|

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथामिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसकेको छ तर निर्माण पूरा हुन सकेको छैन। निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिकबीचमै काम छोडेर बेपत्ता भएपछि निर्माणधिन भवन अलपत्र परेको हो।

सरकारी लगानीमा निर्माण हुन थालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ भने निकै जिर्ण अवस्थामा रहेको पुरानै भवनवाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीलाई स्वास्थ्य सेवा दिन बाध्य भएका छन्।

प्राथामिक स्वास्थ्य केन्द्र दल्लीको भवन निर्माणका लागि शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतसँग जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०६८ वैशाख ७ गते सम्झौता गरेको थियो। सम्झौता पत्रमा २०६९ कातिक ६ गतेभित्रै भवन निर्माण सम्पन्त गरिसक्नु पर्ने उल्लेख गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।

झण्डै एक करोड २१ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्ने भनि सम्झौता गरेको निर्माण कम्पनीले बीचमै काम छोडेर भागेपछि भवन अलपत्र पारेको छ। काम लिनलाई लागत इस्टमेट भन्दा घटेर कामको सम्झौता गर्ने तर, समयमा काम पूरा नगरी बीचमै निर्माण कार्यको काम छोड्ने निर्माण कम्पनीहरुले गर्न थालेका छन्। निर्माण कम्पनीका मालिकको चरम लापरवाहीले समयमा काम सम्पन्न नभएपछि उक्त भवन अलपत्र परेको हो ।

निर्माण कार्य थालनी गरिएको भवनको झण्डै ६५ प्रतिशत बढी काम गर्न बाँकी रहेको स्थानीय बीनबहादुर सिंहको भनाई रहेको छ। जाजरकोटको नलगाड नगरपालीका र रुकुमको आठबीसकोट नगरपालिकाका नागरिकहरूले स्वास्थ्य सेवा लिइरहेको नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र रहेको दल्ली प्राथमिक स्वास्थ्य केन्द्र भवन अभावमा बत्तीमुनीको अध्यारो जस्तै भएको सिंहले तर्क गरे। भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्य सेवाको व्यवस्थापनमा निकै कठिनाइ भएको डाकटर सन्जय यादवको भनाई रहेको छ। 

शिक्षा, स्वास्थ्यलाई नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हकका रुपमा परिभाषित गरेको हुँदा नेपालको बिद्यमान संघीय सरकारले हरेक स्थानीय तहमा अनिवार्य १५ शैयाको एक–एक वटा अस्पताल र एक–एक वटा प्राविधिक शिक्षालय बनाउनु पर्ने नीतिगत निर्णय गरिसकेको जाजरकोटवाट निर्वाचित कर्णाली प्रदेश (क) का सांसद गणेश प्रशाद सिंहले वताए। सरकारले आकस्मिक स्वास्थ्य सेवालाई सुलभ बनाउनलाई एर एम्बुलेन्सको व्यवस्था गर्नु पर्ने आफ्नो नीति तथा कार्यक्रम बनाएको सांसद सिंहको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.