|

इटहरी निवासी पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ १३ वर्षअघि सन् २००५ मा भएको साफ च्याम्पियनसीपअन्तर्गत भएको खेलमा गरेको गोल उनको दिमागमा अहिले पनि ताजै छ। किनकि उनले इटहरीबाट राष्ट्रिय टिमका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सुरेन्द्रपछि रितेश थापाले इटहरीबाट राष्ट्रिय फुटबल टिममा आफ्नो स्थान बनाए।

त्यसो त इटहरीमा फुटबलबाहेक भलिबल, क्रिकेट र एथलेटिक्सलगायतका अन्य खेलमा पनि उत्तिकै सक्रिय रहँदै आएको छ। तर अन्य क्षेत्र जस्तै इटहरीले कुनै चमत्कार गर्न भने सकेन। इटहरीलाई सम्झिरहने कारण भने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हो, जसले इटहरीको खेलकुदमा नयाँ आयाम ल्यायो। 

सीमित भौतिक पूर्वाधारमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल आयोजना गरिएपछि विवादमा तानिए पनि पूर्वाधार निर्माणमा अहिले इटहरी लोभलाग्दो तरिकाले अघि बढेको छ। यसका कारण इटहरी अब स्पोर्ट्स सिटीको रूपमा आफ्नो नयाँ परिचय स्थापित गर्न तल्लीन छ।

स्पोर्ट्स सिटीको रूपमा उदाउँदै इटहरी

खेलकुदका लागि एकपछि अर्को लगानी हुँदै आएपछि तथा राष्ट्रिय खेलकुद परिषद्ले नै विशेष प्राथमिकताका साथ सहयोग गरेपछि इटहरीलाई स्पोर्ट्स सिटीको रूपमा विकास गरिँदै छ।

अहिले पूर्वाधारहरूमा ठूलो लगानी भइरहेकाले इटहरी विस्तारै स्पोर्ट्स हव बन्ने पक्का छ। राखेप सदस्य सचिव केशवकुमार विष्टको पनि इटहरीमा विशेष लगाव रहेको देखिन्छ। त्यसैले पनि उनी इटहरीको खेलकुद विकासमा आवश्यक भौतिक संरचनाका लागि ठूलो चासो दिइरहेका छन्। त्यसो त विष्ट इटहरीबासी भएकै नाताले पनि उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अहिलेसम्म खेलकुदका लागि इटहरीको पहिचान स्थापित गर्ने प्रयास गरिरहेका छन्।

सुनसरीको धरान पर्यटकीय शहर, विराटनगर औद्योगिक शहरको रूपमा चिनिने तर इटहरीको आफ्नो छुट्टै परिचय नभएकाले अब इटहरी स्पोर्ट्स सिटीको अवधारणाअनुसार अघि बढ्ने विष्टको भनाइ छ। 

भौतिक संरचनामा करोडौँ लगानी

इटहरीमा रहेको क्षेत्रीय रंगशालाभित्र आउटडोर र इनडोरका विभिन्न खेलका एक दर्जन बढी प्रतियोगिता एकैपटक आयोजना गर्न मिल्ने गरी भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको क्षेत्रीय रंगशालाभित्र विभिन्न खेलका संरचनाहरू बन्ने क्रमले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टका अनुसार इटहरी रंगशालालाई अन्तर्राष्ट्रियस्तरको भिआइपी रंगशाला बनाउन थप १८ करोड रुपैयाँ बजेट विनियोजन गर्दे निर्माणको सम्झौता अन्तिम चरणमा पुगेको छ।

रंगशालाभित्र अहिले राष्ट्रिय प्राथमिकताभित्रका १५ खेललाई पूर्वाधार तयार भइरहेको छ। बाँकी चारवटा खेलका लागि संरचना निर्माण चाँडै सुरु हुने विष्टले बताए। रंगशालामा तेक्वान्दो भवन निर्माण सम्पन्न भएको छ। रंगशालाको उत्तरपूर्वमा बनेको दुई हजार दर्शक क्षमताको तेक्वान्दो हलको सम्पूर्ण काम सकिएर केही प्रतियोगिता पनि भइसकेका छन् । तेक्वान्दो भवन एक करोड ९० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। एथलेटिक्स, फुटबललगायतका प्रतियोगिता हेर्न दर्शकका लागि अहिले मैदानको उत्तरपूर्वदेखि दक्षिणपश्चिमसम्म १२० मिटर पूर्ण रूपमा तीन स्टेपको प्यारापिट निर्माण जारी छ। 

मैदानमा दुबो उमारेर गत माघ महिनामा मोफसलकै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी इटहरी गोल्डकप प्रतियोगिताको आयोजना गरिएको थियो। यही मैदानमा आगामी भदौमा २५ लाख रुपैयाँ पुरस्कार राशिको दोस्रो संस्करणको मदन भण्डारी गोल्डकप आयोजना गर्ने तयारी छ।

आर्थिक वर्ष २०७४/०७५ का लागि नगरपालिकाले ४० लाख रुपैयाँ यसका लागि बजेट छुट्याएको थियो। यस आर्थिक वर्षमा मेयरकप राष्ट्रिय भलिबल प्रतियोगिता गरिएको र फुटबल, क्रिकेट र अन्य खेलका लागि सहयोग गरिएको चौधरीको भनाइ छ।

ब्याडमिन्टन कोर्टको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पाँच कोर्ट रहने हलको लम्बाइ १४६ फिट छ भने चौडाइ ८६ फिट छ । त्यस्तै, ६८ लाख रुपैयाँ लागतमा दुईवटा कोर्टमा प्रतियोगिता र एउटामा अभ्यास खेल खेल्ने गरी आउटडोर भलिबल कोर्टको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। भलिबल कोर्टकै नजिक ११ करोड रुपैयाँको लागतमा भलिबल एकेडेमीको समेत निर्माण सुरु भएको छ। मैदानको पश्चिम भागमा ११ करोड रुपैयाँमा निर्माण हुने भिआइपी प्यारापिटको समेत टेण्डर प्रक्रिया सुरु भएर काम अघि बढिसकेको छ।

क्रिकेटको इनडोर प्राक्टिसका लागि रंगशालाको पूर्वतर्फ भवन निर्माणको कामसमेत अन्तिम चरणमा छ। उसु, कराँते भवनको निर्माण सुरु भएको छ। उसुका लागि ६८ लाख रुपैयाँको लागतमा ६० फिट लम्बाइ र ४७ फिट चौडाइको हल निर्माण भइरहेको छ। त्यस्तै, जेष्ठ नागरिकका लागि योगालगायतको प्रशिक्षणका लागि एक करोड रुपैयाँको लागतमा दुई तले भवन निर्माण भइरहेको छ।

खेलाडीका लागि होस्टल भवनको समेत निर्माण प्रक्रिया अघि बढिसकेको छ। बाहिरबाट आउने र नियमित प्रशिक्षणमा बस्नुपर्ने खेलाडीलाई मध्यनजर गर्दै होस्टलको व्यवस्था गरिएको हो। बक्सिङको हल बनाउने काम पनि सुरु गरिएको र टेबल टेनिस, भारोत्तोलन, बुद्धिचालको संरचना पनि बन्ने क्रममा रहेको सदस्य सचिव विष्टले जानकारी दिए।

उपमहानगर पनि सँगै

स्थानीय तहको निर्वाचनको समयमा खेलकुद हवका रूपमा विकास गर्ने वाचा गरेका राजनीतिक दलहरूले निर्वाचनमा जीतपछि पनि वाचा बिर्सिएका छैनन्। इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफूहरूले यसका लागि आवश्यक सहयोग गरिरहेको बताए। खेलकुदका भौतिक संरचना निर्माणदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गर्ने इटहरीका प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नगरपालिकाले विभिन्न प्रतियोगितामा सक्रियता देखाएको प्रमुख चौधरी बताउँछन्। 

आर्थिक वर्ष २०७४/०७५ का लागि नगरपालिकाले ४० लाख रुपैयाँ यसका लागि बजेट छुट्याएको थियो। यस आर्थिक वर्षमा मेयरकप राष्ट्रिय भलिबल प्रतियोगिता गरिएको र फुटबल, क्रिकेट र अन्य खेलका लागि सहयोग गरिएको चौधरीको भनाइ छ। आर्थिक वर्ष २०७५/०७६ मा खेलकुदका लागि पर्याप्त बजेट छुट्याइएको उनले जानकारी दिए।

राष्ट्रिय प्रतियोगिता निरन्तर

इटहरीमा संरचना निर्माणसँगै ठूला प्रतियोगिता भइरहेकाले पनि विस्तारै इटहरीमा खेल क्रेज बढ्दै गएको छ। पछिल्लो समय इटहरीमा एकपछि अर्को ठूला प्रतियोगिताहरू भइरहेका छन्। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका झण्डै आधा दर्जन खेल इटहरीमा भएयता अन्य विभिन्न प्रतियोगिताहरू पनि निरन्तर भइरहेका छन्। इटहरीमै सर्वाधिक राशिको मदन भण्डारी इटहरी गोल्डकप, प्रथम सांसद कप राष्ट्रिय रात्रिकालीन भलिबल प्रतियोगिता भए। त्यस्तै, इटहरीमै पटक–पटक अन्तर्राष्ट्रियस्तरको फुटबल, भलिबल, तेक्वान्दो, करातेलगायत विभिन्न प्रतियोगिता भइरहेका छन्।

खेलकुदकर्मी उत्साहित

इटहरीमा एकपछि अर्को ठूलो प्रतियोगिता र निर्माण भइरहेका संरचनाले सर्वाधिक खुसी खेलकुदकर्मीहरू नै देखिन्छन्। इटहरीमै अत्याधुनिक क्रिकेटको इनडोर र आउटडोरको भवन अन्तिम चरणमा पुग्दा क्रिकेटमा नयाँ परिचय पाउने विश्वासमा इटहरीबासी रहेका छन्। सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल अब क्रिकेटको शहरका रूपमा समेत इटहरी उदाउने बताउँछन्। त्यस्तै, पूर्वाञ्चल भलिबल संघका अध्यक्ष विश्व धिमाल भलिबललगायत अन्य खेलका ठूला प्रतियोगिता इटहरीमै सम्पन्न हुनु सबैका लागि गौरवको विषय भएको मान्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.