अधिकांश कृषक अनभिज्ञ

|

ओखलढुंगा : ओखलढुंगामा पशु तथा कृषि बिमा कार्यक्रमा प्रभावकारी नभएको पाइएको छ। जिल्लाका कृषकहरूलाई पशु तथा बाली बिमाका विषयमा केही पत्तो नभएका कारण पशु तथा बाली बिमा कार्यक्रम प्रभावकारी नभएको हो।
सरकारले कृषकहरूको पशु तथा बालीनालीमा सम्भावित क्षति न्यूनीकरण गर्न पशु तथा बाली बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा ०७२ देखि बिमा कार्यक्रम सञ्चालन भइरहेको छ। तर, ग्रामीण समुदायमा व्यावसायिक रुपमा पशुपालन तथा तरकारी खेती गरिरहेका कृषकहरू बिमाबारे अनभिज्ञ रहेको बताउँछन्।

अधिकांश कृषक अनभिज्ञ

मोलुङ गाउँपालिका-४ हर्कपुरका रामप्रसाद खतिवडाले खेती तथा पशुवस्तुको बिमाका विषयमा आफूले नसुनेको बताए। उनले भने, ‘यत्रो बालीनाली पनि लगाइन्छ दुई/चारवटा भए पनि पशुवस्तु छन्, तर यसको पनि बिमा हुन्छ भन्ने चाहिँ थाहा थिएन,’ उनले थपे, ‘बिमाका विषयमा जानकारी पाए म पनि बालीनाली तथा पशु बिमा गर्थेँ।’

त्यस्तै मोलुङ गाउँपालिका १ कुन्तादेवीका अर्का किसान ईश्वरीप्रसाद धमलाले पशु बिमा भन्ने सुनेको तर यसबारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, 'गाउँमा पशु बिमा भन्दै केही समयअघि मान्छेहरू आएका थिए, तर यसबारे केही पनि नबुझेको हुनाले मैले चाहिँ आफूले पालेका पशुहरूको बिमा गराइनँ।' 
खतिवडा र धमला त प्रतिनिधि पात्र मात्र हुन् जिल्लामा बिमाका विषयमा अधिकांश कृषकहरू अनभिज्ञ छन्। जसले गर्दा सम्भावित प्रकृतिक दुर्घटनाका कारण यहाँका किसान लाखौँ क्षति व्यहोर्न बाध्य छन्।
राष्ट्रिय कृषक समूह महासंघ ओखलढुंगाका अनुसार जिल्लाका कृषकहरूमा बिमाका विषयमा जानकार नै छैनन्। ‘हामीले बाली तथा पशु बिमाका विषयमा कार्यक्रम नै बनाएर समुदायमा जाने गरेका भए पनि नागरिकमा त्यसको ज्ञान नै नभएको पाइयो,’ राष्ट्रिय कृषक समूह महासंघ खाद्य अधिकार परियोजना जिल्ला परियोजना अधिकृत मुना बिकले भनिन्, ‘बिमाका विषयलाई लिएर समुदायमा पुग्दा कृषकहरूमा रुचि भने प्रशस्त रहेको पाइएको छ।’

हाल महासंघले समुदाय लक्षित १ सय २० समूहमध्ये ३८ ओटा समूहमा बाली तथा पशु बिमासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिरहेको  बिकको भनाइ छ।
बाली बिमा गर्ने एकजना पनि छैनन्
बिमा कार्यक्रम कृषकहरूले व्यासायिक रुपमै लगाएका तरकारी, फलफूल, धान, मकैलगायतका बालिनाली तथा पशुपंक्षीमा लागू हुन्छ। त्यसमा कृषकको २५ र सरकारको ७५  प्रतिशतसम्म लगानी हुन्छ। तर, ओखलढुंगा जिल्लामा हालसम्म बालीतर्फ एकजनाले पनि बिमा नगरेको एनबी इन्स्युरेन्स प्रालि ओखलढुंगाका ब्रान्च म्यानेजर खुरहरी दाहालले बताए। पशुतर्फ भने जम्मा तीन हजार हाराहारीले मात्र बिमा गरेका छन्।

यहाँ बिमा गर्ने कृषकहरूको संख्या एकदमै न्यून रहेको दाहालले बताए। उनले भने, ‘बिमाका लागि कृषकका घरमा पुग्दा बिमा गरे के फाइदा हुन्छ भन्ने प्रश्न मात्र आउछ,’ उनले थपे, ‘सबै कुरा बुझाइसकेपछि पनि कृषकहरू बिमा गर्न तयार हुँदैनन्, यो हुनु भनेको बिमाप्रति उहाँहरूको अनभिज्ञता हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.