|

बैतडी :आज भदौ १ गते अर्थात ओल्के संक्रान्ति। बैतडीसहित प्रदेश-७ (सुदूरपश्चिम) मा हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलावडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हाे। यसका साथै बिहानै धुहाई धुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ। वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। 

यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, द"ध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेकोछ। धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्व रुपमा पनि रही आएको छ भने सिंह संक्रान्ति पनि भन्ने गरिएको छ ।

यो पर्व नेपालको सुदूरपश्चिमका साथै  भारतको कुमाउँ गढवालतिर मनाइन्छ। ओल्के संक्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन्। यो बूढीलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउछ पण्डित पन्तले भने, 'ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका त मुख्य विशेषता हो। ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै नभई संस्कृति, परम्परा र आस्थाको रुपमा पनि चिनिन्छ।'

यो पर्व विशेषमा ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ पठाइन्छ भने आजभोलि अचेल लुगा कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने गरिन्छ पण्डित पन्तले भने, 'गुठियारले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गरिन्छ।' ओल्को परापूर्वकालमा केही वर्ष अघिसम्म ठूलावडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रुपमा समेत रही आएको छ। ओल्के संक्रान्तिताका सतरति (सात रातको झरी) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैंसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभावना र ऋतुमति धर्तीले नविन सिर्जना गर्ने थाल्ने विश्वास रही आएको छ।

प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरू देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नया मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ। 

बुढी हाल्ने 

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा 'बुढी हालेको’ भन्ने गरिएको छ। ओल्के संक्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरू थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्।

गाई गोठालाहरूले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरूबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतना को कथासँग पनि जोडिएकोछ। सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ’बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डित भने 'घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ। घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ।' 

यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग व्याधीबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ। भगवान कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाराक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रुप पैदा भएको तथा मरेको लाशलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा टुक्रा पारेको दिनको सम्झनामा भदाै १ गते अाज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ। 

बत्ती बाल्ने महिनाको समापन 

सुदूरपश्चिममा साउन १ गतेबाट सुरू भएको बत्ती बाल्ने महिनाको बिहीबार समापन भएको छ। धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ। साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ। 

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए। उनले भने 'साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवी देवता सुत्ने गर्दछन्। हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।' शयन गरेका बेला बत्ती बालेपछि देवी देवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ।

साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवी देवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ। यसअघि बैतडीका विभिन्न स्थानमा खिर पुजा समेत गेरका थिए। साउन १ गते बाट सुरू भएको पूजा आजा साउन १५ गते मठमन्दिरमा विशेष पूजा आजा गरी खिर पूजा गर्ने गरिन्छ। जिल्लामा रहेका रौलाकेदार, सिगास, ग्वाल्लेक, महारुद्र मन्दिर लगायतका धार्मिकस्थलहरूमा साउन १५ गतेका दिन खिर पूजा गरिएको थियो। 

साउन महिनालाई पवित्र महिना रुपमा पनि मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यसैले यस महिनाभरि खासगरी विवाहितले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन्। साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्। साउनमा महिलाहरू हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन्। यससँगै साउनको महिनादेखि चाड पर्व सुरू भएको समेत मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.