|

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाले ४२ करोड २८ लाख ८५ हजार ५६५ रुपैयाँका बजेट नगरसभामा पेस गरेको छ। तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेस गर्दै यो बजेट ल्याएको हो। 

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नेपाल सरकारको १५ करोड ५३ लाख ३० हजार, वित्तीय समानीकरण अनुदानअन्तर्गत १२ करोड ३७ लाख र राजश्व बाँडफाट ६ करोड १० लाख रकम रुपैयाँ नगरपालिकाले प्राप्त गर्ने नगरसभाले जनाएको छ। 

नगरपालिकाले आन्तरिक राजश्वतर्फ ५० लाख, सामाजिक सुरक्षातर्फ ४ करोड ८० लाख, साना सिंचाई परियोजना तर्फ ३६ करोड ८१ लाख २९५ र युनिसेफको सशर्त कार्यक्रमतर्फ ५६ लाख ४९ हजार २७० बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १३ लाख ७८ हजार र नगरपालिकाको २०७४/०७५ को बजेटबाट एक करोड ३७ लाख ८ हजार नगरपालिकाको आम्दानी हुने अनुमान गरिएको नगरपालिका उपप्रमुख बिजया बिष्टले बताइन्। ‘आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट खर्च नगरसभामा पेश गरेका छौं।’ उनले भनिन्,‘यो नगरसभामा आय हुने अनुमान गरिएको बजेट नै पेश गरेका छौं।’

नगरपालिकालको कृषि क्षेत्रमा एक करोड, पशु क्षेत्रमा ४० लाख, स्वास्थ्य क्षेत्रमा एक करोड ७० लाख, वन क्षेत्रमा २० लाख, पूर्वाधार क्षेत्रमा ८ करोड, शिक्षा क्षेत्रमा एक करोड ५० लाख, नगरका गौरवका आयोजनाहरुमा एक करोड ५० लाख, नगरका अन्य सेवामा क्षेत्रमा एक करोड, सशर्त तथा गैससहरूका कार्यक्रममा ३० करोड, चालु खर्च ७ करोड र आन्तरिक राजश्व आयमा एक करोड अनुमानित बजेट छुटाएको नगरपालिका प्रमुख जशीप्रसाद पाण्डेले बताए। ‘हामीले बिभिन्न सेवा क्षेत्र निर्धारण गरेर बजेट बिनियोजन गरेका छौं।’ उनले भने, ‘नगरभित्रका आवश्यकता क्षेत्रमा मात्र बजेट बिनियोजन गरिएको छ।’

आन्तरिक राजश्व उठाउने लक्ष्य ३५ लाख उठ्यो १० लाख

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ३५ लाख राजश्व उठाउने लक्ष्य राखेको भए पनि १० लाख मात्र राजश्व उठाएको नगरपालिकाले जनाएको छ। 

जनप्रतिनिधिको तलव पनि छुटाइयो

आर्थिक वर्ष २०७५/०७६ बजेटमा नगरपालिकाले जनप्रतिनिधिको तलवमा बजेट पनि छुटाएको छ। जनप्रतिनिधिहरूको तलवमा नगरपालिकाले एक करोड ७५ लाख रुपैयाँ बिनियोजन गरेको हो।

 ११ वडा वडा रहेको खाँडाचक्र नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्यहरूलाई तलबमा बजेट बिनियोजन गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंज्ञेनीले बताए। ‘प्रदेश सरकारले तोकेको जनप्रतिनिधिहरूको तलबका आधारमा यहाँ बजेट बिनियोजित गरेका छौं।’ उनले भने, ‘जनप्रतिनिधिहरूले आगामी साउन १ गतेबाट तलव पाउने छन्।’ नगरपालिकाका प्रमुखले मासिक ३५ हजार र उपप्रमुखले ३० हजार र नगरपालिकाका वडाध्यक्षलाई मासिक २० हजार तलब पाउनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.