|
फोटो साभारः अजय रानाभाट

नाटकघर छिर्ने ढोकामा कुकुरको चित्र छ, जुन सहरका अधिकांश घरका गेटमा हुन्छन् तर यहाँ ‘कुकुरदेखि सावधान’ लेखिएको छैन। यहाँ लेखिएको छ, नाटकको सब टाइटल ‘इन्टर एट योर वोन रिस्क’ । ‘रिस्क’ मोल्दै दर्शकका भिडसँगै भित्र प्रवेश गर्छौं। दर्शक चुपचाप छन्। लाइटम्यानले दर्शकदिर्घा अध्यारो बनाउँछ। र, त्यति नै बेला मञ्चमा पहेँलो प्रकाशको झोक्का फालिन्छ।

सुनिल पोखरेल देखा पर्छन्, स्टिलको डण्डि राखेको खुट्टा बजाउँदै। अनि थाल्छन् रन्थनिदै रक्सीका बोतल खोज्न र पिउन। दर्शक गम्भीर र मौन हुन्छन्। अनि बोल्न थाल्छन् सुनिल पोखरेल युद्धमा घाइते भएर लगभग दुई दशक स्वनिर्वासनमा बसेको कविको वर्तमान समय र व्यवस्थाप्रतिको असन्तुष्टिको आगो।

नाटकको पात्र आफ्ना विगतका दिन सम्झन्छ। ऊ मास्टर्स पढ्दै गर्दा कविता लेख्ने हुन्छ। त्रिभुवन विश्वविद्यालयमा हुने विभिन्न साहित्यिक र राजनीतिक कार्यक्रममा कविता वाचन गर्ने गर्छ। एक दिन माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले कार्यक्रम गरेको हुन्छ र त्यसमा उसले पनि कविता वाचन गर्छ। कवि हतियार र मारकाटले ल्याइने परिवर्तन भन्दा चेतना, शिक्षा र शान्तिमार्फत ल्याइने परिवर्तनको समर्थक रहको उसको कविताबाट झल्किन्छ। त्यति नै बेला सेना र माओवादी कार्यकर्ताबीच गोलीहानाहान हुन्छ र कविकी प्रेमिकाको मृत्यु हुन्छ। कविको देब्रे खुट्टामा गोली लाग्छ।

‘राजनीतिले जहिले पनि मान्छेहरुलाई विभाजित गर्छ’ भन्ने मान्यता राख्ने कवि स्वनिर्मित जेलमा बस्छ। स्वनिर्मित जेल बसे पनि उसले बाहिर भैरहेका परिवर्तनबारे चासो राखिरहेकै हुन्छ। उसले समय र व्यवस्था परिवर्तन भएको तर आम सर्वसाधारणको दैनिकी भने जस्ताको त्यस्तै रहेकोले आफू असन्तुष्ट भएको बताउँछ।

जनयुद्धले शान्ति सम्झौता मार्फत विश्राम लिएको र माओवादीहरु प्रधानमन्त्री र मन्त्री भैसकेका र दुई –दुईचोटी संविधानसभाको निर्वाचन भइसकेको हुन्छ। जनताको आर्थिक र राजनीतिक अवस्थालाई माथि ल्याउने भनेर लागेका माओवादी अनेक टुक्रा र गुटउपगुटमा विभाजन भइसकेका हुन्छन्। अनि एक खेमा नयाँ शक्ति निर्माणमा लागेको हुन्छ। यसका अलवा, नाटकमा भारतले नेपालमाथि गरेको नाकाबन्दी र आन्तरिक राजनीतिमा शक्तिराष्ट्रहरुले दिने अनावश्यक चाँसोलाई ‘अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल–भारतबीच भएको फुटबल खेल टिभीमा प्रत्यक्ष हेरेको’ भन्ने प्रंसगमार्फत असन्तुष्टि पोख्छन्।

नाटकमा ‘फ्रस्टेडेड’ कविका व्यथाहरु भएको चरित्र छ, जसलाई सुनिल पोखरेलले यथार्थमा उतारेका छन्। उसले आफ्नो मानसिक पीडा कम गर्न रक्सीको सहारा लिन्छ। उसको घरमा बहादुर भन्ने केटो हुन्छ, खाना पकाउने र बगैँचाको हेरचाह गर्ने। ऊ आफ्नो बगैँचालाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्छ, नाटकमा सुनील सुनाउँछन् र भन्छन्- ‘कुन दिन भन्ने हो एकल स्वायत्तता सहितको संघीय फूलबारी !’

मण्डला नाटकघरमा असार ११ गतेसम्म साँझ साढे ५ बजे मञ्चन हुने ‘इदमित्थमः एट योर वोन रिस्क’ नाटक सरुभक्तले २०४६ सालको परिवर्तन र पञ्चायतकालीन व्यवस्थालाई विषयवस्तु बनाएर लेखेका हुन्। नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन्। एकल पर्फमेन्स अर्थात सोलो नाटक भए पनि नेपाली रंगमञ्चका भेट्रान पोखरेलको अभिनय, संवाद अनि प्रस्तुतिले दर्शकलाई लगभग एक घण्टा दायाँबायाँ टाउको हल्लाउनसम्म दिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.