|

काठमाडौं : राष्ट्रिय नाचघरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली संगीतिक माहोलसँगै आफ्नो विगतलाई स्मरण गर्दै थिए। उनको विगतलाई संगीतमार्फत स्मरण गराउँदै थिए, जनकलाकार रामेश श्रेष्ठ। श्रेष्ठको एकल सांगीतिक प्रस्तुतिमा पुगेका प्रधानमन्त्री ओली विगत सम्झिएर निकै भावुक देखिन्थे। त्यसो त राजनीतिककर्मीहरू यस्ता गीत/संगीतका पारखी नै हुन्छन्। त्यसमा पनि कम्युनिस्ट पार्टीका नेताहरू त वर्ग संघर्षका ती क्षणमा गीत/संगीतकै माध्यमबाट संगठ विस्तार गर्दथे।

श्रेष्ठले प्रस्तुत गरेका गीतमध्ये  ‘हामी जित्छौँ एक दिन’ ले प्रधानमन्त्रीलाई निकै भावुक बनायो। गीतका शब्द-शब्द ख्याल गर्दै सुनेका ओलीले त्यो गीतलाई आफ्नै संघर्षसको पलसँग दाँजे। यो गीतले उनलाई जेलमा बस्दा क्रान्तिका लागि निकै उत्साह दिएको थियो रे। तत्कालीन पञ्चाय शासकको फन्दामा परेका उनलाई बेलाबेला  शासकको क्रुर यातानाबाट सामान्य फर्कन्छु जस्तो लाग्दैन थियो रे। फेरि त्यही गीतले झिनो आशा पनि जगाउँथ्यो रे। 

त्यो गीतले उनलाई आफू जेलमा बस्दाका दिनमा उत्साहा र बाँच्ने आश पलाएको पछि आफू बोल्ने क्रममा भन्दै थिए। ‘यो गीत सुनेर आफ्नो जेल जीवन सम्झिएँ। जेलमा दैनिक ७५ पैसा दिइन्थ्यो। उसिना कुहिएको चामल दिइन्थ्यो। भित्र दिने याताना काहिली लाग्दो थियो, हाम्रो बाँच्ने आधारको एउटै आशाको त्यान्द्रो थियो यही गीत’, उनले भने।

तात्कालीन पंचायति सरकारले आफूलाई जेल हालेर आन्दोलन दबाइको भन्दै गायक श्रेष्ठको गीतले नै नयाँ शिराबाट संगठन विस्तार गर्ने आँट बटुलेको बताए। उनले लय र सुरु मिलाएर गाउन नजाने पनि आफूले श्रेष्ठका गीत गुनगुनाउँदै आएको बताए। उनले भने, ‘म ३० सालमा जेल परेँ, हाम्रो आन्दोलन दबाइयो, तर त्यही गीतको सहारामा हामी फेरि आँट बटुल्यौँ,’ उनले भने, ‘लय हाल्न जान्दैनथ्यौँ, सुर मिलाउन जान्दैनथ्यौँ, तर पनि गाउँथ्यौँ।’

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर र जनसंगीत प्रतिष्ठनले आयोजना गरेकाको कार्यक्रमा रामेशले एकल प्रस्तुति दिएका थिए। ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीतबाट निकै चर्चा कमाएका युग गायक श्रेष्ठले शनिबार राष्ट्रिय नाचघरमा ‘युगीन आवाज’ नामक एकल सांगीतिक साँझ गरेका थिए। 

तात्कालीन पंचायति सामन्ती सत्ताबाट जनताको भलो नहुने देखेपछि उनले यो गीत गाएको बताउँदै आएका छन्। तात्कालीन समयमा स्कुल कलेज र गाउँगाउँमा चर्चित यो गीत २०४६ सालपछि मात्रै रेकर्ड गरिएको थियो।

उक्त कार्यक्रम श्रेष्ठलाई सांस्कृतिक संस्थानले युग गायकको सम्मान गरेको छ। उक्त कार्यक्रममा गायक श्रेष्ठलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘रामेश मैले देखेदेखि अहिलेसम्म निरन्तर बगिरहेको नदीजस्तो लाग्छ। नदीको बगाइ मौसमअनुसार परिवर्तन हुन्छन्, मलाई पनि रामेश उस्तै लाग्छ।’

लामो संघर्षका मैदानबाट लडेर आएका जनताका प्रतिनिधिले देशको अभिभारा समालेको भन्दै उनले जनप्रतिनिधिको एक मात्र उद्देश्य भनेको जनतालाई सशान दिने र विकास गर्ने रहेको बताए। उनीले आफ्नो क्षमता, बुद्धि, तागत स्रोत र साधन देश र जनताका लागि प्रयोग गर्ने भएकाले खुसी नेपाली सम्वद्ध नेपालको नारालाई सकार बनाएर छाड्ने दाबी गरे। 

साथै, उनले अब रामेश, रायन, मान्जुललगायतले निरासका गीतहरू गाइरहनु नपर्ने बताए। देशमा विकासको लहर छाएको भन्दै उनले कोही पनि नेपाल भोक, सोक र जाडोले कट्यांग्रिएर मर्नु नपर्नेसमेत बताए। 

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई तुरुन्तै स्वदेश फकाउन नसके पनि केही समयमा नै सबै नेपाललाई स्वदेशमै रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताए।

गायक श्रेष्ठको एकल साँझ हेर्न प्रधानमन्त्री ओली, सरकारका मन्त्रीहरू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका व्यक्तित्व राष्ट्रिय नाचघरमा पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.