जाजरकोट : यहाँको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती बालबालिकालाई खलंगामा कराँते खेल सिकाउँछन्। प्रायः जनताको काममा व्यस्त हुने प्रमुख घर्तीले फुर्सद निकालेर बालबालिकालाई कराँते सिकाउने गरेका हुन्।
घर्तीलाई नगर विकासका साथै जनताको काम भ्याइनभ्याइ छ। व्यस्तताका बाबजुद पनि घर्ती बिहान बेलुका बचेको समय निकालेर बालबालिकालाई कराँते सिकाउँछन्। जनताको काम भ्याइनभ्याइ हुँदाहुँदै थोरै समय निकालेर बालबालिकाको चाहना पूरा गर्न खेल सिकाउन लागेको नगर प्रमुख घर्तीले बताए।
जनताको कामबाट चोरेको समयमा साना भाइबहिनीलाई खेल सिकाउन पाउँदा आनन्द लाग्ने गरेको उनले बताए। विगतको खेलजीवन सम्झँदा आनन्द लाग्ने बताउने उनले बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुद सिकाउन लागेको बताए । प्रमुख घर्ती कराँतेका पूर्वराष्ट्रिय खेलाडी हुन् । गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष रहेका घर्ती एसियन कराँते महासंघका एसिया स्तरका रेफ्री पनि हुन्।
नगरप्रमुखसँग कराँते सिक्न पाउँदा बालबालिका पनि दंग छन्। नगरप्रमुखसँग कराँते खेल सिक्ने मौका पाउँदा निकै उत्साहित भएको प्रशिक्षार्थी विशाल विकले बताए। बालबालिकालाई आनन्दका साथ खेल सिकाउने गरेका छन । ‘कराँते सिक्न आउनेको संख्या बढ्दो छ,’ उनले भने।
प्रमुखले सिकाउन थालेपछि खेलाडी संख्या पनि बढेको उनले बताए। भेरी नगरपालिकाका २, ३ र ४ का २ दर्जन बालबालिकाले नगरप्रमुख घर्तीसँग नियमित कराँते खेल सिकिरहेका छन्।
जिल्लामा एउटा खेलमैदानसमेत नहुनु लज्जास्पद भएको प्रमुख घर्तीले बताए। खेलाडीलाई हौसला दिन भेरी नगरपालिकामा खेलकुदको विकास गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।