अपराधअनुसार उनीहरूले सजाय पाउँछन् : नेपाल प्रहरी

|

काठमाडौं : भारतीय भूमिमा अपराध गरेका २२ जना पुरुष र चारजना महिला गरी २६ जना नेपालीलाई भारतीय प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत रेडकर्नर नोटिसमा राखेको छ। भारतमा अपराध गरेको अभियोग लागेर फरार भएका उनीहरूको नाम भारत प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा राखेको हो।

इन्टरपोलको तथ्याङअनुसार भारतीय प्रहरीमार्फत रेडकर्नर नोटिस जारी भएका नेपालीहरूमाथि हत्या, मानव बेचविखन, बैंकिङ ठगी, किर्ते, चोरी, लुटपाटजस्ता अपराध गरेको अभियोग लागेको छ। भारत प्रहरीले उनीहरूको नाम इन्टरपोलमार्फत विभिन्न समयमा रेडकर्नर नोटिसमार्फत सार्वजनिक गरेको हो।

नाम सार्वजिक गरेसँगै इन्टरपोलमा सदस्य रहेका १ सय ९२ राष्ट्रका प्रहरीले उनीहरूलाई खोजीको सूचीमा राखेर खोजेका छन्। तर हालसम्म उनीहरू १ सय ९२ राष्ट्रकै प्रहरीलाई छलेर बस्न सफल भएका छन्। नेपालसमेत प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको सदस्य राष्ट्र हो।

सदस्य राष्ट्र भएकाले भारतीय प्रहरीले रेडकर्नर नोटिसमा राखेका नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेर भारत प्रहरीलाई बुझाउनुपर्ने हुन्छ। तर, नेपाल प्रहरीलाई रेडकर्नर नोटिसमा रहेका भनिएका नेपाली अभियुक्तबारे कहाँ छन् भन्ने जानकारी नभएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेन्द्र थापा क्षेत्रीले जानकारी दिए। 'भारत प्रहरीले रेडकर्नर नोटिसमा राखेका केही नेपाली छन् उनीहरूले गरेको अपराधअनुसार उनीहरूले सजाय पाउँछन् नेपाल प्रहरीले पक्राउको लागि सहयोग गर्छ,' उनले भने। 

यी हुन् भारतीय प्रहरीको खोजीमा रहेका नेपाली

सूर्य बहादुर तामाङ : ४० वर्षीय तामाङले भारतमा हत्या, लुटपाट चोरी जस्ता जघन्य आपराधिक गतिविधि गरेको पाइएको छ। अपराध कर्ममा लागेपछि फरार भएका उलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोललाई गुहारेको हो। उनी नेपाली नागरिक भए पनि कुन ठाउँको भन्ने खुल्न सकेको छैन। 

चक्रसिंह ठकुरी : चक्रसिंह ठकुरीले अपराधको कार्यक्षेत्र भारत बनाएका थिए। ६५ वर्षीय खत्रीलाई भारतमा हत्याको अभियोग छ। अभियोगपछि फरार भएका उनलाई पक्राउ गर्न  भारतीय प्रहरीले रेडकर्नर नोटिस जारी गरिएको छ। 

मोहम्मद नुर अन्सारी : उर्दु, अरबिक, हिन्दी, नेपाली भाषा बोल्न जान्ने भनिएका ३२ वर्षीय अन्सारीको घर बाराको कलैया हो। उनलाई पनि भारतीय प्रहरीकै आग्रहमा इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा राखिएको हो। उनले नक्कली नोटको कारोबार, हुण्डी कारोबारमार्फत आतंकवादी गतिविधिलाई सहयोग गरेको पाइएको छ। त्यस्तै, अर्काको घरभित्र प्रवेश गर्ने चोरी गर्ने मनोजकरण जकडी पनि फरार छन् । उनले भारतका एक दर्जनभन्दा बढी घरहरू चोरी गरेको अभियोग छ।

कृष्णबहादुर औजी : चोरीका कुख्यात भनेर कहलिएका औजीले भारतका धेरै ठाउँमा चोरी गरेका छन्। उनले ठूलो मात्रामा नगद र गरगहनासमेत चोरी गरेको पाइएको छ। अफिस तथा घरका झ्याल फुटाएर उनले चोरी गर्थे। उनलाई भारतीय प्रहरीमार्फत नै रेड कर्नर नोटिस जारी गरिएको हो। 

राजेश थापा क्षेत्री : गोरखा आरुघाट बजारका स्थानीय बासिन्दा हुन् राजेश क्षेत्री। भारतका विभिन्न सहरमा उनी चोरी कार्यमा संलग्न भए पनि भारतीय प्रहरीले पक्राउ गर्न सकेको छैन। उनलाई पक्राउ गर्न नसकेर भारतीय प्रहरीले इन्टरपोललाई पत्राचार गरेको हो। उनले विभिन्न व्यक्तिका घरका झ्याल ढोका फोडेर चोरी गरेको अभियोग छ।

राजेश भागदुर:  रमेश भागदुर र प्रेम सिंह  पर्वतको लेखफाँट-६ का राजेश, म्याग्दीका रमेश र पर्वतकै प्रेम चोरी काण्डमा मुछिएका व्यक्ति हुन्।  उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीको आग्रहमा रेडकर्नर नोटिस जारी भएको हो। उनीहरू नेपाली, हिन्दी र तामिल भाषा बोल्न जान्दछन्।

खुमराज थापा : थापा भारतमा विभिन्न सहरमा चोरी तथा लुटपाटका घटनामा संलग्न थिए। ठूलो मात्रामा चोरी तथा लुटपाट गरेपछि फरार भएका उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको छ। ३७ वर्षीय थापा अहिलेसम्म फरार नै छन्। त्यस्तै, शिवराज फुलचन्द शर्मा, राजबहादुर शाही र नानु मगर शिवराज, कुख्यात डाकुबाट परिचित थिए। डाका तथा लुटपाटबाट आतंक मच्चाएपछि उनीहरूलाई पक्राउ गर्न भारत प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाललाई गुहारिएको छ। शिवराज र नानु ३५ वर्षका छन् भने राजबहादुर ४९ वर्षीय हुन्।

भीमे दमाईं र तुलराम बहादुर : भीमे र तुलराम हत्यारा हुन्। उनीहरू दुवैलाई भारतमा मान्छे मारेर फरार भएको अभियोग छ। ३५ वर्षीय भीमे र ३८ वर्षीय तुलरामलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको छ।

वीरेन्द्रबहादुर थापा र राजेश बहादुर :  बझाङ स्थायी घर भएका थापा अहिलेसम्म १ सय ९२ देशका प्रहरीको आँखा छलेर बस्न सफल भएका छन्। ठूलो चोरी काण्ड लागेपछि फरार भएका ४४ वर्षीय थापाले भारतमा आफ्नो चोरीको सञ्जाल फैलाएका थिए। त्यस्तै, २९ वर्षीय राजेशलाई चोरीको आरोप लागेको छ। 

अनुप प्रधान :  अनुप पाल्पाका बासिन्दा हुन्। उनी अंग्रेजी, नेपाली र हिन्दी भाषामा दख्खल छन्। ५९ वर्षीय अनुपले किर्ते काम गरेको पाइएपछि रेडकर्नर नोटिस जारी गरिएको हो।

विपिन विष्ट र तहिर साह : दैलेख घर भएका विष्टले भारतमा दुईजनाको हत्या गरेको भारतीय प्रहरीको रेकर्डमा छ। ३५ वर्षीय विष्ट अझै फरार छन्। त्यस्तै, ५४ वर्षीय साह काठमाडौंका बासिन्दा हुन्। उनलाई हत्याको अभियोग लगाएर रेड कर्नर नोटिस जारी गरिएको छ। 

टासी तेस्रिङ : उनी चिनियाँ मुलका नेपाली नागरिक भएको बताइएको छ। हिन्दी, तिब्बतीयन, नेपाली र अंग्रेजी भाषा जान्ने टासी वन्यजन्तुको शिकार गरेर विभिन्न अंगको कारोबार गर्ने गरेको पाइएपछि उनलाई रेड कर्नर नोटिसमा राखिएको हो। उनले ५९ वटा वन्यजन्तु मारिसकेको बताइएको छ।

को को हुन् रेडकर्नर नोटिसमा परेका नेपाली महिला?

माधवी श्रेष्ठ र विनिता प्रधान : ५२ वर्षीया श्रेष्ठ नक्कली कागजातको कारोबारी हुन्। उनले विभिन्न सुरक्षा निकायको नक्कली डकुमेन्ट बनाउने तथा बेच्ने गरेको पाइएपछि भारतीय प्रहरीमार्फत रेड कर्नर नोटिसमा राखिएको हो। उनी काठमाडौंकी स्थानीय बासिन्दा हुन्। त्यस्तै, काठमाडौं महाराजगञ्जकी प्रधान पनि किर्ते काण्डमा जोडिएपछि रेड कर्नर नोटिसमा राखिएकि नेपाली महिला हुन्।

देवी ओली :  ३३ वर्षीय महिला देवीलाई अपहरण गरेको अभियोग छ। उनले भारतमै अपहरणका घटना घटनाएको भारतीय प्रहरीसँग रेकर्ड छ। उनले व्यक्ति अपहरण गर्दै फिरौती माग्ने गरेको पाइएपछि उनको नाम रेडकर्नर नोटिसमा राखिएको हो।

चित्रइन्द्रा सभाद : उनी चोरी काण्डमा मुछिएकी महिला हुन्। ३४ वर्षीया चित्रइन्द्राले भारतमा चोरी गरेर फरार भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.