|

केही दिनअघि प्रकाशित समाचारअनुसार काठमाडौं उपत्यकाबासीले दशैंमा ४५ करोड रुपैयाँको खसी, बोका, च्याङ्ग्रामात्रै खाएछन्। यो खाद्य संस्थान र व्यवसायीले गरेको औपचारिक बिक्रीको तथ्याङ्कमात्र हो। उपत्यकाभित्र छरछिमेक वा वल्लो गाउँ, पल्लो गाउँबीच भएको कारोबारको हिसाब कसले राखेको होला? यसैगरी खसी, बोकाबाहेक दशैंमा उपभोग गरिएका कुखुरा, राँगालगायतका पशुको हिसाबकिताब नै छैन। जे भए पनि कतिले शक्तिपीठमा लगेर बलि दिएर मासु खाए त कतिले घरमै काटेर।

यो वर्ष पनि नवरात्र सुरु हुनु अघिदेखि नै विभिन्न सम्प्रदाय, संघसंस्था र व्यक्तिहरूले पशुबलि नदिन आह्वान गर्दै अभियान चलाएका थिए। समग्र मासु खाने विषयलाई नछोई बलि दिएर खानेको उछितो काढ्न पत्रिकामा लेख छापिए। कतिपय एनजीओ र धार्मिक संघसंस्थाले च्याङ्ग्रा किनेर जंगलमा छोडेको खबर पनि आयो। भक्तपुरमा यसैगरी च्याङ्ग्रा किन्न खोज्दा विवाद पनि भयो। विरोध र आलोचनाबीच शाक्त (शक्तिको उपासना गर्ने) परम्पराअनुसार नै सप्तमी, अष्टमी र नवमीका दिन शक्तिपीठहरूमा हजारौं पशुको बलि दिइयो।

नेपाल बहुसांस्कृतिक मुलुक। यहाँ विभिन्न जातजातिका बेग्लाबेग्लै संस्कृति छन्। हिन्दू बहुलता भए पनि यो धर्ममा पनि अनेकौं सम्प्रदाय छन्। कसैले बलि दिन्छन्, मासु खान्छन्। कसैले मासु खाँदैनन्। तिनले बलि दिने कुरै भएन। कसैले देवीदेवतालाई बलि दिँदैनन् तर मासु भने खान्छन्। देवीदेवतालाई दिइने बलिको विविध पक्ष नै नबुझी यसको विरोध गर्नु उचित होइन। अन्धधुन्द रूपमा विरोध गर्नुअघि बलिको व्यावहारिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षबारे बुझ्न जरुरी छ। 

व्यावहारिक पक्ष

नेपालमा रहेका प्रत्येक जाति, समुदायमा आफूले उब्जनी गरेका चीज पहिले देवता र पितृलाई चढाएर मात्र प्रयोग गर्ने परम्परा छ। बर्खामा उत्पादन हुने मकै नागपञ्चमीमा देवीदेवता पितृ र नागलाई चढाएर प्रयोग गर्ने चलन कतिपय जातिमा कायमै छ। हिउँदमा धानबाट बनेको चामल होम गरेर वा देवीदेवतालाई चढाएर न्वागी खाने चलन छ। नयाँ गहुँबाट बनाइएको रोटी कुलदेवतालाई चढाएर खाने गरिन्छ। गाईभैंसी ब्याएर चोख्याएपछिको पहिलो पटकको दूध देवीदेवतालाई चढाउने चलन नौलो होइन। यस्तै खीर वा अन्य नौला परिकार पाक्दा पातमै किन नहोस् देवीदेवतालाई चढाएर खाने चलन सबै समुदायमा छ।

कतिपय संस्कृतिमा जाँडरक्सी पूजाआजामा मात्र होइन अरुबेला पनि छुनु राम्रो मानिँदैन। तर नेपालकै केही संस्कृतिमा जाँड-रक्सीको सगुन नभई कुनैपनि पूजा वा श्राद्ध अगाडि बढ्दैन। कतिपयको श्राद्धमा मासुको नामै लिन नहुने बताइन्छ। यसको विपरीत केही समुदायमा पितृलाई मासु नचढाई श्राद्ध पूरा हुँदैन। दशैंको सन्दर्भलाई हेर्ने हो भने पनि मासु खानेले शक्तिपीठहरूमा बलि दिन्छन्। प्रसादस्वरूप मासु खान्छन्। 

समाजको अध्ययन गर्ने हो भने मानिसले आफू जे खान्छ आफ्ने आराध्यदेवलाई त्यही चढाउँछ। एक अर्थले शक्तिपीठमा बलि दिएको मानिसले आफूले उपभोग गर्नुअघि देवीदेवतालाई चढाएको हो भने अर्को अर्थले देवीदेवतालाई चढाएको बलि प्रसाद मानेर खाएको हो। श्रुति, स्मृतिमा आफूले खाने पदार्थ देव-पितृलाई अर्पण गरेर खानुपर्ने बताइएको छ। हाम्रा समाजमा यस्ता व्यक्तिहरू पनि छन् जो वर्षभरि मासु मुखैमा हाल्दैनन् तर शक्तिपीठ वा कुलदेवतालाई विधिपूर्वक बलि दिएको प्रसाद (मासु) खाने गर्छन्।

यस अर्थले पनि शक्तिपीठमा पशुपंक्षीको बलि दिने र मासु खाने विषयलाई अन्यथा मान्नुपर्ने देखिँदैन। फेरि मन्दिर ‘केका लागि स्थापना गरिएको हो’, ‘त्यसको महत्त्व के छ’ भन्ने बुझ्नुपर्छ। शक्तिपीठहरूमा हजारौं वर्षदेखि बलि परम्परा चल्दै आइरहेका छन्। कुनै सम्प्रदायको प्रभावमा परेर परम्पराको गहिराइ नै नबुझी बन्द गर्नुपर्‍यो भन्ने तर्क गर्नु वा अनावश्यक टिप्पणी गर्नु उपयुक्त होइन। बलि दिने परम्पराले गर्दा मन्दिर दशैंमा जानै नहुने भयो, पर्यटक घटे भन्ने तर्कको सन्दर्भमा श्रद्धालुहरू राम, कृष्ण, बुद्धजस्ता देवदेवीका मन्दिर, चैत्य गएर शान्ति लिन सक्छन्। अथवा बलि प्रक्रिया नचल्ने दिनमा शक्तिपीठ जान सक्छन्।

वैज्ञानिक पक्ष

शास्त्रमा जीवका लाखौं जुनी मानिएका छन्। कीरा फट्यांग्रादेखि बोटविरुवासम्मका जुनी लिनुपर्दछ। लाखौं जुनी पार गरेपछि मात्र मान्छेको जुनी पाइन्छ। विज्ञानतर्फ फर्केर हेर्ने हो भनेपनि पशुपक्षीबाहेक पनि बोटविरुवाहरू पनि सजीवको कोटीमै पर्छन्। अर्थात् तिनमा पनि प्राण हुन्छ। बोल्न कराउन रुन हाँस्न बोल्न, हिँडडुल गर्न सक्दैनन् वा उनीहरूलाई काट्दा प्राणीहरूको झैं रातो रगत आउँदैन भन्दैमा अहिंसा गरेको भन्न मिल्छ? हामी आफ्नो प्राण धान्न खाद्यान्नको बोट काटेर र तरकारी फलफूल काटेर वा भाँचेर खानाको रूपमा प्रयोग गर्छौ। बास कपासका लागि प्रयोग हुने वस्तुहरू पनि बोटविरुवालार्ई हानि नपुर्‍याई वा हिंसा नगरी प्राप्त नै हुँदैनन्। 

प्राणीहरूका झैं यी व्यवहार नदेखाएपनि बीउबाट अंकुराएर टुसा लाग्ने, सूर्यको उपस्थितिमा खाना बनाएर खाने फल लाग्ने, फलबाट पुन बीउ निस्कने जस्ता प्रक्रियाले यिनीहरूमा प्राण रहेको प्रष्ट हुन्छ। वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि बोटबिरुवाहरू पनि सजीव वस्तु हुन्। यिनलाई खाँदा किन हिंसा नमानिएको होला?
पानीको प्रयोग गर्दा वा भोजन तयार गर्दा कतिपय जीवहरू मारिन्छन्। हिजोआज पानी दूषित हुने हुनाले विभिन्न प्रकारका औषधी हालेर किटाणु मारेर पिउने गरिन्छ। चामल, दाल र तरकारीमा लागेका कति किराहरू त नदेखेरै पकाएर खाइन्छन्। वैज्ञानिक तथ्यअनुसार दूधबाट दही बन्न एक प्रकारको किटाणु (ब्याक्टेरिया)को उपस्थिति हुनै पर्दछ। 

शास्त्रीय पक्ष 

महाभारत शान्तिपर्वमा हिंसाविना सर्वसाधारणको मात्र होइन तपस्वीको पनि प्राण अड्दैन भनिएको छ। हात नहुने (खसी बोका आदि) जीवहरू हात हुने (मानिस) को, खुट्टा नहुने (घाँसपात) खुट्टा हुनेहरू (गाई भैंसी) को र अरू स-साना जीव (ब्याक्टेरिया) खुट्टा नहुने (घाँसपात) जीवका आधार हुन्। जीवविना अर्को कुनै जीवको जीवन छैन।(श्रीमद्भागवत महापुराण १/१३/४६)। वैज्ञानिकहरूले भन्ने गरेको ‘इकोसिष्टम’ यो तथ्यसँग पूर्ण रूपमा मेल खान्छ, किनभने जीव नखाई जीव बाँच्दैन। यस प्रक्रियाले नै वातावरणलई सन्तुलित बनाइराखेको हुन्छ। वनस्पतिजन्य पदार्थ वा किराफट्याङ्ग्रा खाने माछा, माछा खाने भ्यागुता, भ्यागुता खाने सर्प, सर्प खाने न्याउरीमुसा ‘इकोसिष्टम’ को चक्रलाई मिलाएर एकै ठाउँमा बसेका देखिन्छन्। देवीभागवतको २६ अध्यायको ३२ औं श्लोकको अर्थ हुन्छ, जो मांसाहारी छ, उसले पशुबलि दिन हुन्छ। राँगो, बोका, बँदेल बलिका लागि विशेष मानिएका छन्।

वैदिक परम्पराअनुसार शास्त्रद्वारा वैध मानिएको पशुलाई विधिपूर्वक बलि दिएर प्रसादको रूपमा मासुको प्रयोग गर्ने गरिन्छ। नेपाली समाजमा कुलदेवताको पूजा, शारदीय नवरात्र आदि अवसरमा शक्तिको उपासना गर्दा विधिपूर्वक बलि दिने विधान छ। महाष्टमीको मध्यरातमा गरिने बलिदानको चर्चा शास्त्रमा विशेष रूपले गरिएको छ। यसैगरी नेवार र कतिपय क्षत्री समुदाय श्राद्धमा मासु प्रयोग गर्दैछन्। वैदिक परम्परामा यज्ञयज्ञादि र श्राद्धमा समेत मासुको प्रयोगबारे बताएको पाइन्छ। मासुकै प्रयोग गर्न नसकेपनि अनुकल्पको रूपमा हिजोआज श्राद्धमा मासुको फुलौरा (बारा) प्रयोग गरिँदै आएको छ। 

आर्थिक पक्ष

मासुकै लागि भनेर नेपालमा कृषकहरूलाई ‘कथित’ आधुनिक पशुपालनतर्फ आकर्षित गर्न थालिएको धेरै वर्ष भयो। एक तथ्यांकअनुसार नेपालमा वर्षेनी झण्डै २० अर्ब रुपैयाँ मासु किन्न बाहिरिने गरेको छ। यसबाट पनि हिन्दू बाहुल्य भएको मुलुकमा ‘मासुमोह’ कत्ति रहेछ भन्ने अनुमान गर्न सकिन्छ। कृषिप्रधान देश भएकाले दशैंको गर्जो टार्नकै लागि खसीबोका जोगाएर राख्ने गरेको पनि देखिन्छ। दशैंका लागि खसीबोका भारत वा तिब्बततिरबाट ल्याइने चलन भएपनि गाउँघरमा पालिएका खसीबोकाले दशैंमा बजारको माग पूरा गर्छ। 

पशुबलि बन्द गर्दा खसीबोका आदि पशुपालन गर्ने हजारौं लाखौं मानिसहरूको आयआर्जनमा कस्तो किसिमको असर पर्ला यो पनि सोचनीय छ। मुलुकमा फस्टाइरहेको कुखुरा, बाख्रा, बगुंरपालन आदि व्यवसाय के होला? मन्दिर वा शक्तिपीठमा बलि रोक्दैमा मानिसले मासु खान छोड्ला? अर्बौंको मासु खपत हुने मुलुकमा दशैंमा मात्र बलिप्रथा र मासु खाने पक्षको विरोध गर्नुको रहस्य के होला?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • bali prata hatayema garib janata lai kehi rahat milthyo. bivinna chad parbama saki nasaki khasi boka dhalnu parne badhyata pardaina thiyo. aafno haisiyet anusar pasal gayera masu kinera khala. tara bali prathale garda rin liyera vayapani khasi boka katchan. Samaj lazzaspad nahuna, aafantale natagotale nicha nadekhawos vanera.