|

काठमाडाै : हरेकजसो मानिसलाई सामान्य रूपमा सानो चोट लाग्दा निस्किने पहिलो शब्द हो- 'आमा।' आमा आफैँमा पूर्ण शब्द हो। आमालाई परिभाषित गर्न खोजेर आमा शब्दलाई सीमित गर्नु हाम्रो क्षमताभन्दा परको कुरा हो। पारिवारिक होस् वा सामाजिक झमेला, आमाजस्तै बाको नाम पनि पहिलो पंक्तिमा आउने गर्छ। 

एउटा जापानी सर्ट फिल्म छ- 'माइ फादर इज अ लायर', जहाँ सानी छोरीले आफ्ना बाबुप्रति धारणा प्रस्तुत गरेकी छन्। उक्त चलचित्रमा ती सानी नानीले भन्छिन्, 'मेरा बुबा संसारकै स्मार्ट छन्। चलाख छन्। बुद्धिमान छन्। मेरा बालाई संसारको सबै कुरा थाहा छ, जुन कुरा बाँकी कसैलाई थाहा छैन।' यतिका बाबजुद पनि उनले अन्त्यमा भन्छिन्, 'मेरा बुबा ढ‌ँटुवा हुन्, किनकि मेरा बा जागिरका लागि सधैँ भौँतारिएका छन्। मेरो खातिर उनलाई कहिल्यै भोक लाग्दैन, कहिल्यै अल्छी लाग्दैन, जतिसुकै कठिनाइमा पनि उनी म सामु आफ्नो पीडा लुकाउने प्रयास गर्छन्।' उक्त फिल्मले हरेकको मन कुँडिन्छ। यस दुनियाँका हरेक बाहरूको प्रतिनिधित्व गर्छ- त्यस फिल्मले। 

अन्य कुरा यथावत् भए समयको कालखण्डसँगै हरेक पुरुष कालान्तरमा बाबु बन्छ। कतै पढिएको हो, सन्तानका लागि आमा सत्य हुन् तर हरेक पिता सन्तानलाई उसकी आमाले चिनाएपछिको दोस्रो सत्य हो। आमाको गुणगान गाइरहँदा हाम्रो परिवेशमा त्यो कुरा केही हदसम्म सत्य लाग्न सक्छ तर एउटी महिलाको गर्भ बसिसकेपछि समाज औँला उठाउँछ कि यो कसको बच्चा हो? त्यहीँबाट सुरु हुन्छ- एउटा बच्चाका लागि बाको भूमिका। एउटा सन्तानका लागि आमाजति महत्त्वपूर्ण हुन्छिन्, उति नै महत्त्वपूर्ण छन् बा पनि।    

आफ्ना सन्तानका खातिर एउटा बाले सबथोक त्याग र समर्पण गर्न सक्छन्। विडम्बना! सन्तानलाई आफ्नो आँसु, दु:ख र पीडा देखाउन सक्दैनन्। सायद समाजिक मनोविज्ञान नै यसरी बनेको भएर होला। यतिका बाबजुद पनि हरेक सन्तानको मस्तिष्कमा बा सम्झिनुपर्दा अनौठो दृश्य आइपुग्छ। आमाभन्दा कडा, आमाभन्दा घमण्डी, आमाभन्दा रिसालु, आमाभन्दा अल्छी, आमाभन्दा निर्दयी, यस्तैयस्तै आउँछ बा सम्झिँदा। 

अघिल्लो वर्ष सामाजिक संजालमा 'बा' कविताले थुप्रै प्रशंसा पायो। कवि हुन या कथाकार अथवा हुन् कुनै गीतकार, आमाबारे उच्च महत्त्वका साथ लेखेका छन्। बाका बारेमा पनि कविताहरू नलेखिएका भने होइनन् तर ती त्यति चर्चामा आएका हुँदैनन्।  

'आमालाई धर्ती भन्नेहरूले

बालाई कहिल्यै आकाश भनेनन्।'

कवि नीरा शर्माले लेखेको 'बा' कविताको एक पंक्ति हो यो। बा कविताले सामाजिक संजाल र पत्रपत्रिकाहरूमा राम्रै स्थान पायो। यही कविता अहिले संगीतकार तथा गायक हरि लम्सालको संगीत संयोजनमा गीत बनेर बजारमा आएको छ।   

मान्छे अनेकौँ सपना सजाएर बस्छ। सबै सपनाहरूले मूर्त रूप लिन्छन् भन्ने पनि हुँदैन। फेरि सबै सपना बालुवामा पानी खन्याएजस्तो पनि कहाँ हुन्छन् र? बच्चैदेखि कविता लेख्न सपना देखिरहन्थिन्- नीरा शर्मा। साहित्य सिर्जना पनि मान्छेको अनौठो सपना हो, सोख हो, जसले कल्पनाका सबै सीमाहरू भत्काएर नयाँनयाँ बिम्बको निर्माण गर्छ। बा कविता नयाँ विषयमा आधारित भएर लेखिएको कविता भने होइन तर कम लेखिएको विषयचाहिँ पक्कै हो र नयाँ कोणबाट लेखिएको पनि। उनी भन्छिन्, 'देखेर पनि नलेखिएका विषय धेरै छन् समाजमा, बा पनि यसैअन्तर्गत पर्छन्।'

उनी एक कवि मात्र होइनन्, कसैकी आमा हुन्, कसैकी श्रीमती हुन्। तर उनलाई बा कविता लेख्न कसरी मन लाग्यो त? उनी भन्छिन्, 'साहित्य सिर्जनामा लिंग, वर्गको सीमा रहँदैन। यो समाजकै हामीले भोगी आएको घटना हो। कसैले देखेर पनि लेख्न सकेन, कसैलाई लेख्न आवश्यक लागेन तर मलाई भने बा शब्दले मस्तिष्कमा सधैँ एक किसिमको नमीठो कम्पन दिइरह्यो।' उनले यो कविता कसरी जन्मियो भन्ने सानो परिवेशमा समेत भन्न भ्याइन्। 

उनी २००९ मा अमेरिका पुगिन्। अमेरिकी बसाइमा उनले कयौँ पटक आफ्ना बाबुआमालाई फोन गर्थिन्। बासँग मात्र सन्चो बिसन्चोको खबर सोध्यो अनि आमासँग घण्टौँ गफ गर्‍यो। यता, आफ्नो छोरा चितवनमा डाक्टर पढिरहेका थिए। छोराले पनि आफ्नो बाबुसँग सन्चो बिसन्चो सोध्यो अनि आफूसँग घण्टौँ बोल्ने गर्थे।

बाको मुख हेर्न उनी नेपाल आइपुगिन्। लमजुङ उनको माइती। गाउँका एक छिमेकीले आफ्ना बाबुको अस्तु बोकेर काशी लिएर जाँदै गरेको भेटिन्। तब उनलाई लाग्यो- 'जिन्दगीभर बाबुसँग एउटा दूरीमा बसेको छोरोले आज बाबुको अस्तु बोकेर काशी जाँदैछ। यदि बा बाँचेकै समयमा बाबुसँग दु:खसुखको कुरा गरेको भए कति रमाइलो हुने थियो होला बाबुछोराको सम्बन्ध!'  विडम्वना मृत्युपश्चात आज उ बाको अस्तुसँग भलाकुसारी साथ आँशुका ढिक्का झार्दै काशीको यात्रामा छ। उनी भन्छिन, 'कति पीडादायी थियो त्यो दृश्य।'

बाको मुख हेर्ने दिनको भोलिपल्ट छोरालाई भेटन् उनी भरतपुर जाने गाडी चढिन्। मनमा बाप्रति अनेक कुरा खेलिरहे। हरेक बाबुहरूको अनुहारमा एक प्रकारको चिन्तन मात्र। सन्तानका लागि चाउरिएको अनुहारमा कृत्रिम हाँसो देखाएर आफ्ना पीडा लुकाउने एक किसिमको अजीव प्राणी बा। उनलाई आफ्नै आमासँग बोलेको कुरा बाले घन्टौँ सुनेको अनुभव छ। बाले आफ्नो अनुहारको चाउरी लुकाएर खिस्स हाँसेको अनुभव छ। मन नपरे शान्त बस्यो, सकियो। सायद बाबुहरूको मनमा पनि सन्तानलाई भन्नुपर्ने धेरै कुरा हुँदा हुन् तर सोध्ने कसले? बाको कुरा बुझ्ने कसले? आफ्ना सन्तानको दु:खका कुरा, खुसीका कुरा सुन्न आमाहरू जति लालायित हुन्छन्, उति नै लालायित बाहरू पनि हुन्छन् होला भन्ने कुरा शर्मालाई लागिरह्यो। गाडीमा यात्रा गरिरहँदा उनले आफ्नो बा सम्झेर यो कविता लेखिन्। उनी भन्छिन्, 'यात्रामा लेखेकी हुँ, कविता भनेर होइन, भावनाको रूपमा तर कविता बनेछ।'

उनले यो कविता भरतपुरमा सुनाइन्। सबैको वाहवाही पाइन्। उनी  भन्छिन्, 'सबैले वाह भनेपछि पो थाहा भो त, यो त साँच्चिकै राम्रो कविता पो लेखेछु मैले।' एक दिन उनले यो कविता सामाजिक संजालमा पोस्ट गरिन् तर नसोचेको कुरा भयो- एक घण्टामै सयौँ शेयर भए, हजारौँले मन पराए। उनी भन्छिन्, 'तर कुनै पनि अनलाइन मिडियाले छाप्नुअघि मसँग अनुमति मागेनन्। सायद बजारमा गएपछि कुनै पनि सिर्जना सर्जकको मात्र हुँदैन, पढ्ने नपढ्ने सबैको हुन्छ।'

सामाजिक संजालबाट शर्माको भेट संगीतकार तथा गायक हरि लम्सालसँग भएको हो। अमेरिका जाने आउने क्रममा लम्सालसँग दुई पटक मात्र भेट भएको छ उनको। शर्मा लम्सालको संगीतको ठूलै प्रशंसक थिइन्। दोस्ती राम्रै चल्दै गयो। खबर आदानप्रदान भइरहन्थ्यो। एक दिन शर्माले आफ्नो बा कविता लम्साललाई देखाइन्। सांगीतिक क्षेत्रमा नयाँ प्रयोग गरौँ भन्ने लम्सालको सोच थियो त्यसबेला। यो कविता पढेपछि लम्सालले यसलाई संगीत भरेर गाउन प्रयास गर्ने बताए। शर्माको खुसीको सीमा रहेन।  

अन्तत: लम्सालले चार महिनापछि गीत बनाएर शर्मालाई सुनाए। गीत बनेर आएको दिन सम्झिँदै उनी भन्छिन्, 'आम्मै नि! मलाई त अचम्मै मनपर्‍यो, हरिजीले मेरो कवितालाई संगीत होइन, सास भरिदिनुभयो भन्ने लाग्यो।'

पढ्नुहोस् पूरा कविता :

बा

नीरा शर्मा
 

मैले धेरै पढेँ
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिनँ
बाका अनुहारमा सलबलाएका
दु:खका बक्ररेखाहरू
धेरै पटक कविहरूले
आमाकै तारिफमा कविता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा ओझेल परे।

बारीको डिलमा चुपचाप
ठिंग उभिएको बूढो रूखझैँ
बा कहिल्यै उभिएनन्
भञ्ज्याङको चौतारीझैँ
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँधेरो मेटाउन
मैनझैँ जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेलझैँ चलिरहे
जिन्दगीभर कुदिरहे, कुदिरहे
थाकेर सुइय नगरी
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिँदै छ एक्लोपनको हिमाल
बाको मनभित्र।

यतिखेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सधैँ
घुरिरहन्छ कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
कर्कलाको पातमा टलपल पानीझैँ
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरूको सिला खोज्दै छन्
परेलीका डिलहरूमा ।

बोल्दाबोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउँछु म गला अवरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुँदै होइन।

फुङ्ग रङ उडेका
उदासीका फूलहरू
फुलेका छन् बाका मुहारभरि
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउँदासम्म
ठुँगिरहन्छ।

भित्र मनमा कताकता
विगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैँचो मागेका खुसीहरू
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरा लागि
तिम्रा लागि
र हाम्रा लागि
हो, बा त्यो हरुवा हो
जो सधैँ हारिरहन्छन्
केवल सन्तानका लागि।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.