|

ओखलढुंगा : जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नागरिकको सूचना र सुरक्षाका लागि ओखलढुंगाका २८ हजार ७ सय भन्दाबढी घरधुरीमा सूचनामूलक स्टिकर टाँसेको छ। ‘एक घर एक स्टिकर’ टाँस्ने अभियानअन्तर्गत प्रहरीले सोमबारसम्म २८ हजार ७ सय २५ घरधुरीमा स्टिकर टाँसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन भट्टराईले जानकारी दिए।

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर १, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जेठ १४ गतेदेखि घर–घरमा सूचना टाँस्ने अभियान थालेको थियो। त्यो अभियानका क्रममा प्रहरीले नागरिकका घर–घरमा पुगेर सूचनामूलक स्टिकर टाँसेका हुन्। प्रहरीले प्रदेश प्रहरी कार्यालय, विराटनगर, संघीय प्रहरी एकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्री नम्बर उल्लेख भएको स्टिकर सर्वसाधरणको घरघरमा टाँसेको हो।

ओखलढुंगाका कुल ३७ हजार ५ सय ३१ घरधुरी रहेको भए पनि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनगणना ०६८ को तथ्यांकभन्दा २ हजार स्टिकर बढी मगाएको थियो। त्यसमध्ये अहिलेसम्म जिल्लाका १८ प्रहरी युनिटले २८ हजार ७ सय २५ घरधुरीमा  स्टिकर टाँसेको हो।

अब ८ हजार ८ सय ६ घरधुरीमा स्टिकर टाँस्न बाँकी रहेको र स्टिकर टाँस्ने अभियान अन्तिम चरणमा पुगेको र अब बाँकी रहेका घरधुरीमा समेत यथाशीघ्र स्टिकर टाँसिने प्रहरी निरीक्षक भट्टराईले बताए। शान्तिपूर्ण र अपराधविहीन समाज निर्माणका लागि प्रहरीले सूचनामूलक स्टिकर टाँस्ने अभियान चलाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.