|

काठमाडौ : विभिन्न प्रकारका अपराध गरेर जेल जीवन भुक्तान गरिरहेका गुण्डा नाइकेहरू जेलभित्रै ज्यान बनाउन व्यस्त हुने गरेका छन्। गुण्डा नाइकेहरूमध्ये कसैले आफैँ जिम सामग्री किनेरै ज्यान बनाउँदै छन् भने कसैले जेलभित्रबाटै उपलब्ध हुने सामग्रीले ज्यान बनाउने गरेको विभिन्न कारागार स्रोतको भनाइ छ।

उनीहरूआफूलाई शक्तिशाली देखाउन नियमित जिम गर्ने गरेको कारागारका अन्य कैदीबन्दीको भनाइ छ। नख्खु कारागारका एक कैदीले भने, ‘डनहरूलाई पैसाको चिन्ता छैन, ज्यान बनाउन डाइट खान्छन्, बिहान बेलुका जिम गर्छन्, उनीहरूको लागि के जेल भन्नु?’

यसरी जेलभित्रै जिम गर्नेमा चर्चित गुण्डा नाइकेदेखि टोले गुण्डासमेत रहेका छन्। चर्चित डनहरूमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतदेखि दीपक मनाङे, गणेश लामा, रमेश बाहुन रहेका छन्। समिरमानसिंह बस्नेत हाल ललितपुरको नख्खु कारागारमा जेलजीवन भुक्तान गर्दै छन्।

गौचन हत्या अभियोगमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् भने मनाङ्गे र लामा डिल्लीबजार कारागारमा जेलजीवन भुक्तान गरिरहेका छन्। त्यस्तै रमेश पौडेल (रमेश बाहुन) केन्द्रीय कारागार सुनधारामा जेलजीवन भुक्तान गरिरहेका छन्।

समिरमानसिंह बस्नेत

०७४ असोज २३ मा नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो। हत्याको मुख्य योजनाकार थिए समिरमानसिंह बस्नेत। गौचन घरबाट निस्किएको पाँच मिनेट पनि नहुँदै उनी चढेको गाडी रोकेर दुई राउन्ड गोली प्रहार भएको थियो। घाइते गौचनको सिभिल अस्पताल नपुर्‍याउँदै बाटोमै मृत्यु भएको थियो। गौचनलाई बस्नेतकै योजनामा श्यामबहादुर गुम्बेले गोली प्रहार गरेका थिए। 

हत्याका मुख्य योजनाकार समिरमासिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंसिर १६ गते भारतबाट पक्राउ गरेको थियो। हाल उनी ललिलतपुरस्थित नख्खु कारागारमा जेलजीवन भुक्तान गरिरहेका छन्।

सुटर श्यामबहादुर गुम्बे र योजनाकार समीरमानसिंह बस्नेतसँगै नख्खु कारागारमै जेलजीवन भुक्तान गरिरहेका छन्। उनीहरू जेलभित्रै अहिले ज्यान बनाउन व्यस्त हुने गरेका छन्। बस्नेतले जिमको सामग्री आफैँ किनेर जिम गर्ने गरेको कारागारले जनाएको छ। ११ वर्ष अघि लागूऔषध मुद्दामा जेल परेका बुद्ध गुरुङसँग मिलेर बस्नेतले जिम क्लब नै सञ्‍चालन गरेका हुन्। बस्नेतले बुद्धले सञ्‍चालन गरेको जिम क्लबमा सामाग्री थपेर पार्ठनर भएका हुन्।

एक हजार ५०० भर्ना शुल्क, २०० मासिक शुल्क

बुद्ध र बस्तेतले सञ्‍चालन गरेको जिम क्लबमा विभिन्न अपराध गरेर जेलजीवन भुक्तान गरिरहेका २० देखि २५ जना नियमित जिम गर्ने गरेको छन्। जिम गर्नेमा गौचन हत्याका सुटर श्यामबहादुर गुम्बेसमेत रहेका छन्।

बुद्ध र बस्नेतले जिम गर्ने कैदीहरूबाट भर्ना शुल्क एक हजार ५०० सय र मासिक शुल्क २०० लिने गरेका छन्। नख्खु कारागारभित्र जिम मात्र नभएर योगादेखि खेलकुदका अन्य विधासमेत रहेको कारागारका प्रमुख टेकबहादुर केसीले जानकारी दिए।

 गुण्डा गणेश लामा र दीपक मनाङ्गे

गणेश लामा र दीपक मनाङ्गे एक समय नेपालको चर्चित गुण्डा हुन्। उनीहरुले विभिन्न समूह बनाएर नै विभिन्न  व्यावसायीहरूसँग मोटो रकम असुल्ने गरेका थिए। उनीहरूमाथि विभिन्न प्रकारको अपराध गरेको अभियोग छ। तर, पछिल्लो समय भने उनीहरू दुवैजना राजनीतिमा प्रवेश गरेका छन्।

मनाङ्गे मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसदसमेत हुन्। उनले ०६१ सालमा अर्का गुण्डा नाइके चक्रेमिलनमाथि खुकुरी प्रहार भएको घटनामा २०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पाँच वर्ष कैद सजाय तोकेको थियो।

सोही मुद्दाका कारण उनको सांसद पदसमेत गएको छ। वैशाख ६ गते स्वयम्भूबाट पक्राउ परेका मनाङ्गे हाल डिल्लिबजार कारागारमा जेलजीवन भुक्तान गरिरहेका छन्। उनी बिहानै साढे सात देखि १० बजेसम्म कारागारभित्रै जिम गरेर समय बिताउने गरेका छन्।

त्यस्तै विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमालेका चन्द्र लामासँग पराजित उम्मेदवार हुन्। विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा गच्छदार कांग्रेसमा जोडिएसँगै रूख चिह्न लिएर प्रदेश सभाको उम्मेदवार भएका थिए।

उनी फागुन ३० मा पेस्तोलसहित गौशालास्थित होटल पशुपति भिजनबाट पक्राउ परेका थिए। होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको थियो। हाल उनी हातहतियार खरखजना मुद्दामा डिल्लिबजार कारागारमा थुनामा रहेका छन्।

लामा पनि बिहानै साढे सातदेखि नै जिम क्वलबमा व्यस्त हुने गरेको कारागार स्रोतले जनाएको छ। लामा र गुरुङलाई भेट्न आउने मानिसको संख्या अन्यको तुलनामा बढी नै हुने भएकाले उनीहरू दिनभरी व्यस्त हुने गरेको कारागारले जनाएको छ। उनीहरूलाई बेलुका छ सात बजेतिर बजे अलि बोरिङ लाग्ने कारागार स्रोतको भनाइ छ।

गुण्डा रमेश पौडेल (रमेश बाहुन)

ललितपुरका मीनकृष्ण महर्जनलाई गोली हानेर फरार भएका रमेश बाहुनलाई प्रहरीले ०७१ सालमा कलंकीबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई खैरो हिरोइनसहित हिँडिरहेकै अवस्थामा पक्राउ गरेको हो।

ठेक्कापट्टाको कमिसन विवादमै बाहुन समूहले ४ माघ ०७० मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो। गुण्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूलाई कमिसन नदिएपछि गोली हानेको बयान बाहुनले प्रहरीलाई दिएका थिए।

बाहुन हाल केन्द्रीय कारागार सुन्धारा जेलमा छन्। लागुऔषध, ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा कारागारमा रहेका उनी चल्तीका गुण्डा नाइके हुन्। चार वर्षदेखि जेलजीवन भुक्तान गरिरहेका बाहुनको मुद्दा अझै अदालतमा विचारधीन रहेको छ। उनी जेलभित्रै नियमित जिम गर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.