|

बैतडी : ‘हामी नेपाली स्वेदशमा मिहिनेत गर्दैनौँ, विदेश गएर पछुताउँछौँ’, चार वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका बैतडीका हर्कसिंह भण्डारीको भनाइ हो यो। दोगडाकेदार गाउँपालिका- ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममा चार वर्षमा काम गरेर नेपाल फर्किएका थिए। विदेशमा धेरै दु:ख कष्ट गरेर चार वर्ष बिताएका भण्डारीले अहिले नेपालमा आफ्नै गाउँमा व्यवसाय संचालन गरिरहेका छन्।

विदेशबाट फर्केर भण्डारीले श्रीमती पार्वती भण्डारीको सहयोगमा एकैसाथ कुखुरापालन, माछापालन, बाख्रापालन र गाउँमै खुद्रा पसल संचालन गरिरहेका छन्। ३० वर्षीय भण्डारीले अब भुलेर पनि विदेश कहिल्यै नजाने सोच बनाएका छन्। विदेशमा गर्ने मिहिनेत आफ्नै भूमिमा गर्‍याे भने सुनै फलाउन सकिन्छ', उनले भने, ‘जुन मिहिनेत, दु:ख कष्ट विदेशमा गर्छौं, त्यो मिहिनेत स्वदेशमै गर्‍याैँ भने नेपालमै सबै कुरा सम्भव छ।’ 

वि. सं. २०६६ मा रोजगारी गर्नका लागि २१ वर्षको उमेरमा विदेश पसेका भण्डारीले त्यहाँ गएर निकै दु:ख गरे। 'विदेशी भूमि, मलेसियाको गर्मी, पोल्ट्री फर्मको काम, मालिकको आदेश, न्यून तलब सम्झिँदा अझै पनि श्वास रोकिन्छ', भण्डारीले विदेशी भूमिमा काम गर्दाकाे आफ्नो भोगाइ सुनाए, ‘आफ्नो घरपरिवार सबैको माया मारेर साहुको ऋणको भारी बोकेर विदेसिएँ। चार वर्षपछि घर फर्किंदा न पैसा कमाइयो, केवल साहुको ऋण तिर्नमै ठिक्क भयो विदेशमा कमाएको पैसा।’ मलेसियामा कमाएको मासिक नेपाली १० हजार रुपैयाँमा चार वर्ष गुजारेका भण्डारीलाई ती चार वर्ष काट्नसमेत निकै गाह्रो भएको थियो। उनी भन्छन्, 'युवा विदेश नजाऊ बरु आफ्नै देशमा पसिना बगाऊ। नेपालमै विदेशमा कमाउन सकिने पैसा कमाउन सकिन्छ।'  

आँखाबाट आँसु झार्दै उनले भने, ‘विदेशमा आफ्नो भन्ने कोही थिएन। बिरामी हुँदासमेत बोल्ने मान्छे कोही हुँदैनथ्यो।’ उनले देशमा रोजगारीको सिर्जना नहुँदा युवा विदेसिन बाध्य भएका बताए। कोहीकोही विदेश जाने बेला सुरुमा हौसिने भए पनि त्यहाँ पुगेर काम सुरु गर्दा विदेश किन आएँ भन्ने लाग्ने गरेको उनको अनुभव छ।मलेसियामा पोल्ट्री फर्ममा काम गरेका भण्डारीलाई काम सुरु गरेको छ महिनासम्म निकै दु:ख गरे। काम सुरु गरेको छ महिनासम्म त आत्महत्या नै गरौँ कि भनेर सोचेको संझिँदै उनले भने, ‘दु:ख गरे एक दिन अवश्य सुख मिल्छ भन्ने सोच आयो अनि मनलाई कन्ट्रोल गरेँ।’ नेपालमा जसको सरकार आए पनि स्वदेशमै रोजगारी दिने खालको कार्यक्रम नहुँदा हजारौंँ युवा विदेसिन बाध्य भएको उनकाे बुझाइ छ।

स्थानीय तहकाे निर्वाचनका बेला भोटका लागि मात्रै नेताले थुप्रै आश्वासन दिने र चुनाव जितिसकेकेपछि वास्ता नगर्दा युवाको विदेसिनुपर्ने अवस्था आएको उनको भनाइ छ। आफूले जिते घरघरमा रोजगारी, विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने नेताहरूले जितिसकेकेपछि गाउँका मुखसमेत नदेखाउने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ। 'देशमा रोजगारीको सिर्जना भए म जस्तै विदेश गएर दु:ख गर्नुपर्ने अर्थात् पछुताउनुपर्ने  थिएन', भण्डारीले भने, ‘सानोठूलो, सुखदु:ख स्वदेशमै हुन्थ्यो।’

विदेशबाट फर्केको केही दिनमै गाउँमै खुद्रा पसल थापेका भण्डारीले केही महिनामै कुखुरापालन सुरु गरेका थिए। त्यसपश्चात् हाल आएर माछापालन र बाख्रापालन व्यवसायसमेत गरिरहेका छन्। भण्डारीलाई उनकी श्रीमती पार्वती भण्डारीले पनि निकै सघाइरहेकी छन्। श्रीमानश्रीमती दुवै मिलेर बैतडीको दोगडाकेदार गाउँपालिका- ६ खौलाबजारमा व्यवसाय संचालन गरिरहेका छन्। 

आफ्नै देशमा दु:ख गरे मनग्य कमाइने भण्डारीको भनाइ छ। विदेशमा सोचेजस्तो कमाइ नभएर चिन्तामा थियो- नेपालमा के कसो गर्ने भनेर तर अहिले आएर व्यवसाय सुरु गरे राम्रो कमाइ हुँदै छ। उनले भने, ‘मलेसियामा पोल्ट्री फर्ममा काम गर्दा नै फर्केर कुखुरापालन गर्छु सोचेको थिएँ।’

‘कुखुरापालन, माछापालन, बाख्रापालन तथा खुद्रा पसलबाट हाल मैले मासिक ३० हजार रुपैयाँजति कमाउने गरेको छु। नेपालमै विदेशको भन्दा राम्रो आम्दानी गरिराखेको छु', उनले भने, ‘अब त नेपालमै व्यवसाय गरेर केही राम्रै प्रगति गरेर उदाहरणीय बन्छु।’ खौलाबजारसम्म पुग्न यातायात तथा विद्युतको सुविधा नहुँदा व्यवसाय गर्न केही असजिलो भएको उनको अनुभव छ। 'दुई घण्टा लगाएर पन्ज्यु नयाँ सडकसम्म पुगिन्छ’, उनले भने, ‘सडक सुविधा तथा विद्युत पुग्यो भने अझै व्यवसाय फस्टाउने थियो।’ 

गरिबीका कारण पैसा कमाउन वैदेशिक रोजगारीमा मलेसिया गएका श्रीमान पैसा कमाउन नसकेर फर्केपछि श्रीमती पार्वतीलाई पनि व्यवसायमा लाग्ने सोच आयो। यही पैसाबाट अहिले परिवारको गुजारा भइरहेको समेत उनी बताउँछिन्। पार्वतीले भने, ‘पैसा कमाउन विदेश गएका श्रीमान् रित्तो हात आए अनि त हाम्रो व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन। अहिले खुसीसाथ जीवन गुजारा भइरहेको छ।’ 

विदेशवाट फर्केका पार्वतीका श्रीमानले भने, ‘पार्वतीले सोचेको व्यवसायप्रति म पनि खुसी छु, वार्षिक राम्रो आम्दानी छ। अब विदेश जानुको सट्टा श्रीमानश्रीमती दुवै मिलेर यही व्यवसायलाई निरन्तरता दिने सोच बनाएका छाैँ।’ फेरि अर्काको देश नजान श्रीमानलाई सुझाउँदै व्यवसाय संचालन गरेको बताउँदै पार्वतीले भनिन्, 'सँगसँगै काम गरेर आफ्नै देशमा मिहिनेत गरौँ भनेर दुवै जना व्यवसायमा लागेका हाैँ।’

आफूले अहिले गरिरहेको व्यवसायवाट राम्रो गरेर यहाँका अन्य युवालाई समेत रोजगारी दिने भण्डारीले बताए। एक छोरा, एक छोरी रहेका भण्डारी दम्पत्तीले छोराछोरीको लालनपालनसमेत राम्रैसँगै गरिरहेका छन्। 'हामीले गरेका व्यवसायमा स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ', भण्डारीले भने, ‘दोगडाकेदार गाउँपालिकाले माछापालनका लागि ८० हजार रुपैयाँ सहयोग गरेको छ।’ राम्रोसँग व्यवसाय संचालन गरिरहेकाले गाउँपालिकाले सहयोग गरेको उनले बताए। 

व्यावसायिक रूपमा कृषि पेसामा लागेका कृषकलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ। दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने, ‘विदेशबाट फकेर राम्रो व्यवसाय गरिरहेकाले हामीले भण्डारीलाई अनुदान सहयोग गरेका हौँ।’ मासु, अण्डा र फलफूलमा आत्मनिर्भर हुँदै निर्यात गर्नेसमेत गर्नुका साथै आयआर्जनको पाटोलाई जोड दिइएको उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.