|

काठमाडौं : जेठ १३ गते सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सट्टेबाजी ‘अनलाइन बेटिङ’ (अनलाइनमार्फत् खेलिने जुवा) अभियोगमा पक्राउ परेका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी अञ्जन केसीसहित छ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं मैतीदेवीका गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका भूपेन्द्रशम्शेर कुँवर, भक्तपुर बोलांछै- १२ का विजय श्रेष्ठ, नुवाकोटका दिनेश बोगटी र भक्तपुरका नरेन्द्र सुवाल रहेका छन्। गिरोहका नाइके भने गौरव तिवारी रहेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए। महानगरीय प्रहरी परिसरले उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। उनीहरूबाट करिब दुई लाख रुपैयाँ नगद र सट्टेबाजीमा प्रयोग गरिने उपकरणहरू, आठ थान आइफोन र एक थान ल्यापटपसमेत प्रहरीले बरामद गरेको छ। 

तिवारी सिटी सेन्टर र सिभिल मलमा रहेको सिनेमाका संचालकसमेत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका फुटबलर अञ्जन उनका ललितपुर जिल्लाका प्रमुख एजेन्ट हुन्। अञ्जन यसअघि म्याच फिक्सिङ मुद्दामा पनि पक्राउ परेका थिए। सट्टेबाजी समूहमा गुन्डा नाइके दावा लामासमेत संलग्न देखिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यसरी हुन्थ्यो सट्टेबाजी

सट्टेबाजी अनलाइन खातामा पैसा राखेर खेलिने जुवा हो। कुनै विषयमा पक्ष/विपक्षमा रही पैसा बाजी राखेर खेलिने जुवा हो सट्टेबाजी। यस्तो जुवा विश्वका अन्य मुलुकमा पनि खेल्ने गरेका पाइएको छ। भारतमै पनि महत्त्वपूर्ण र ठूला खेलहरूको समयमा सट्टेबाजीको व्यापक चर्चा हुने गरेको छ। कतिपय भारतका चर्चित खेलाडीहरू सट्टेबाजीको कारण पक्राउ परेका र कारवाही भोगेका उदाहरण छन्।

नेपालमा सट्टेबाजी गिरोहका नाइके काठमाडौं मैतीदेवी घर भएका २७ वर्षीय गौरव तिवारी हुन्। उनले यसअघि नागराज भन्ने अमृत अग्रवालसँग मिलेर सट्टेबाजी गर्ने गरेका थिए। पछि आर्थिक लेनदेन नमिलेपछि उनी आफैँले गिरोह संचालन गरेर सट्टेबाजी जुवा खेलाउन सुरु गरेका हुन्।

तिवारीले लण्डनबाट मास्टर एकाउण्ट खोलेर सट्टेबाजी जुवा खेलाउने गरेका थिए। उनले खोलेको २४ वटा एकाउण्ट बाट करिब सात करोड ४७ लाख दुई हजार रुपैयाँ कारोबार भएको देखिएको छ। गौरवको मुख्य सहयोगीमा भने भूपेन्द्रशम्शेर कुँवर रहेको प्रहरीको भनाइ छ।

उनले ०७२ सालयता उनीसँगै मिलेर भूपेन्द्र चारवटा शून्य राखेर अनलाइन एकाउण्ट खोलेर सट्टेबाजी खेलाउने गरेका थिए। उनको एकाउण्टबाट तीन करोड २२ लाख ९७ हजार रुपैयाँ कारोबार भएको देखिएको छ।

त्यस्तै, पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जनको एकाउण्टबाट दुई करोड ७७ लाख पाँच हजार रुपैयाँ कारोबार भएको देखिएको एसएसपी पोखरेलले बताए। केसी ललितपुर जिल्लाका मुख्य एजेन्ट हुन्। त्यस्तै, विजय श्रेष्ठको एकाउण्टबाट एक करोड, नरेन्द्र सुवालको खाताबाट ७७ लाख दिनेश बोगटीको खाताबाट कारोबार देखिएको प्रहरीको भनाइ छ।

यसरी हुन्थ्यो पैसाको हिसाबकिताब

अनलाइन एकाउण्टमार्फत जमा हुने पैसा न्यूनतम २५ हजार रुपैयाँबाट सुरु भएको थियो। यसरी जम्मा भएको पैसाको हिसाब उनीहरूले हरेक साताको सोमबार बसेर गर्ने र भुक्तान चाहिँ नगदमै गर्ने गरेको एसएसपी पोखरेलले बताए। उनीहरू सट्टेबाजी खेल जुवा खेलाउने नेपालकै ठूलो गिरोह भएको प्रहरीको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.