|

रुकुम पश्चिममा रहेका छ स्थानीय तहमा तीनवटा गाउँपालिका र तीनवटा नगरपालिका पर्छन्। जसमा चौरजहारी नगरपालिका पनि एक हो। मध्यपहाडी लोकमार्गले छोएको, स्थानीय तहको संरचना आउनुभन्दा पहिले नै सरकारले मुख्य दश नमुना शहर बनाउने घोषणा गरेको तथा रुकुम, जाजरकोट र सल्यान जिल्लासँग जोडिएको चौरजहारी नगरपालिकाको पृष्ठभूमि अन्य स्थानीय तहहरूको भन्दा केही फरक छ।

सिंगो रुकुम जिल्ला हुँदासमेत जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्रको रूपमा रहेको चौरजहारी क्षेत्र अागामी दिनमा पनि व्यावसायिक कार्यका लागि समेत सम्भावना बोकेको नगरपालिका हो। नगरपालिकाको पछिल्लो गतिविधि, एक वर्षको अवधिमा गरिएका उपलब्धि, देखिएका चुनौती र आगामी योजनाका विषयमा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासँग थाहाखबरकर्मी मेगराज खड्काले गरेको कुराकानी प्रस्तुत छ। 

हाल नगरपालिकाले के कस्ता गतिविधि गरिरहेको छ?

हाल हाम्रो नगरपालिका आगामी आर्थिक वर्षको नयाँ बजेट तथा नीति तर्जुमामा लागिरहेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउनुपूर्व हामीले वडा र विषयगत समितिका छलफल सम्पन्न गरिसकेका छौँ। नगरपरिषद्को मितिसमेत असारको १० गते तोकिसकेका छौँ। अघिल्लो नगरपरिषद् पहिलो पटक र नयाँ भएका कारण पनि सोचेअनुसारका नीति तथा कार्यक्रम समेट्न नसकिएपछि आगामी आर्थिक वर्षको कार्यक्रममा जतिसक्दो राम्रो बनाउन नगर कार्यपालिकाको टिम दिनरात जुटिरहेको छ। 

चुनावअधि गरेका बाचा कति पूरा भए, कति बाँकी छन्?

हामीले चुनावअघि जनतासँग धेरै बाचा गरेका थियौँ। तर, ती सबै एक वर्षमा पूरा गर्छौं भनेका पनि थिएनौँ। हाम्रो पाँच वर्षको कार्यकालमा चुनावमा बाचा गरेका सबै विकास योजनाहरू पूरा हुन्छन् भन्ने कुरामा पनि म जनतालाई आश्वस्त पार्न चाहन्छु। यो एक वर्षको अवधिमा पनि चुनावमा गरेका केही बाचा पूरा भएका छन्। हामीले चुनावअघि प्रत्येक वडामा सडक पुर्‍याउँछौँ भनेका थियौँ। त्यो यही वर्ष पूरा भइरहेको छ। 

यस वर्ष चौरजहारी नगरपालिकामा रहेका १४ वटै वडामा सडकको सञ्जाल पुगेको छ। कच्ची सडक भए पनि सबै वडा कार्यालयसम्म सवारी साधनहरू पुग्न सक्ने भएका छन्। यो चुनावी बाचा पूरा भएको नै कुरा हो। आगामी दिनहरूमा यी सडकहरूलाई थप स्तरवृद्धि गरेर लैजाने कुरामा पनि जोड दिनेछौँ। कृषिमा व्यावसायिकता दिन सुरु गरेका छौँ। खानेपानी समस्याग्रस्त क्षेत्रमा खानेपानी पुर्‍याउन भेरीनदीको पानी तान्न नौवटा सोलार पम्पिङ खानेपानी आयोजना सम्पन्न हुने अन्तिम चरणमा छन्। यसले चार हजार घरधुरीमा खानेपानीको पहुँच हुनेछ। 

स्थानीय सरकारले कानुन बनाएर काम गर्न सक्ने भन्ने त छ तर संघीय अनि प्रदेश कानुन नबाझिने गरी बनाउने भनिएको छ। प्रदेश र संघीय कानुनहरू कहीँ न कहीँ बाझिने नै गरेका छन्। स्थानीय सरकारले प्रभावकारी कानुनहरू बनाउनमा संघीय र प्रदेश सरकारहरूकै बन्देज छ जस्तो लाग्छ।

सबैका लागि शिक्षा र गुणस्तरीय शिक्षा गराउन शिक्षक अपुग विद्यालयहरूमा नगरपालिकाले शिक्षकको पदपूर्ति गरेको छ भने बालबालिकाहरूलाई सरकारी स्कुलमा प्रोत्साहन गर्न ५ कक्षासम्मका विद्यार्थीहरूलाई निःशुल्क पोसाक वितरण गरिएको छ। स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिकामा पहिलो पटक एम्बुलेन्स सेवा सुरु गरिएको छ। 

त्यस्तै, बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई व्यवस्थित बनाएर नियमित सेवा प्रदान भइरहेको छ भने नगरपालिकामा पहिलो पटक पोस्टमार्टम सेन्टर सञ्चालनका लागि कोटजहारी स्वास्थ्य केन्द्रमा भवन निर्माण गरिएको छ। 

कानुनी वा आर्थिक समस्याबीच केही गर्न चाहेका विकास योजना रोकिएका छन्?

एकदम तपाईंले भनेजस्तो दुवै समस्या देखिएका छन्। चौरजहारी नगरपालिका क्षेत्रको विकास र समृद्धिको सपना पूरा गर्न बजेट नै संघीय सरकारबाट आउने गरेको छैन। यसले गर्दा पनि चुनावअघि गरिएका केही बाचाहरू पूरा गर्न समस्या भएको छ। रुकुमजस्तो भिरालो जमिन भएको क्षेत्रमा कच्ची सडक वर्षैभर सत्र्चालन हुन सक्दैनन्। एक दिन पानी पर्दासमेत बाटो अवरुद्ध हुने सडकखण्डलाई कालोपत्रेमार्फत स्तरवृद्धि गर्न आवश्यक छ। तर, त्यसका लागि बजेट अपुग नै छ। अर्को कुरा अहिले पनि सरकारी खरिद प्रक्रिया झन्झटिलो छ। यो खरिद ऐन स्थानीय सरकारका लागि विकासविरोधी ऐन हो जस्तो लाग्छ। विभिन्न आवश्यक सरसमान खरिद प्रक्रियामा नै करिब एक वर्ष लाग्ने अवस्था छ भने कसरी छिटो छरितो विकास हुन सक्छ? स्थानीय सरकारले कानुन बनाएर काम गर्न सक्ने भन्ने त छ तर संघीय अनि प्रदेश कानुन नबाझिने गरी बनाउने भनिएको छ। प्रदेश र संघीय कानुनहरू कहीँ न कहीँ बाझिने नै गरेका छन्। स्थानीय सरकारले प्रभावकारी कानुनहरू बनाउनमा संघीय र प्रदेश सरकारहरूकै बन्देज छ जस्तो लाग्छ। हाल स्थानीय तहहरूले बनाइरहेका कानुनहरू पनि केन्द्र सरकारले पठाएका फोटोकपीजस्ता मात्र हुन्। हाम्रो नगरपालिकाले पनि ३० वटा विभिन्न ऐन, कार्यविधि बनाएको छ।  

देशका विभिन्न ठाउँमा केन्द्र विवाद देखिन्छ, तपाईंको नगरपालिकामा केन्द्र विवाद छ कि छैन?

हो, देशका विभिन्न ठाउँमा स्थानीय तहहरूको केन्द्र विवाद चर्को रूपमा देखिएको पाउँछौँ। कतै तालाबन्दी, कतै आन्दोलन यस्तैयस्तै। हाम्रो नगरपालिकामा यस्तो कुनै पनि प्रकारको कडा समस्या त देखिएको छैन तर केन्द्र कता बनाउने भनेर मत विभाजित भने छ। नगरपालिकाको केन्द्र बनाउन यस क्षेत्रको नार्जी, चौफा, शान्तिबजार र विजयश्वरी (हाल कार्यालय रहेको) आदि ठाउँहरूको प्रस्ताव र मत विभाजित भएको छ। नगरपरिषद्पश्चात् उपयुक्त र सबैको पायक पर्ने ठाउँमा सहमतीय रूपमा स्थायी केन्द्र तोक्छौँ। 

आगामी आर्थिक वर्षमा यस नगरमा कस्ता नीति तथा कार्यक्रम आउँदै छन्?

आगामी आर्थिक वर्षमा अघिल्लो वर्षको जस्तै विभिन्न विकास कार्यक्रमसँगै स्वास्थ्य र शिक्षालाई केही कार्यक्रममा जोड दिएर ल्याउने तयारी गरिएको छ। जस्तो कि व्यावहारिक र प्राविधिक शिक्षाका कार्यक्रमहरू यसमा समेटिनेछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाखा चौरजहारीमा विस्तार गरेर फार्मेसी, एचए र सिएमएजस्ता स्वास्थ्यसम्बन्धी कक्षाहरू हाम्रो नगरपालिकाबाट नै सञ्चालन हुनेछन्। यसले गर्दा देशको राजधानी काठमाडौंलगायतका अन्य शहरहरूमा गएर पढ्नु पर्ने समस्या समाधान हुनेछ। नेपाली सेना, शिक्षा र सडकको प्रदेशस्तरीय कार्यालय चौरजहारीमा स्थापना गर्न पहल गरिनेछ।

त्यस्तै, सल्लीबजार–चौरजहारी सडकलाई स्तरवृद्धि गर्न सबै निकायहरूसँग समन्वय गरिनेछ। त्यसका साथै देशकै मुख्य दश नमुना शहरको रूपमा काम भइरहेको चौरजहारीमा थप व्यवस्थित र दीर्घकालीन बनाउन आआफ्नो ठाउँबाट पहल गर्ने त छँदैछ तर मध्यपहाडी लोकमार्ग र नमुना शहरको काम भने संघीय सरकार मतहतबाटै भइरहेकाले हामीसँग खासै समन्वय र क्षेत्राधिकार नभए पनि आवश्यक सुझाव, सल्लाहको काम भने भइरहेको छ।

यस क्षेत्रबाट रोजगारीका लागि भारत तथा अन्य देशहरूमा विदेशिने युवा जमात पनि धेरै छ, त्यसलाई कम गर्न केही नीति तथा कार्यक्रम बनाउनुभएको छ?

हाम्रो नगरपालिकामा ३० हजार जनसंख्या छ। त्यसमा ५० प्रतिशत युवा छन्। सबै युवाहरूलाई एकै पटक रोजगार बनाउन त सम्भव छैन तर थोरै संख्यामा भए पनि रोजगारका कार्यक्रमहरू बनाएर समेटिरहेका छौँ। यस वर्ष मात्र यस क्षेत्रका ३०० बढी युवाहरूलाई कुनै न कुनै रूपमा रोजगारीमा जोडेका छौँ। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइनेछ तर रोजगारीप्रति नै युवाहरूमा वितृष्णा भएको मैले पाएको छु। यसले गर्दा काम चाहियो भनेर नारा लगाउने तर काम दिँदा नगर्ने युवा जमात पनि धेरै छन्। हालका युवाहरू सरकारी जागिर दिए मात्र रोजगार आएको भन्ने ठान्छन्। त्यसबाहेकका काम गर्न रुचाउँदैनन्। 

मध्यपहाडी लोकमार्गसहितका अन्य क्षेत्रीय तथा स्थानीय सडकहरूसहितका अन्य विकास निर्माणका काम गाउँगाउँमा थुप्रै छन् तर ती काममा स्थानीयहरू नभएर प्रायः भारत र जिल्लाबाहिरका मान्छेहरू काम गरिरहेका देख्छौँ। गाउँमा सडक खन्ने, भवन बनाउने र अन्य शारीरिक रूपमा परिश्रम गर्नुपर्ने काममा युवाहरूको रुचि नै छैन। बरु विदेशको चर्को गर्मीमा जाने लहर छ। गाउँमा सडक खन्ने मान्छेहरू नभएर प्रायः डोजरबाट सडक निर्माणको काम भइरहेको छ। घुम्ने कुर्सीमा बस्ने र टाउको हल्लाउने मात्र रोजगारको काम मान्ने युवाहरू गाउँमा धेरै छन्। युवाहरूमा गाउँमा नै केही गर्नुपर्छ भन्ने सचेतनाको कार्यक्रम ल्याउने तयारीमा छौँ।  

रुकुम पर्यटकीय दृष्किोणले पनि राम्रो सम्भावना बोकेको जिल्ला हो। युद्ध पर्यटनसँगै प्राकृतिक सुन्दरताको राम्रो आधार छ, स्थानीय सकारकारले यसका लागि कस्तो योजना बनाएको छ? 

चौरजहारीदेखि झुल्लेटासम्म युद्ध पर्यटन प्रवर्द्धन गर्ने खालमा पूर्वाधारहरू निर्माण गर्दैछौँ। त्यस्तै, भेरी नदीमा र्‍याफ्टिङको राम्रो सम्भावना छ। केही परीक्षणको रूपमा काम पनि भएको छ। त्यसलाई पनि थप नीति तथा कार्यक्रममा समेटेर अगाडि लैजाने योजना छ। पर्यटनको अर्को मेरुदण्डको रूपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउने सँगै गाउँमा होमस्टेको अवधारणमा पनि अघि सार्दैछौँ। नास्तिकलाई पर्यटकीय क्षेत्रहरूमा लगानी र आस्तिकलाई मठमन्दिर निर्माण गरेर पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्छौं। 

चौरजहारी नगरपालिकामा स्तरवृद्धि गरिएको एयरपोर्ट पनि छ। तर, हाल सञ्चालनमा छैन। कहिले बन्द हुने, कहिले सञ्चालन हुने किन?

तपाईंले भनेजस्तो चौरजहारी एयरपोर्ट हाल सञ्चालनमा छैन। केही वर्षअघि स्तरवृद्धि गरेर केही वर्ष नियमित सञ्चालन भए पनि हाल अवरुद्ध जस्तै छ। एयरपोर्ट सञ्चालन हुँदा बिरामीलगायतका केही मानिसहरूलाई निकै राहत त हुने थियो तर हप्तामा आउने जहाजले कति बेला सुत्केरी र बिरामीहरू सिकिस्त हुन्छन् भन्ने कुनै महत्त्व राख्ने कुरा भएन। हाल नियमित कुनै उडान नभए पनि जहाज चार्टर गरेर भने कहिलेकाहीँ आउने गरेका छन्। चौरजहारी एयरपोर्ट नियमित नचल्नुका पछाडि विभिन्न कारण छन्। एउटा कुरा भाडा निकै महँगो छ। चौरजहारीबाट नेपालगंज गाडीमा ५०० रुपैयाँमा पुग्न सकिन्छ भने जहाजमा करिब चार हजार रुपैयाँभन्दा बढी रकम पर्न जान्छ, त्यसले गर्दा मान्छेहरू सडकबाटै जाने र हप्तामा आउने जहाजका लागि पनि यात्रु नहुनु पनि हो। 

त्यस्तै, बिरामी र सुत्केरीलगायतका अति आवश्यक कामका लागि जहाजभन्दा पनि हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता छ। किनकि, दिनदिनै जहाज भए पो बिरामी र सुत्केरीका लागि सहयोग हुने हो, नत्र हप्ताको एक दिन आउने जहाजले यसलाई पनि सम्बोधन गर्न सकेको छैन। तर नगरपालिकाले कसरी हुन्छ, जहाज नियमित गराउन पहल गरिहेको छ। प्रदेश तथा संघीय सरकारलाई हामीले बारम्बार अनुरोध गरिहेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.