|

बैतडी : लगातारको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका- ३ सिल्लका जनक चन्दको घर जोखिममा परेको छ। खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो। 

स्थानीय सरकार आएपछि विकासको आशा गरेका बैतडीका नागरिकले झनै विपत्ति झेल्नुपरेको छ। विकासको नाममा मापदण्डविपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन्। जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन घुमाएका डोजरको वितन्डा पहिलो वर्षातमै देखिन थालेको छ। जिल्लाका धेरै स्थानीय तहमा पहिलो वर्षातमै खनिएका सडक भत्किएर भताभुंग भएका छन् भने सडकमुनितिरका बस्ती पहिरो र बाढीको जोखिममा परेका छन्। 
मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्गमाथि र मुनितिर खनिएका सडकले समेत बस्ती जोखिममा परेका छन्। दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जाने सडकका कारण खिरेगाउँको बस्ती जोखिममा परेको छ। 

प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एक्साभेटर जस्ता हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपतको जोखिम बढाएको दोगडाकेदार– ३ श्रीकोटका हेमराज गिरीले बताए। सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासिने, भूक्षय हुने, नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ। उनले भने, ‘भूसंवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुसी खनेका सडक विपतको प्रमुख कारण बनेका छन्।’ 

यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्र्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापनमा ध्यान नदिँदा पहिरोको समस्या बढेको हो।

अविरल वर्षाले डिलासैनी गाउँपालिका- ३ मा खहरेखोलामा बाढी आयो। खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीयको २०० रोपनी जमिन बगरमा परिणत भएको स्थानीय हरमल रानाले बताए। कलदे खोलासिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन्। ‘एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो। त्यो बेला त ज्यान जोगाउनै मुस्किल पर्‍यो’, रानाले भने, ‘आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ। फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता छ।’

एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरेको स्थानीय अर्जुन रानाले दुखेसो गरे। कलदेखोलामा आएको बाढी सडकको ह्युम पाइप थुनिँदा गाउँ पसेको हो। ‘खेतमा लगाएको धानबाली पूरै नष्ट भएपछि झन् समस्यामा परेका छौँ’, उनले भने, ‘खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ।’ 

डिलाशैनीका स्थानीय बासिन्दालाई बाढीले समस्यामा पारेको छ। बाढीले खेतीयोग्य जमिन पूरै पुरिदिएपछि धेरै समस्या भएको स्थानीय रमेश धामीको भनाइ छ । डिलाशैनी गाउँपालिका- ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा परेको छ। तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं.- ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताए।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीयले बताएका छन्। अध्ययनबिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन्। दशरथचन्द नगरपालिकाको छेला-दुर्गाभवानी सडकका कारण सडक तलतिरका बस्तीहरू पनि जोखिममा छन्।  

वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नुका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया– ६ का दुर्गादत्त अवस्थीले बताए।  उनले भने, ‘खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौँ।’ 

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड, पुर्चौंडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्रमा पहिरोको जोखिम छ। ती क्षेत्रमा कच्ची सडक धमाधम खनिएपछि झन् जोखिम बढेको हो। 

बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्त्यमा डोजर डुलाएर पाखो खन्ने प्रवृत्तिले विपद बढाएको सुर्नयाका नरेन्द्र विष्टको भनाइ छ। ‘स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छन् भन्ने आशा भए पनि त्यसो हुन सकेको छैन’, उनले भने, ‘स्थानीय सरकार भएको अनुभूति गरिएको भए पनि असारे प्रवृत्ति भने कायम छ।’

स्थानीय तहहरूले भने बजेट सिध्याउनकै लागि असारमा आएर विकास निर्माणका कामहरू गर्ने गरेको भए पनि गुणस्तरीय नहुने गरेको स्थानीय बासिन्दा बताउँछन्। बैतडीमा गत आर्थिक वर्षको कुल पुँजीगत बजेटमध्ये ४५ प्रतिशत बजेट असार महिनामा खर्च भएको छ। 

अधिकांश विकास अड्डाहरूको रकम असारमा खर्च भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा सात करोड ९३ लाख रुपैयाँ बजेट खर्च भएको छ।

बैतडीमा कुल पुँजीगत बजेट दुई अर्ब १५ करोड ७९ लाख रुपैयाँमध्ये एक अर्ब ८४ करोड ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ। खर्च भएको रकममध्ये ४५ प्रतिशतको हाराहारीमा असार महिनामा खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले जानकारी दिए। 

स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याएमा प्रकोपका घटनाहरूबाट हुने क्षति न्यूनीकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको भनाइ छ। 

ग्रामीण क्षेत्रमा स्थानीय तहहरूले खनेका सडकहरूले चार–पाँच वर्षसम्म विपत्ति निम्त्याउन सक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख अमित श्रेष्ठले बताए। ‘नयाँ खनिएका सडकहरू सेट हुन केही वर्ष लाग्छ’, उनले भने, ‘स्थानीय तहहरूले सडक खन्दा मापदण्डअनुसार निर्माण गर्नु आवश्यक छ।’

मापदण्डविपरीत खनिएका सडकले बढी विपत्ति निम्त्याउने भएकााले यसका लागि जनप्रतिनिधिहरूले नै ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.