|

सोलुखुम्बु :  जिप दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तलाई जिम्मा लगाइएको छ। जिल्ला अस्पताल फाप्लुमा पोष्टमाटमसहित कानुनी प्रकृया पूरा गरी शव जिम्मा लगाइएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए।

पाँचवटा शव आफन्तले बुझेर लगिसकेको भए पनि दुईजनाको शव लैजान समस्या भएको छ। मौसम प्रतिकूलताको कारण गृहजिल्ला लैजान समस्या भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

जिल्ला वन कार्यालय सोलुखुम्बुमा कार्यरत फोरेष्टर सिरहा सनैठा निवासी ३६ वर्षीय शिवकुमार यादव र वनरक्षक खोटाङ खाल्ले ८ घर भर्इ हाल इटहरी निवासी २४ वर्षीया कोपिला बस्नेत (कार्की)को शव लैजान समस्या भएको हो। शवलाई हेलिकोप्टरमार्फत यादवको गृहजिल्ला सिरहा र बस्नेत (कार्की)को इटहरी लैजाने तयारी भइरहेको छ।

बाक्लो हुस्सु लागेको कारण हेलिकोप्टर आउँन नसक्दा फाप्लुमानै आफन्तको जिम्मामा राखिएको छ। शुक्रबार बिहान करिब ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जिप दुघर्टना हुँदा एक बालिकासहित तीन पुरुष र तीन महिला गरी सात जनाको मृत्यु भएको थियो।

जिप चालक र मालिकको एकैचोटी मृत्यु

मृत्यु हुनेमा जिप चालक कुसाङ तामाङ, जिप धनी श्यामकुमार राई रहेका छन्। जिप चालक तामाङ उदयपुरका हुन् भने जिप मालिक ओखलढुंगा मांखा निवासी हुन्। बिहीबार बेलुकी बिरामी लगेर सल्यान पुगेका जिप मालिक र चालक बिहान सल्लेरी आउने यात्रुसहित थिए। दुर्घटनामा जिपमा सवार यात्रु, चालक र मालिक गरी सातजनाको मृत्यु भएको हो।

जिप किनेको एक महिनामै ज्यान गयो

राईले जिप व्यवसायमा संलग्न भएको एक महिना मात्र भएको परिवार श्रोतले बताएको छ। जिप व्यवसायबाट मनग्य आम्दानी लिने सपना बोकेका राईको शुक्रबार बिहानको दुर्घटनाले केवल सपनामा मात्रै सिमित गरायो।

जिप चढेको केही मिनेटमै दिदीबहिनीको ज्यान गयो

नेचा सल्यान गाउँपालिका १ निवासी शुशिला खड्का र करिब ८ वर्षीया बालिका सुष्मा खड्का दिदीबहिनी हुन्। घरदेखि नजिकै रहेको पसलमा दैनिक उपभोग्य वस्तु खरिदका लागि पसल हिड्दै गर्दा जिप भेटेपछि उनीहरू जिप चढेको थिए। करिब ३०० मिटर पर नपुग्दै दर्घटनामा परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

उक्त दुर्घटनामा नेचा सल्यानकै स्थानीय विद्यालयमा कार्यरत कर्मचारी उर्मीला बास्तोलाको समेत मृत्यु भएको हो।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.