|

संखुवासभा : जिल्लाका विभिन्न विकास निमार्णमा दाताहरूबाट आएको अनुदान रकम खर्च हुन सकेको छैन। तोकिएको समयमा काम नसक्दा करिव १५ करोड १३ लाख ४६ हजार रुपैयाँ खर्च हुन नसकेको हो। जिल्लाका विभिन्न स्थानमा सञ्चालित सडकको स्तरारोन्नती र पुल निर्माणमा प्राप्त उन्नती परियोजनाबाट आएको अनुदान रकम खर्च हुन नसकेको हो।

थोदुङ कुन्सालीङ निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समय सीमाभित्र जिम्मेवारी पूरा गर्न नसक्दा अनुदानको सदुपयोग हुन नसकेको हो। चैनपुर—नुनढाकी सडकको स्तरोन्नती गर्न छुट्याइएको बजेटमा चार करोड ९२ लाख ६४ हजार ९७६ रुपैयाँ खर्च हुन सकेको छैन। निर्माण कम्पनीले २०१६ मे १५ मा सम्झौता गरी २०१७ अगष्ट १४ मा काम सम्पन्न गर्ने जिम्मेवारी लिएको थियो। तर विभिन्न कारण देखाउँदै समय थपको माग गरेपछि २०१८ जुन ३० सम्म समय थप गर्दा पनि काम सम्पन्न नगरेको हो।

२० किलोमिटर सडकको ग्राभेलसहित स्तरोन्नती गर्ने जिम्मेवारी लिए पनि उसले ७० प्रतिशत मात्र काम सम्पन्न गरेको छ। साढे नौ किलोमिटर ग्राभेल र तीन किलोमिटर सोलिङको काम मात्र सम्पन्न गरेको हो। सो सडकका लागि ११ करोड ७२ लाख ९७ हजार ५६४ रुपैयाँ रकममा ठेक्का लागेको थियो।

त्यसैगरी मंगलादेवीथानदेखि माल्टासम्मको आठ किलोमिटर सडकको स्तरारोन्नती गर्ने जिम्मेवारी दिएको सिवाको स्वामिनारायण कम्पनीले पनि ७५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। छ करोड ८८ लाख छ हजार पाँच सय रुपैयाँको बजेटमा दुर्इ करोड २२ लाख ३१ हजार ३८० रुपैयाँ खर्च हुन नसकेको हो। सिवाकोले दुर्इ सय मिटर सडक मात्र ग्राभेल गरेको छ।

जिल्लामा नै पहिलोपटक यस सडकमा ग्राभेल वाइनडिङका लागि एडमिक्चर केमिकल प्रयोग गरिएको थियो। ग्राभेल गर्दा केमिकल लगाउने हुनाले सडक गुणस्तरीय हुने आशा गरिएको उन्नतीका इन्जिनियर शशीकुमार यादवले बताए। सिवाले अन्य कामहरू सके पनि केमिकल अभावमा ग्राभेलको काम गर्न नसकेको इन्जिनियर यादवको भनाइ छ।

त्यस्तै भ्याङ्खोला–तम्बे सडक खण्डको निर्माण कार्य ४२ प्रतिशत मात्र सम्पन्न भएको छ। १२ करोड ६७ लाख २७ हजार रुपैयाँको लगानीमा स्तरोन्नतीसहित १५ किलोमिटर ग्राभेल गर्नु पर्ने हो। यस सडक स्तरोन्नतीको सात करोड ९२ लाख ९३ हजार ४५९ रुपैयाँ खर्च हुन सकेन। निर्माण कम्पनी कोसी एण्ड न्यौपाने खाम्पाचे जोईन्ट भेन्चरले २०१८ मार्च २२ सम्ममा काम सक्ने जिम्मा लिएको तर थप समय जुन ३० सम्ममा पनि ४२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ।

यता उन्नती परियोजनाद्वारा पिलुवा खोलामा निर्माणाधीन पुलको पनि ५५ लाख छ हजार ९७३ रुपैयाँ बजेट खर्च हुन सकेको छैन। इलाट जोशी निर्माण कम्पनीले २०१८ फेब्रुअरी १९ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी २०१७ नोभेम्बर ९ मा सम्झौता गरेको थियो। ३० मिटरको ट्रष्ट ब्रिजमा आरसीसी ढलान गर्ने गरी दुर्इ करोड २० लाख २७ हजार ८९१ रुपैयाँमा निर्माण सम्झौता गरेको हो। समयमा काम सम्पन्न नगरेपछि गत जुन ३० सम्मको सय थप गर्दापनि ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ। चैनपुर र नुनढाकीलाई जोड्नका लागि सो पुलको निर्माण कार्य सुरु गरिएको थियो।

उन्नतीले च्यालेन्ज फण्ड अन्तर्गत चिया, अदुवा, डेरी र अलैंची प्रसोधनका लागि कृषकलाई पूर्वाधार निर्माण, मेसिन उपकरण खरिदका लागि करिव डेढ करोड अुनदान दिएको छ। स्थानीय स्तरका कृषि उत्पादनलाई टेवा पुर्‍याउनको लागि तीनवटा सडक र एउटा पुल निर्माणका लागि उन्नति परियोजनाले अुनदान सहयोग दिएको थियो। किसानले उत्पादन गरेका अलैँची, दूध, अदुवा र चिया लगायतका कृषिजन्य उत्पादनलाई बजारसम्मको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ सडकको स्तरोन्नती र पुलको निर्माण कार्य थालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.