|

बुटवल : रुपन्देही प्रहरीको हिरासतमा ६३ जना छन्। तीमध्ये ४२ जना लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा ७० प्रतिशतजति लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन्। 

जिल्ला कारागार भैरहवामा ४०० कैदीबन्दी मध्ये १५४ जना लागुऔषध मुद्दामा थुनिएका हुन्। यो तथ्यांकले पुष्टि गर्छ, रुपन्देहीमा लागुऔषधको जालो खतरनाक बन्दै गइरहेको छ। बेलहिया नाका प्रयोग गरेर लागुऔषध ओसार्नेमध्ये अधिकांश रुपन्देही बाहिरका छन्। प्रहरीको तथ्यांकअनुसार लागुऔषधसम्बन्धी पक्राउ परेका मध्ये ७० प्रतिशत अभियुक्त रुपन्देही बाहिरका हुन्। ‘कास्की, चितवन, वाग्लुङ, स्याङ्जा, म्याग्दी, पर्वत र काठमाडौंका धेरै युवा रुपन्देहीमा लागुऔषधसहित समातिएका छन्। रुपन्देही प्रहरी प्रवक्ता कुमोद ढुंगेल भने, 'त्यसमध्ये कास्कीका सबैभन्दा धेरै छन्।’ यो अर्को प्रमाण हो। रुपन्देहीको बेलहियाको बाटो भएर लागुऔषध पोखरासम्म पुग्छ। त्यसरी लागुऔषध ओसार्नेमा १४ वर्षे बालकदेखि ४८ वर्षे अधवैसेसम्मका छन्। 

‘प्लस टु पढ्नेदेखि इन्जिनियरिङ पढ्नेहरू पनि लागुऔषध ओसार्नेमा भेटिए,' प्रवक्ता ढुंगेल भन्छन्,'सीमापारि गएर लागुऔषध सेवन गरेर लठ्ठिदै फर्किनेहरू त कति छन् कति।’ त्यस्ता युवालाई प्रहरीले आफन्तको जिम्मा लगाउने गरेको छ। चालु वर्षमा मात्रै रुपन्देही प्रहरीले ३ सय २५ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको उनले बताए। रुपन्देहीका सीमावर्ती भारतीय बजार सुनौली र नौतनवामा नेपालमा प्रतिबन्धित औषधिजन्य लागुऔषध र ब्राउन सुगर खुला किनबेच हुन्छ। सीमापारि सजिलै पाइने लागुऔषध अनेक उपाय अपनाएर नेपाल प्रवेश गराउन र त्यसको किनबेच गर्न रुपन्देही सजिलो नाका बनेको छ। 

सीमापारिका औषधि पसलहरू नेपालमा लागुऔषध बिक्री गर्ने मुख्य अखडा हुन्। ती पसलहरूमा स्पास्मो, नाइट्रोसन, डाइजेपाम, फेनरागन, नुफिन, लुपिजेसिक, कोरेक्स, टिडिजेसिक जस्ता औषधिजन्य लागुऔषध चिकित्सकको सिफारिश बिना नै बिक्री हुँदा नेपालमा ल्याउन सजिलो भएको छ। त्यसमाथि खुला सीमानाकाका कारण सजिलोसँग लागुऔषध नेपाल भित्रिन्छ। त्यसका लागि भारतीय सुनौली बजार, आसपासका गाउँहरू फरेना, कैलाशनगर, कालीमन्दिर सजिला प्रवेशमार्ग हुन्। ‘पारी सुनौलीका औषधि पसलमा सजिलै औषधीजन्य लागुऔषध पाइन्छ। 

लागुऔषध नियन्त्रण व्युरो भैरहवाका प्रहरी निरीक्षक कोशिसबाबु जोशीले सुनाए, 'ती पसलका सञ्चालकले फोनबाट अर्डर लिएर भैरहवा र बुटवलसम्म पुर्‍याउने गरेको समेत हामीले पायौं। खुला सीमाका कारण कहाँबाट कसरी जान्छन्। फेला पार्न सकिदैन।’ अर्को अचम्म लाग्दो कुरा त के छ भने प्रहरीले अहिलेसम्म पक्राउ गरेकामध्ये लागुऔषध कारोबारी भन्दा भरिया बढी छन्। 

लागुऔषध व्युरोले पनि भरियाबाहेक कारोवारी पक्रिन सकेको छैन। ‘यो रोक्नका लागि भारतीय पक्षसँग छलफल गरेर चिकित्सकको आधिकारिक पुर्जीविना औषधि नदिने नियम बन्न सके मात्रै हो। प्रहरी प्रवक्ता ढुंगेल भन्छन्, 'त्यसका लागि स्थानीय स्तरको पहलले मात्रै पुग्दैन।’ उनका अनुसार स्थानीय स्तरमा नेपाली पक्षको भारतीय सुरक्षाकर्मीसँगका छलफलका क्रममा यस्ता विषय उठे पनि कार्यान्वयनको पक्ष भने फितलो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.