साहित्य

बहुलाहा माग्ने

असार १२, २०७५

    जमिनमा झिसमिसे उज्यालो छ भने आकाशमा दुई तीनवटा तारा टिल्पिलाइरहेका छन्। मर्निङ वाकमा दुई चार जाना देखिने बाटोमा दुईवटा प्रहरीका भ्यान र थुप्रै मानिस यताउता गरेको परैबाट देखेँ। नजिकै पुगेपछि के भएछ भन्ने कौतूहल जागेर आयो र एक जनालाई सोधेँ, 'के भएको दाइ?'

    'यहा सुत्ने बुढो थियो नि, त्यो त केटी बेच्ने मानिस पो रहेछ! त्यसैलाई पक्रन पुलिस आएको।'

     'आ, नचाहिने कुरा। त्यस्तो पागल जस्तो माग्नेले के देहव्यापारको काम गर्ला र? कसले पत्याउने त्यस्तालाई?'

    'खोइ कसलाई के भन्न सकिन्छ र?'

    पुलिसले बुढोलाई भ्यानमा राखेर लग्यो। रमिते भीड पनि तितरबितर हुन थाल्यो। म पनि आफ्नो बाटो लागेँ। कुनै पनि केटीलाई बेच्न सक्ने मान्छे आफू पनि त हेर्न हुने वा त्यही केटीले पनि पत्याउन सक्ने त हुनुपर्‍यो नि! यस्तो पागल जस्तो माग्ने बुढो के साँच्चीकै केटी बेचुवा होला त? कि त पागल जस्तो भएर बसेको नाटक हो? बिहानको एक्लो हिडाइँ अनि दिमागको केन्द्रबिन्दुमा त्यही बुढो घुमिरह्यो।

    तीन-चार महिना भयो, बुढालाई हामीले त्यहाँ देख्न थालेको। बिहानै त्यो बाटो गरेर हिँडने महिलालाई मात्र त्यो बुढाले सधैँ सुधालाई बोलाइदिनु न भन्ने आशयमा अनुरोध नै गर्थ्यो। मान्छे हेर्दा धेरै दिनदेखि नुहाउन नपाएको जस्तो, धुलैधुलो भएको कपाल, मैलोले आफ्नै रंग रूप पनि गुमाइसकेको लुगा अनि एउटा मैलो कालो झोला काँधमा भिरेको भिरेकै हुन्थ्यो। उसको यो रूप देख्दा लाग्थ्यो, यो पागल माग्ने होला। सायद उसको सम्बोधनमा आउने सुधाले नै नराम्ररी मानसिक चोट दिएकाले पागल भएको हो कि? तर मानिस त्यस्तो फोहोरी देखिए तापनि अचम्म के भने उसले सधैँ दाह्री भने बनाएकै हुन्थ्यो। कहिल्यै ऊ दाह्री पालेर हिँडेको देखिएन र बाटोमा फ्याँकेको खानेकुरा टिपेर खाएको पनि देखिएन। यसरी गहिरिएर विचार गर्दा ऊ पागल होइन कि जस्तो पनि लाग्थ्यो।

    पहिले उसको बासस्थान कता थियो के मतलब? तर केही महिनादेखि मर्निङ वाकमा जाँदा ऊ एउटा पसलको सटर अगाडि पेटीमा सुतिरहेको भेटिन्थ्यो। कार्टुनका टुक्रा कागज र च्यातिएका कपडाका टुक्रा उसका तन्ना र डस्ना। पसले पसल खोल्न आएपछि हो वा बाटोमा हिँड्ने मानिसको हल्लाखल्लाले ऊ आफ्ना सामान समेटेर कता राख्थ्यो, हामी फर्कंदा त्यहाँ ऊ त्यही कालो झोला भिरेको मात्र देखिन्थ्यो।

    चौकीबाट त ऊ तीन-चार दिनमै आयो। झण्डै एक महिना पछाडि उसलाई पसल अगाडि सुतेको भेटिएन। एक दिन मैले पसलेलाई सोधेँ, 'खोइ त्यो माग्ने? यहाँ सुत्न नदिएको हो कि आफैँ हिँड्यो कतै?'

    'काँ हिँड्नु नि दिदी, मैले निकालेको पनि होइन, त्यो त बिरामी भयो।'

    'ए विचरा गरिव, बिरामले गरिव धनी भन्दैन, अनि कहाँ गयो त?'

     'अस्पतालमा लगेर जँचाइदिएको अपरेसन गर्नुपर्छ पो भन्यो डाक्टरले त। अनेक भनसुन गरेर बिना शुल्क अपरेसन गराइदिएँ।'

    'धर्म भनेको नै यही हो भाइ। यस्तो काम गरेपछि मन्दिर धाउनुपर्दैन। गरिवको उद्धारै गरिदिनुभएछ।'

    'बुढोसित पनि पैसा त रहेछ नि दिदी तर पछि तागतिलो खानेकुरा खानु भनेर राख्न लगाएँ।'

    'केको अपरेशन गरेको?'

    'फिस्टुलाको।'

    केही दिन पछाडि फेरि बुढो देखिन थाल्यो पेटीमा तर भर्खर अपरेसन गरेको मानिस दिनभर पसल अगाडि सुत्न पनि मिलेन। बुढोलाई आराम होस् भनेर नजिकैको मन्दिरको पाटीमा सुत्ने व्यवस्था गरिदिएछन् पसलेहरू सबै मिलेर।

    ओहो मन्दिरमा त फेरि भीड पो छ त! 'बुढालाई पक्रन फेरि पुलिस आयो कि के हो? विचरा ऊ त बिरामी छ, नलगे हुने थियो नि' मनमनै सोच्दै पुगेँ म पनि मन्दिरको पाटीमा। पसले भाइ पनि त्यहीँ थिए। बुढो त मरेछ।

    'अपरेसन फेल भएछ कि के हो भाइ?'

    'किन हुन्थ्यो दिदी! समयमा ड्रेसिङ गर्न गएन। जा भन्दा पनि मान्दैन थियो। बिस्तारै घाउ पाक्यो। त्यहीँ कीरा नै परेछ। अस्ति मात्र मलाई देखाउँदै थियो। अस्पताल लगेर सफा गराएर ल्याइदिएँ। आज राती त मरेछ। कोही छैन अब जलाउने व्यवस्था त गरिदिनुपर्‍यो नि!'

    एउटा माग्ने र अपरिचित सुधाको कथाव्यथामा पूर्णविराम लाग्यो तर मेरो मर्निङ वाक दिनहुँ पाटीतिर नियाल्दै चलिरहेको थियो।

    आफ्नो पसल अगाडि मलाई हिँडिरहेको देखेर भाइले बोलाए। 'दिदी, कोही छैन भनेर छोरै जस्तो बनेर जिउँदोमा अस्पताल पुर्‍याएँ, मरेपछि आर्यघाटसम्म लगेर जलाइदिएँ तर त्यो बुढाको त छोरा रहेछ।'

    'ए हो र? कसरी थाहा पाउनुभयो त?'

    'मलाई थाहा थियो ऊसित केही पैसा छ भन्ने कुरा। त्यसैले हामीले लास जलाउनु पर्‍यो भनेर बुढाको झोला खोतलेका थियौँ। झोलाभित्र छ हजार रुपैयाँ र मेरो नाम लेखेर बन्द गरिएको एउटा खाम रहेछ।'

    'खाम खोलेको थिइनँ तर साथैमा थियो। घरमा पुगेपछि  खोलेर हेरेको त बुढाको नागरिकता, पढाइको सर्टिफिकेट, राष्ट्रिय बाणिज्य बैंकको चेकबुक, पासबुक र एउटा सानो नोटबुक थियो। नोटबुकलाई जिल्दा हालेर त्यसमा पनि 'भाइ दीपकको लागि' भनेर लेखिएको थियो।  आफ्नो नाम भएकाले नोटबुक पल्टाएर पढ्न थालेँ।  त्यो नोटबुकमा बुढाले आफ्नो जीवनी लेखेका थिए। त्यही पढेर छोरा को हो भन्ने थाहा पाएँ र बुढाको सम्पत्ति जिम्मा लगाइदिन छोरालाई बोलाएको छु। बुढासित बैंकमा पैसा पनि रहेछ। पैसा पाउने लोभमा त होला, चेकबुक र पासबुक लिन छोरो आउँदै छ। एकछिन बस्नु न त्यसको कुरा सुनेर जानुहोला।'

    'सबै चिज दिनु तर बुढाको नोटबुक नदिनु ल म पनि पढ्छु।'

    भाइले नोटबुक मेरो हातमा दिँदै थिए, पसल अगाडि एउटा आई २० कार आएर रोकियो र ड्राइभिङ सिटमा बसेको युवकले झ्याल खोल्दै सोध्यो, 'दीपकको पसल कुन हो?'

    'यही हो, किन?'

    भाइको नाम दीपक रहेछ भन्ने केहीछिन पहिले मात्र थाहा पाएकी थिएँ। गाडी किनारा लगाएर त्यो मानिस पसलमा आयो र भन्यो, 'दीपकजी, म निश्चल।'

    'ए' भन्दै भाइले निश्चललाई भने, 'प्रमाण लिएर आउनु भनेको थिएँ नि!'

    निश्चलले आफ्नो सवारी चालक अनुमतिपत्र र नागरिकता भाइको हातमा राखिदिए। त्यसपछि भाइले निश्चलको अगाडि खाममा भएका सामान खन्याइदिए। निश्चलले सबै सामान समेटेर त्यही खाममा हालेर भाइसित हात मिलाउँदै बाटो लागे। म मूकदर्शक भएर हेरिरहेकी थिएँ। गाडी दौडियो। भाइले व्यंग्यात्मक रूपमा मुख खोले, 'दिदी, बुढाको एक मात्र सन्तान उसको छोरा। '

    'आम्मै! त्यही त! यस्तो छोरा, त्यस्तो बाबु, के होला नि?'

    'त्यो नोटबुक पढ्नु सब थाहा पाउनुहुन्छ।'

    म पनि नोटबुक बोकेर घरतिर लागेँ।

    हतार थियो नोटबुकको पन्ना पल्टाउन। पहिलो पन्ना पल्टाएँ, लेखिएको थियो, 'म नीलकण्ठ ठाकुर। घर वीरगंज'बाट मेरो पढाइ सुरु भयो। ठाकुर त बिएस्सी पास गरेका व्यक्ति रहेछन्। एक छोरा र एक छोरीका धनी। काम शिक्षक। सुखी र सम्पन्न परिवार। छोरालाई एसएलसी पछाडि दिल्लीमा पढ्न राखिदिए भने छोरीलाई पनि एसएलसीपछि विहारको पटनामा बसोबास गर्ने केटासित विवाह गरिदिए। घरमा बुढाबुढी मात्र थिए। छोरी र ज्वाइँको पटनामै आफ्नै कार दुर्घटनामा मृत्यु भयो। छोरीको मृत्युले बुढाबुढीलाई बिक्षिप्तै बनाए तापनि बुढा विस्तारै सम्हालिए। बुढीलाई सम्हाल्न सकिएन, बिरामी हुँदै गइन्। छोरीले तीन वर्ष पनि पूरा हुन दिइन, आमालाई बाबुबाट चुँडाएर आफैँसित लिएर गई।

    घरमा बुढा एक्लै भए। अरूको घरमा भाँडा माझेर जीविका चलाउने एक जना महिलाले बुढाको घरको पकाउने, लुगा धुनेलगायतका कामको जिम्मा लिई। बुढाको घरमा सबै सम्हालिदिनुपर्ने भएकाले बुढाले राम्रै पैसा दिए। उसले पनि अरू घरको काम छोडेर बुढाको घरको कामलाई प्राथमिकतामा राखी। एक वर्ष पनि नपुगेकी छोरीकी आमा थिई ऊ। छोरी लिएरै आउँथी सधैँ काम गर्न। उसको श्रीमान रक्सौलको रेलवे स्टेशनमा कुल्ली काम गर्दथ्यो।

    विधुर मास्टरलाई आफ्नो प्रेमजालमा फसाउन सफल भई त्यो महिला। इज्जत, सम्पत्ति र पैसा सबै दाउमा पारेर बुढा ती महिलालाई लिएर काठमाडौं आए। सर्टिफिकेट भए पनि काम पाउन उमेरले छेक्यो। ल्याएको पैसा के कति थियो, रेस्टुरेन्ट खोले बुढाले। अरूको घरमा काम गर्ने महिला रेस्टुरेन्टको बारेमा के नै जानेको हुन्छ र! झन् बुढा त शिक्षक, के जानुन् व्यापारको दाउपेच!

    काम गर्ने नोकर्नी लिएर पलायन भएका बुढालाई छोराले बेइज्जती महसुस गरेर कहिल्यै खोजखबर नै गरेन।  बुढालाई पनि छोरासित भेट गर्न लाज भयो होला। उनले पनि छोराको खोजी गरेनन्। व्यापारमा घाटा लाग्दै गयो। जेठी श्रीमतीकै नाम राखेका रहेछन् बुढाले मायालु श्रीमतीको नाम सुधा। वीरगंज गएर बस्न बुढाकी सुधाले मानिनन्।

    रेस्टुरेन्ट व्यवसाय धरासायी भएपछि घर बेच्न बुढा पुगे वीरगंज। छोराले रोक्का गरिदिएको रहेछ अचल सम्पत्ति सबै। बेच्न पनि पाएनन्, फर्किए खाली हात। सम्पत्ति देखेर मायाजालमा फसाएकी सुधाका लागि बुढा निकम्मा श्रीमान साबित हुँदै गए। रेस्टुरेन्ट व्यवसायले हो या शहरीया जीवनशैलीले हो या बुढाबाट सन्तुष्टि नपाएर हो, सुधाले नराम्रो बाटो रोजिन्- देहव्यापारको।

    देहव्यापारको काम गराउँदिनँ भन्ने कागज गरेर बुढालाई तीन दिनपछि छोडिदियो। व्यवसाय त सुधाको थियो, बुढाले धेरै सम्झाए यस्तो काम नगरौँ भनेर तर सुधा डुबेकी थिइन् यो पेसा र नाफामा, किन मान्थिन् र! कमाइ आफ्नो तर कचकच बुढाको किन मान्ने हुन् र! बुढालाई घरबाट नै निकालिदिइन्।

    शिक्षक जस्तो इज्जतदार पेसाबाट आएका बुढाले श्रीमतीको अँगालोमा परपुरुष आएको सहन सकेनन्। उनी फर्किए वीरगंज तर छोराले घरभित्र पस्न दिएन। छोरो अफिसर भइसकेको थियो। उसका लागि बुढा बेइज्जतको पात्र बनेका थिए त्यो बेला। छिमेकीको व्यवहारमा पनि परिवर्तन महसुस गरे उनले। आफ्नो र आफन्तका ढोका बन्द भएपछि जानु कहाँ र? फर्किए काठमाडौं।

     सुधाले आफू र अरू दुई-तीन जना केटीहरूलाई पनि आफ्नै डेरामा यौन धन्दामा लगाइसकेकी थिइन्। गाँस, बास र कपासका लागि मानिसले जे पनि गर्छ। दुई छाक भातका लागि बुढा पनि सुधालाई नै सघाउन थाले। काठमाडौंको व्यापारमा फस्टाउँदो जिउँदो मासुको व्यापारले सुधालाई फाइदा मनग्गै भयो। उनले घर नै किनिन्। आफ्नै घर भएपछि त व्यापार झन फैलिँदै गयो। सुधाको घरमा रातो प्लेटका गाडीको लाइन नै लाग्न थाल्यो।

    एक दिन पुलिसमा उजुर परेछ क्यार, रेड हान्यो। घरको मुली भन्दै बुढालाई पुलिसले पक्रेर खोरमा पुर्‍यायो। देहव्यापारको काम गराउँदिनँ भन्ने कागज गरेर बुढालाई तीन दिनपछि छोडिदियो। व्यवसाय त सुधाको थियो, बुढाले धेरै सम्झाए यस्तो काम नगरौँ भनेर तर सुधा डुबेकी थिइन् यो पेसा र नाफामा, किन मान्थिन् र! कमाइ आफ्नो तर कचकच बुढाको किन मान्ने हुन् र! बुढालाई घरबाट नै निकालिदिइन्।

    दाम्पत्य जीवनमा एकअर्काको साथ उमेर ढल्कँदै गएपछि झन आवश्यक हुन्छ। मास्टरजीका लागि उडायो सपना सबै हुरीले। जसको पछाडि लागेर सबै छोडेर आए, उसैले निकालिदिएपछि संसार अँध्यारो हुने नै भयो। माया रिसमा परिणत हुन बेर लागेन। सुधाकै रिसले गर्दा बुढाले सुधाकैमा आउने केटीहरूलाई फकाए। सुधाको भन्दा बढी पैसा केटीहरूलाई दिएर ग्राहकलाई खुसी बनाउन होटलमा पठाउन थाले।

    पाँच लाख रुपैयाँ बैंकमा जम्मा भएपछि बुढाले यो काम छाडिदिए। उनले डेरा लिएर पनि बसेनन्। उनी कहिले कुन मन्दिरमा, कहिले पाटीमा बस्न थाले। त्यहाँ पनि एक जनाले फकाइफुस्ल्याई बुढाको दुई लाख रुपैयाँ खान भ्यायो। समाज जाली फटाहा र  जिन्दगी पैसामै चलेको त रहेछ भन्दै बुढा त्यसै भौँतारिन थाले। विरक्तिएको मन लिएर उद्देश्यहीन यात्रामा हिँड्ने बुढाले समयमा नुहाउन पाएनन्। स्वाभाविक हो फोहोरी देखिँदै जानु ।

    जहाँ टेक्यो, त्यो जमिन त्यो समयका लागि आफ्नो, खुला आकाश आफ्नो तर एक्लो मानिसका लागि निरस जिन्दगी, आफ्नो भन्ने कोही छैन। भौँतारिँदै हिँड्दा एक दिन कृष्ण मन्दिर अगाडि घाम तापेर बसिरहेका थिए।  आफ्नो अगाडि एक रुपैयाँको सिक्का फुत्त फ्याँकेर महिला मन्दिरतिर लागिन्। बुढाले उनलाई पछाडिबाट के भनेर बोलाउने? के म माग्ने नै भएछु त? आँखा दौडाए शरीरमा। मैलो लुगा, कपाल छामे- धुलो र मैलोले लट्टा परिसकेको। सुधाले आइरन गरेर राखेको लुगा लगाएर स्कुल लागेका दिन सम्झिए। दुई थोपा आँसु भुइँमा तपतप गर्दै खस्यो। आँखाबाट आँसु खसेको देखेर बुढालाई के लाग्यो, मुसुक्क मुस्कुराए।

    अघि पछाडिबाट देखिएको रातो सारीमा हरियो बुट्टा अनि हरियै चोलोमा सजिएकी ती महिला मन्दिरबाट निस्किइन्- आफ्नै छोरासित। उनीहरूको हाउभाउ हेर्दा बुहारी पो हुन् कि जस्तो लाग्यो। बुढाले छोरालाई देखेपछि आफूलाई रोक्न सकेनन्। अगाडि पुगे 'बाबू' भन्दै। छोराले बाबुलाई नचिन्ने त कुरै भएन तर पनि भनेछ- 'को हौ तिमी? म त चिन्दिनँ।'

    उनले भनेछन्, 'बाबु जो हुनु थियो, भइगयो, मबाट गल्ती भयो, माफ गरिदे। बाबुलाई चिन्दिनँ नभन् छोरा।'

    'तिमी त केटीहरूसित धन्दा गराएर खाने मान्छे होइनौ? मैले समाचारमा पढेको थिएँ तिमीलाई पुलिसले पक्रेको। मेरो बाबु त मरिसकेको पनि धेरै वर्ष भइसक्यो', श्रीमतीतिर हेर्दै उसले भन्यो, 'हिँड , माग्नेहरू पनि कस्ताकस्ता भेटिन्छन्!'

    एउटा आश मनको कुनामा थियो- कुनै दिन छोराले पो खोजी गर्ला कि भन्ने तर त्यो झिनो आशाको त्यान्द्रो पनि चुँडियो। जाडो महिना, सबैलाई घाम प्यारो हुँदै थियो तर बुढाको अगाडि साउने झरी पर्नु अगाडिको आकाश जस्तै धुम्मियो पूरै पाटन दरबारस्क्वायर क्षेत्र।  बुढा त्यो दिनबाट साँच्चै माग्ने नै भएर हिँड्न थाले। तर बुढाले मागेर कहिल्यै खाएनन्। एउटै होटलमा सधैँ पैसा तिरेर नै खाने।

    विस्तारै बुढालाई अल्जाइमरले गाँज्दै लग्यो। बेहोसीको हालतमा उनी सुधाको खोजी गर्न थाले तर कुन सुधाको खोजी गर्थे, उनलाई नै थाहा थिएन। बुढाले वीरगंज गएको बेलामा छिमेकीको र आफ्नै छोराको फोन नम्बर लिएर आएका रहेछन्।

    एकै बसाइमा मैले बुढाको नोटबुक पढिसकेँ। अन्त्यमा 'बाबू, तिमीलाई मेरो रूपले घीन लागेन। मलाई पनि मानव हो भन्ने सम्झेर तिमीले मलाई डाक्टरकहाँ लिएर गयौ। म आत्महत्या गरेर कायरको मृत्यु मर्न चाहन्न थिएँ तर जिन्दगीदेखि थाकिसकेको थिएँ। आफूलाई आफ्नै नजरमा कतिसम्म गिराउन सकिन्छ, गिराएँ। म पनि मान्छे हुँ भनेर सोच्नै छोडिदिएँ। आफूलाई शारीरिक दु:ख दिएर मात्र पनि काल आउने होइन रहेछ। मलाई यो रोग सुधा नमर्दैदेखि लागेको थियो। मेरो यो बिमारीलाई लिएर सुधाले गरेको चिन्ता सम्झिएर अहिले आफैँ पिरोलिन्थेँ। सुधालाई सम्झँदै यही रोगले मलाई उनको नजिक पुर्‍याअस् भन्ने म चाहन्थेँ। त्यही भएर म कहिल्यै डाक्टरकहाँ जान चाहिनँ। बेहोसीकै हालतमा मैले तिमीलाई आफ्नो बिरामीको बारेमा भनेछु। तिमीले अप्रेसन नै गरायौ। जीवन बाँच्नुको कुनै उद्देश्य थिएन मसित, त्यसैले मैले ड्रेसिङ गराउन चाहिनँ। कीरा पर्‍यो, म नै चाहन्थेँ, यस्तै होस्।

     मसित बैंकमा तीन लाख रुपैयाँ छ। मेरो नागरिकता नपाएकाले छोराले जग्गा आफ्नो नाममा गर्न सकेको छैन। आखिर मैले जे गरे पनि मेरो छोरो मेरो खुन त्यही हो। उसको र मेरो सम्बन्ध मेरा लागि जोडिइरहेको छ भने उसका लागि त्यो डोरी चुँडिनु नै वेस थियो। ऊ मेरो नामबाट कतै पनि नचिनियोस् भन्ने म चाहन्छु। त्यसैले म मरिसकेपछि तपाईंसित मेरो यो डायरी आउला अनि मेरो एक मात्र भरोसाको केन्द्र तपाईंले मेरो नागरिकता, मेरा सर्टिफिकेटहरू र यो चेकबुक उसलाई दिनुहुनेछ भन्ने विश्वास लिएको छु। यो बैलाहा माग्ने बुढोको इतिहास कतै नखोलिदिनुहोला ल! इति।'

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]