संखुवासभा : सभापोखरी गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सभापोखरीमा वर्षौदेखि भेटी संकलन हुन सकेको छैन। दर्शन गर्न विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले चढाएको भेटी संकलन नहुँदा लाखौँ रूपैयाँ खेर गइरहेको छ।
पोखरीका पुजारी बाबुराम अधिकारीका अनुसार त्यस पोखरीको दर्शन गर्न हरेक वर्ष ४ हजार भन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटक यहाँ अायने गरेका छन्। तीर्थयात्रीहरूले चढाएको पैसा कुनै पनि निकायले संकलन गर्ने गरेका छैनन्।
२०१५ सालदेखि सो पोखरीमा पुजारी रहेका अधिकारीका अनुसार दैनिक आउने भक्तनजले चढाएको पैसा संकलन गर्न हालसम्म कुनै पनि समिति बनेको छैन, एकपटक बनेको समितिले पनि भेटी संकलन नगरी त्यसै छाडेको छ।
'आफ्नो काम सिद्ध भएपछि भक्तजनले विभिन्न धातुका पैसा र गरगहनासमेत पोखरीमा छाडेर जाने गरेका छन्',अधिकारीले भने, 'मैले कसैले दिए मात्र लिने हो।चढाइएका पैसा र अन्य सामग्री वास्ता गर्दिन।'
पोखरीमा भेटीमात्र नभई फोहोरको थुप्रो समेत लाग्न थालेको छ। दैनिक पुग्ने भक्तजनहरुले प्रयोग गरेका प्लाष्टिकहरु जताततै छरपष्ट छन्। कतिपय श्रद्धालुले लुगा कपडा पनि त्यहीँ फाल्ने गरेका छन्। सभापोखरी पुगेका माधव सापकोटाका भन्छन्, ‘म चार पटक यो पोखरीको दर्शन गर्न आए पहिले भन्दा फोहोर झन् झन् बढ्दै गएको छ।’
पोखरीको आसपासमा दर्शनार्थी बस्नको लागि दुई वटा पार्टी बनिसकेका छन् भने एउटा पाटी निमार्णधीन अवस्थामा छ। दर्शनार्थीहरु आफै पुगेर पाटी बनाएको भए पनि ट्वाइलेट बनाउन तर्फ भने तिनिहरुको ध्यान जान सकेको छैन। पोखरी क्षेत्रमा शौचालय नहुँदा भक्तजनहरू पोखरीको वरिपरि खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन्। सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ।
सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो। त्यस पोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरु पुग्ने गरेका छन्। किंवदन्तीअनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनाश रोक्न देवताहरूले यहाँ सभा बसी योजना बनाएका थिए। अर्को किवंदन्तीअनुसार व्यासमुनिले सम्पूर्ण देवीदेवतालाई भेला गराएर पुराण भनेका थिए। सन्तान नहुनेहरूले यहाँ पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरू यहाँ पुग्ने गरेका छन्।
यो तालको लम्बाइ २०० मिटर र चौडाइ करिब १०० मिटर छ। समुद्र सतहदेखि ४ हजार २४० सय मिटर उचाइ छ। गाँउपालिकाको नामसमेत यसै पोखरीबाट राखिएको छ। यो पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भए पनि संरक्षणमा हालसम्म कसैले चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन्।
बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएको उनीहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।