|

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार भएको छ। सरकारी कामकाजको समेत अख्तियारी पाएको बैंकको शाखा बिहीबार उद्घाटन गरिएको छ। 

शाखाको प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बोेल्दै सांसद सुनुवारले स्थानीय तहमा गएर सेवा दिने गरी स्थापना भएको बैंकबाट गाउँपालिकाबासीले सहज रुपमा सेवा पाउने बताए। सनराइज बैंकका नायव महाप्रबन्धक सर्वेन्द्र मिश्रले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए। 

‘क’ वर्गको मान्यता प्राप्त सनराइज बैंकले आफ्नो ८७औं शाखा मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा विस्तार गरेको छ भने ८८औँ शाखाले सदरमुकाम ओखलढुंगामा कारोबार सुरु गर्ने नायव महाप्रबन्धक मिश्रले जनाए। शाखाबाट बैंकले खाता खोल्ने ग्राहकले दुर्घटना बिमा र उपचार सेवाका लागि एक लाख रुपैयाँसम्मको बिमा गर्ने बैंकले जनाएको छ।  

ओखलढुंगामा स्थानीय तहमा काम गर्ने गरी शाखा विस्तार गर्ने सनराइज बैंक पहिलो हो।आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा रहेका छन्। अन्य पाँच स्थानीय तहमा अझै बैंकका शाखा स्थापना भएका छैनन्। मोलुङमा बैंकको शाखा स्थापना भएपछि अब सबै कारोबार गाउँपालिकाको केन्द्रबाट हुने भएकाले सहज भएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।

गाउँमै बैंकिङ सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन्। यसअघि बैंक नहुँदा साना साना कारोबार गर्न पनि सदरमुकाम धाउनुपर्ने मोलुङवासीको बाध्यता थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.