|

काठमाडौं : प्रहरीसँगको इन्काउन्टरमा सोमबार ललितपुरस्थित युएन पार्कमा गोली लागेर घाइते भएका गुन्डा नाइके अशोक लामा चर्चामा आएका गुन्डा होइनन्। ललितपुर गिम्दी ८ का स्थानीय बासिन्दा ३८ वर्षीय लामा अपराधको दुनियाँमा चर्चामा नआए पनि उनको धन्दा क्यासिनोमा लगानी गर्ने र मिटरब्याजमा पैसा लगाउने रहेको थियो।

लामाले पैसा लगानी गरेको व्यक्तिले फिर्ता नगर्दा ज्यान मार्ने धम्की दिने गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै लामाले ललितपुर क्षेत्रमा खोलिएका क्रसर उद्योग र व्यापारीलाई समेत धम्काएर पैसा असुल्ने काम गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

यसरी हान्यो प्रहरीले लामालाई गोली

ललितपुर क्षेत्रलाई आधार इलाका बनाएर अपराध कर्ममा लागेका अशोक लामामाथि ललितपुर प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा उनी प्रहरीको खोजी सूचीमा रहेका थिए।

लामा ललितपुर क्षेत्रमै रहेको सूचना महानगरीय अपराध महाशाखाले पाए लागत्तै अपराध महाशाखाको टोली सोमबार बिहानै उनको खोजिमा लागेको थियो। 

लामा ललितपुर क्षेत्रमै रहेको सूचना महानगरीय अपराध महाशाखाले पाए लागत्तै अपराध महाशाखाको टोली सोमबार बिहानै उनको खोजिमा लागेको थियो। 

लामाको 'हुलिया' लिएर खोजिमा हिँडेको प्रहरी टोलीले उनी ललितपुरको युएन पार्कमा रहेको सूचना प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा प्रहरी युएन पार्क पुग्यो। 'लामालाई पक्राउ पर्न हिँडेको अपराध महाशाखाको प्रहरी टोलीमाथि नै आक्रमण हुने सम्भावित जोखिम थियो। त्यहीँ जोखिम लिएर हिँडेको प्रहरीलाई लामाले पेस्तोल देखाएर भाग्न खोजे पछि अपराध महाशाखाको टोलीले लामामाथि गोली प्रहार गरेको हो', अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले भने।

लामालाई दिउँसो करिब सवा १ बजे प्रहरीले गोली हानेको हो। उनको दायाँ खुट्टामा गोली लागेको छ। लामा काभ्रेली समूहका चर्चित गुन्डा दावा लामाको समेत सहयोगी रहेको प्रहरीको भनाई छ। दावा लामा प्रहरीको खोजी सुचीमा रहेका एक नम्बर श्रेणीका गुन्डा हुन्।

लामाको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरेको छ। उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। लामालाई यसअघि सार्वजनिक मुद्धामा प्रहरीले पटक-पटक पक्राउ गर्दै र छोड्दै गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.