|

ओखलढुंगा :  चम्पादेवी गाउँपालिकाको एक विद्यालयमा दुई  मात्रै विद्यार्थी छन्।  चम्पादेवी– ५ को शितल जलदेवी आधारभूत विद्यालयमा अहिले ३ वटा कक्षामा दुई विद्यार्थी मात्रै अध्ययनरत छन्।

२०४८ सालमा स्थापित विद्यालप्रति पछिल्लो समयमा विद्यार्थीको आकर्षण घटेको छ। सामुदायिक स्कुलप्रति अभिभावकको विश्वास बढ्न नसकेपछि त्यसको मारमा शितल जलदेवी आधारभूत विद्यालय पनि परेको छ। गत वर्षसम्म २८ जना रहेको विद्यालयमा यो वर्ष विद्यार्थी संख्या ह्वात्तै घटेको हो।  नजिकै निजी स्कुल स्थापना भए पछि विद्यार्थी सबै त्यतै गएको विद्यालयका प्रधानाध्यापक मीनबहादुर गिरीले बताए। 

हरेक वर्ष निरन्तर विद्यार्थी संख्या घट्दै गए पछि सरकारी विद्यालयमा केही वर्ष पछि विद्यार्थी संख्या शून्य हुने चम्पादेवी–१० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकीले बताए। निजी विद्यालयसँग सरकारी विद्यालयको प्रतिस्पर्धा गराउन गाउँपालिकाले पालिका स्तरीय शैक्षिक पात्रो निर्माण गरी एकै समय तालिकामा अतिरिक्त क्रियाकलाप, परिक्षा, बिदा एवं थप १०० पूर्णांकको पाठ्यक्रम निर्माण गरी लागू गर्ने अन्तिम तयारीमा रहेको गाउँपालिकाका सबै विद्यालयमा एउटै पोशाक, जुत्ता, कार्ड, टाई,बेल्ट र झोलाको प्रयोगको गरिएको  गाउँ शिक्षा समीतिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। 

विद्यार्थी नभएपछि स्थानीय तहबाट विद्यालय गाभ्ने वा खारेज गर्ने भन्ने बारेमा केही निर्णय नहुँदा प्रअ गिरीले जम्मा दुई छात्र छात्रालाई पढाएर मासिक ३० हजार पाँच सय रुपैयाँ बुझ्दै आएका छन्। त्यसो त गिरी खुशी छैनन्। ‘गत वर्ष १५ विद्यार्थीलाई मात्रै पढाएँ। अहिले दुई जना छन्।  खुशी लाग्दैन। स्थानीय तहको निर्णय कुरेको बसेको, खै केही अत्तोपत्तो छैन’, उनी भन्छन्। विद्यालयमा दुई शिक्षकको दरबन्दी छ भने एक कार्यालय सहयोगी छन्।

स्थानीय अभिभावक विद्यालयको व्यवस्थापनको अभाव र गुणस्तरीय शिक्षा हुन नसक्दा छोराछोरीलाई बोर्डिङ स्कुल खोजेर भर्ना गर्नु परेको बताउँछन्। ‘स्कुलको स्तरोन्नतिका लागि स्थानीय बुद्धिजीवी, अभिभावकको भेलाबाट अघि बढाउने धेरै प्रयास भए। तर अभिभावक नै इमानदार देखिएनन्’,वडा ५ का अध्यक्ष कृष्णबहादुर खत्री भन्छन्, 'छोराछोरी नै नपठाएपछि विद्यालयको भौतिक व्यवस्थापन र अन्य पक्षमा लगानी गर्न गाह्रो भयो। अभिभावकको रुचि नै बोर्डिङ स्कुलमा देखिएपछि विद्यालयमा विद्यार्थी संख्या घट्यो।’

भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको बारेमा स्थानीय अभिभावकको भेला गराएर आवश्यक पूर्वधार थपेर अघि बढ्न निष्कर्ष निकाले पनि अभिभावकले छोराछोरी विद्यालय नपठाएपछि समस्या देखिएको उनले  बताए। गाउँपालिकाको १० वटा वडामा ४२ वटा विद्यालय रहेको गाउँ शिक्षा समितीका सदस्य उज्जन बुढाथोकीले बताए। बुढाथोकीका अनुसार शितलदेवी आधारभुत विद्यालयलगायतका केही विद्यालय गाभ्नुपर्ने अवस्थासमेत रहेको छ।  ४२ मध्ये एक क्याम्पस, सात मावि र ३४ आाधारभूत विद्यालय हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.