|
फोटो : भोटखोला गाउँपालिकाको किमाथांकमा रहेको टावर भिसेट(स्यार्टलाईट)मार्फत सोलारको भरमा सञ्चालनमा रहेको नेपाल टेलिकमको टावर।

संखुवासभा : संखुवासभाका दुर्गम गाउँहरूमा रहेको नेपाल टेलिकमको बिटिएस टावर अझै सोलारपावरको भरमा रहेको छ। विधुत् विस्तार नभएका कारण दुर्गममा रहेका सातवटा बिटिएस टावरमार्फत हुने सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको छ।

कुनै एक चिज एक क्लिक गर्ने क्रममा संसार भर पुग्छ, संसारका मानिसहरूले हेर्न सक्छन्। तर संखुवासभाका दुर्गम भेगका नागरिकमा भने यो सुन्दा अचम्म लाग्छ, त्यहाँ इन्टरनेटको त कुरै छाडौ, घाम लाग्दा फोन समेत गर्न पाइँदैन।

विधुत् लाइन नपुगेपछि ती स्थानमा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने ग्राहकहरूले मौसमको भरमा सेवा पाउने गरेका छन्। दिनभर घाम लागेन भने सोलार चार्च नभएका कारण सेवाग्राही मोबाइल सेवा सञ्चालनमा नआउँदा सञ्चार सेवाबाट बन्चित हुन्छन्। बेलुकी घाम अस्ताएपछि बिहान ८ बजेभन्दा अघि दुर्गमवासीले सञ्चारबाट बिच्छेद हुने गरेका छन्। त्यति मात्र होइन कहिले कही त दुई चार दिनसम्म पनि मौसम खराब हुने गर्दछ। उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको टावरमार्फत २४ घण्टा सेवा प्रवाह नहुने भएपछि किमाथांकावासी छिमेकी देश चीनको सिमकार्ड प्रयोग गर्न बाध्य छन्।

सोलारका भरमा रहेका बिटिएस टावरहरू रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टरार्इले जानकारी दिए। उनले भने 'व्याट्री पुरानो भएको र लामो समयसम्म काम गर्न छाडेको भनी क्षेत्रलाई जानकारी गराए पनि नयाँ व्याट्री क्षेत्रले पठाएको छैन। क्षेत्रले नयाँ व्याट्री पठाए पनि घामको भरमा मात्र २४ सै घण्टा भने सेवा प्रदान गर्न सकिदैन।'

जिल्लाका छ स्थानका बिटिएस टावर सोलरबाट मात्र सञ्चालन हुँदै आएका छन्। चिचिला गाउँपालिकाको छ्यांकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ, सिलिचुङ गाउँपालिकाको रमितेमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिदै आएको छ। भोटखोला गाउँपालिकाको किमाथांकमा रहेको टावर प्रत्यक्ष भिसेट(स्यार्टलाईट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख राधारमण भट्टरार्इले जानकारी दिए।

त्यसैगरी नेपाल टेलिकम संखुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ।  शाखाले जिएसएम आठ, सिडिएमए पाँच र ल्याडलाईन सेवा पाँच स्थानबाट सञ्चालन गरिरहेको छ। खाँदबारी शाखाबाटै भोजपुरका षडानन्द नगरपालिकाको दिंलामा ल्याडलाइन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङ जिएसएम सेवा प्रदान गरेको छ।

शाखाले १९२ बाट ल्याडलाइन फोन वितरण गरेको छ। सबैभन्द धेरै खाँदबारीमा एक हजार १८० जना ग्राहक रहेका छन्। ल्याडलाइन वितरण भएको स्थानहरू शाखाले एडिएसएल सेवासमेत वितरण गरेको छ। खाँदबारी शाखालेनै भोजपुरको दिंलामा पनि ल्याडलाइन फोन वितरण गरेको छ। जिल्लामा करिब सात स्थानका टावरमार्फत एनसेल कम्पनीले मोबाइल सेवा प्रवाह गरिरहेको छ। खाँदबारी शाखाले भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.