|

काठमाडौं : करिब ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती 'गोरे' पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। तर गोरेको बयानअनुसार सुन तस्करीमा प्रहरीतर्फ सेटिङ मिलाउने जिम्मा पाएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री भने अझै फरार रहेका छन्। जिल्ला अदालत मोरङमा लिइएको चार दिनको बयान र आइतबारको थुनछेक बहसपछि गोरे भने पुर्पक्षका लागि जेल चलान भएका हुन्। 

गोरेले चार दिन लगाएर ३७ पृष्ठको बयान दिएका थिए तर गोरेको बयानले छानविन समितिलाई अझ अन्योल बनाएको छ। गोरे पक्राउ नहुँदासम्म गोरेलाई पक्राउ गर्न सके सुन तस्करीको पर्दा उघ्रनेमा प्रहरी र छानविन समिति ढुक्क जस्तै थियो। तर गोरेको बयानले सुन तस्करीको जालो अझ गन्जागोल बनाएको छानविन समितिको भनाइ छ। गोरेले दिएको बयानलाई आधार मान्ने हो भने अब तस्करीको पहिलो घेरामा वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री रहेका देखिएको छ।

'सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गरेको हो। खत्रीकै सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको थियो', गोरेले बयानमा भनेका छन्।

को हुन् एसएसपी श्याम खत्री?

२०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले काठमाडौँको तिलगंगाबाट बरामद गरेको ३४ किलो सुन काण्डमा मुछिएर पक्राउसमेत परेका गुल्मी तम्घास- ६ घर भएका, हाल भक्तपुर मध्यपुर ठिमी- १६ लोकन्थली बस्दै आएका एक उच्च प्रहरी अधिकृत हुन्, श्याम खत्री। उनी २०४५ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। दुबईबाट एयर अरेबियाको जहाजमार्फत ०७३ सालमा भित्र्याएको सुन काण्डमा उनको नाम जोडिएपछि उनी विवादित एसएसपीका रूपमा चिनिएका थिए। उनी त्यही सुन काण्डमा प्रकाउसमेत परेका थिए तर ०७३ चैत ४ गते जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

त्यसबेलाका सुन काण्डका नाइके हरिशरण खड्का भएको प्रहरी अनुसन्धानले देखाएको थियो तर उनलाई पक्राउ भने प्रहरीले गर्न सकेन। उनै खड्कासँग मिलेर खत्रीले हालसम्म पनि सुन तस्करीको धन्दा चलाएको खुलेको छ।

माघ ९ गते साढे ३३ किलो सुन नेपाल भित्र्याएर पनि सम्बन्धित ठाउँमा नपुग्दै हराएपछि उत्पन्न भएको तस्करबीचको विवादले सनम शाक्यको हत्यापछि फेरि खत्रीको संलग्नता देखिएको हो।

गोरे पक्राउ पर्दा कहाँ लुके खत्री?

साढे ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती 'गोरे' पक्राउपछि पुर्पक्षका लागि जेल चलान हुँदासम्म वहालवाला एसएसपी श्याम खत्री भने अझै प्रहरीको फरार सूचीमा रहेका छन्। चैत ३० मा सरकारले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। छानविन समिति बनेलगत्तै बिदामा बसेका खत्री हालसम्म कहाँ छन् भन्ने प्रहरीलाई अत्तोपत्तो छैन।

तर प्रहरी उच्च स्रोतका अनुसार खत्री नेपालमा नरहेको निष्कर्षसहित अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ। खत्रीसहित सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, प्रतिवादी रहेका सुनिल अग्रवाल, गोरेका भाइ रमेश उप्रेती, बाजेको सेकुवा संचालक चेतन भन्ने चेतनाथ भण्डारी, हरिशरण खड्का र छिरिङ बांगेल गुरुङ रहेका छन्। खत्री दुबईमा रहेको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.