|

इजरायलमा एउटा कामबाट फर्किएपछि फेरि अर्को काम नपाउन्जेलसम्म पहिले काम गरेको भिसाबाट निस्किहाल्नुपर्ने र एक महिनाभित्र फेरि अर्को काम खोजेर भिसा लगाइहाल्नुपर्थ्यो। मैले पहिले स्याहारेकी  बूढी मरेकीले  मेरो बी २ भिसा लागेको थियो। मैले एक महिनाभित्र अर्को काम पाइहाल्नुपर्ने थियो। तर त्यही बीचमा इजरायलीहरूको लामो चाड आएकाले सबै अफिसहरू बन्द भए। 

२० दिन अपार्टमेन्ट कुरेर नै बित्यो। अफिसहरू खुलेपछि फेरि म लागेँ एजेन्सीमा कामको खोजीमा। छ-सातवटा एजेन्सीमा धाएपछि बल्ल एउटामा मेरो कामको मेसो जम्यो। काम गर्ने घरको मान्छेसित कुरा गरेर एजेन्सीले मलाई ‘आफ्नो सामान लिएर आऊ’ भन्यो। म डेरामा आएर सुटकेस लिएर गएँ फेरि एजेन्सीमा। केही बेरपछि  १५० किलोभन्दा बढी तौल भएको, देख्दैमा डरलाग्दो एक जना कालो मान्छे मलाई लिन आयो। ऊ आफैँ गाडी ड्राइभिङ गरेर आएको रहेछ। उसकोे बगलको सिटमा बसेर त्यो मान्छेसित लागेँ बाटो। 

एजेन्सीको अफिसबाट हिँडेको केही समयपछि हामी समुद्रको किनारमा पुग्यौँ। समुद्रको किनारै किनार दुई घण्टाजति गाडी गुडाएपछि हामी उसकोे घर पुग्यौँ। घरमा ऊ जस्तै मोटी र काली महिला बसिरहेकी थिइन्। मलाई कोठामा सामान राख्न भनेर ती महिलाले कोठा देखाउन भनी भित्र लैजाँदा मैले हेर्नुपर्ने महिलालाई देखेँ। ८० वर्षजतिकी बूढी, शरीरमा मासु देखिँदैनथ्यो, हाड र छालाको मात्र मानव। ती महिला राती आफ्नो अगाडि उभिए त भूत भनेर देख्ने मानिस नै बेहोस होला जस्तो। तर उनी उठ्न सक्ने अवस्थामा पनि थिइनन्। उनी ह्विलचेयरमा बसेकी थिइन्। मेरो सामान त्यो कोठामा लिएर गएपछि ती मोटी महिलाले मलाई हिब्रु भाषामा केके भनिन्। मैले इसाराले बुझिनँ भनेपछि उनले मलाई लिएर आउने मानिसलाई बोलाइन्। उसले मलाई बतायो- मैले हेर्नुपर्ने महिला तिनै हुन्, जुन ह्विलचेयरमा थिइन्। मैले पनि उनकै कोठामा सुत्नुपर्ने रहेछ।

ह्विलचेयरमा बसेकी महिला एउटा भाँडोमा केही कुहिएका फलपूmलहरू लिएर कुहिएको जति भाग फ्याँक्दै राम्रो जति खाँदै गरिरहेकी थिइन्। उनको थुक र कफ कोठा र ह्विलचेयरको पांग्राभरि थियो। छेउमा एउटा खाट थियो। त्यसमा मात्र प्लास्टिक ओछ्याइएको थियो। अर्को छेउमा मैलिएर आफ्नो वास्तविक रङ पनि गुमाइसकेको सोफासेट थियो। उनले मलाई त्यही सोफामा सुत्न भनिन् र मेरो सुटकेस त्यही सोफामुनि राख्न लगाइन्। ह्विलचेयरमा बस्ने महिलालाई उनले केके भनिन्, मैले बुिझनँ। त्यसपछि ती ह्विलचेयरमा बस्ने महिला मतिर हेरेर मुसुक्क मुस्कुराइन् र प्रेमीले प्रेमिकालाई झिम्काएजस्तै गरेर आँखा झिम्क्याइन्। म उनको ताल देखेर नहाँसी रहन सकिनँ।  बूढीले मलाई आधा कुहिएको आरु काटेर सद्धे भाग जति खान दिइन्। उनको हातमा धेरै दिनदेखि नधोइएका जस्ता  थुक र कफका दागहरू देखिएका थिए। मलाई त्यो आरु खान घिन लाग्यो र मैले खान मन लागेको छैन, खान्नँ भन्ने इसाराले सम्झाएर बाहिर निस्किएँ। 

मलाई ल्याउने मान्छे बाहिर गएर बरन्डामा बसिरहेको रहेछ। म कौसीमा गएर बाहिर हेर्न थालेँ। त्यो कुनै विकसित देशको एउटा गाउँ थियो। जंगलभित्र रहेको जस्तो देखिने त्यो गाउँमा मेरा आँखाले  पाँच–सात घर मात्र देख्न भ्याएका थिए। म गएको घर अगाडि जंगल र पछाडि समुद्र थियो। दायाँपट्टि काँडेतारले बारेको थियो। लाग्थ्यो- सिमाना हो कि जस्तो। त्यो मान्छे पनि म भएको ठाउँमा आएर गफ गर्न थाल्यो। मैले ऊसँग त्यहाँको भौगोलिक स्थितिका बारेमा गरेको सोधेपछि उसकोे जवाफले म तर्सिएँ। त्यो त इजरायल र प्यालेस्टाइनको लडाइँ भइरहने क्षेत्र रहेछ। त्यो सिमाना रहेछ- पारि प्यालेस्टाइन, वारि इजरायली। 

मलाई लिएर आउने मानिस ती बूढी महिलाको छोरो रहेछ, अर्की महिला छोरी। छोरो मलाई लिन गएकाले छोरी आमाको साथी बस्न आएकी रहिछन्। केही समयपछि उनी लागिन् आफ्नो घरतिर। हामी तीन जना बस्ने रहेछाँै त्यो घरमा। दिदी गएपछि त्यो मानिसले मलाई हेर्ने तरिका बदलियो। उसले मेरो बारेमा सोधीखोजी गरेको देख्दा मलाई केही असजिलो लागिरहेको थियो। त्यो दिन मैले त्यहाँ केही खाइनँ। सोफामा आफ्नो तौलिया बिछ्याएर सुत्ने तरखरमा लागेँ। एक निद्रा निदाएकी के थिएँ, बूढीले खोकेर निद्राबाट बिउँझाइदिइन्। कोठामा मधुरो बत्ती बालिएको थियो। निद्राबाट बिउँझिएर हेर्छु त बूढीको छोरा कट्टु मात्र लगाएर मेरो सिरानीनेर कुर्सीमा बसेर एक टकले मलाई हेरिरहेको छ। मलाई उसले ‘यु बिउटिफुल’ भनेर दुई तीनपल्टसम्म भन्यो। कालो अनुहारमा सेता दाँत देखाएर हाँस्दै ऊ बाहिर निस्कियो। म ढोका लगाएर सुत्नुपर्‍यो भनेर ढोका लगाउन जान्छु त चुकुल नै छैन। अब के गर्नु, निद्रा त हराइहाल्यो। मलाई त्यो मानिसदेखि सारै डर लाग्यो। हातपात गर्न आयो भने म के गर्नु? भनेको नमान्दा मारेर समुद्रमा फ्याँकिदियो भने पनि कसैले थाहा नपाउने। 

केही दिन पहिले एक जना नेपाली महिला काम गर्ने घरमै झुन्डिएर मरेको खबर सुनेकी थिएँ। सायद यस्तै घर थियो कि? जबर्जस्ती गरेकाले त उनी मरेकी होइनन्? उफ्! त्यो रात मेरा मनमा उब्जिएका सवालहरू र त्यो क्षण सम्झिँदा अहिले पनि जीउमा काँडा उम्रिन्छन्। मैले नसुती रात काटेँ। बिहान मैले मलाई लिएर आउने मानिसलाई म यहाँ बस्दिनँ भनेँ। मलाई त्यो मानिसले रोक्ने धेरै प्रयास गर्‍यो। म त्यहाँ बस्ने त कुरै थिएन। म त्यो मानिसको घरमा किन बस्थेँ र! जोदेखि मैले आपूmलाई असुरक्षित महसुस गरेकी थिएँ। मैले कुनै हालतमा पनि नबस्ने भनेपछि उसले मलाई लिएर आएको शहरमा लगेर छोड्ने कुरा त परै जाओस्, बसपार्कसम्म पनि छोडिदिएन।

‘सुन लगाउन सक्ने आर्थिक अवस्थामा नेपालमा हुँदो हो त तिमी यहाँ केयरगिभरको काम गर्न किन आउँथ्यौ? पक्कै तिमीले काम गर्ने ठाउँबाट चोरेर ल्याएको होला’ भनेर उसले त मलाई पुलिसको जिम्मा लगाइदिने कुरा पो गर्न थाल्यो।

म आफ्नो सुटकेस डोहोर्‍याउँदै तखना (हिब्रुमा बसपार्कलाई तखना भनिन्छ) सोध्दैसोध्दै बसपार्कसम्म पुगेँ। मसित एक्काइस सेकल (इजरायली रुपैयाँ) थियो तर बसभाडा कति सेकल लाग्ने रहेछ, मैले बोलेको बुझिनँ। इसाराले अरू पैसा माग्यो काउन्टरमा बसेको मान्छेले। मैले दुइटा बस छोडेँ पैसा पूरा नभएर। 

मसित शरीरमा केही सुनका गहना त थिए, तर ती गहना त्यस्तो अन्जान शहरमा कसलाई बेच्नू? सुनलाई पैसाकै रूपमा लिने नेपाल होइन। मेरा लागि सुनका गहना पनि त्यहाँ नक्कली गहना जस्तो भए। मसित पैसा आउने अरू केही जिन्सी सामान पनि थिएन। भाषाको समस्या, बोल्न आउँदैन। तेलअविभ भन्ने शहरका नेपालीहरू बिदामा आएर बस्नका लागि लिइएको डेरामा पनि पुग्न नपाउने भएँ भन्ने पीर लाग्न थाल्यो मलाई। मैले त्यो समयमा छोराछोरी सम्झिएँ। अब परिवारसित भेट्नै  नपाइने हो कि भन्ने अनेक नकारात्मक सोचाइहरू मात्र मनमा आउन थाले। विदेशमा गएर पैसा कमाउने आकांक्षा राख्ने नेपाली छोरी अन्जान विदेशी गाउँमा पैसा नभएर अलपत्र परेकी थिई। आपत् परेकाले मेरो मनमा कुनै प्रकारका सकारात्मक सोचाइहरू आएनन्। म त्यो समयमा लाचार भएँ। केही उपाय नदेखेपछि म बसपार्कमै बसेर रुन थालेँ।

बसपार्कमा दुई-तीन जना मानिस थिए। म रोएको देखेर उनीहरू मेरो छेउमा आएर केके सोध्न थाले। मैले उनीहरूले बोलेको केही बुझिनँ तर पनि किन रोएकी भनेर त सोधेका होलान् भनेर मैले मसित भएको पैसा देखाएर ‘तेलअभिव तेलअभिव’ भनेँ। एउटा मानिसले मेरो पैसा गन्यो र काउन्टरमा गएर केके सोधेर आयो। पछि त्यहाँ भएका मानिसले नपुग पैसा उठाए। त्यही मानिसले फेरि काउन्टरमा गएर मेरा लागि तेलअभिवको टिकट ल्याइदियो। तीन घण्टाको बसयात्रापछि म फर्किएर डेरामा आइपुगेँ। सबै साथीहरू आआफ्नो काममा गएकाले डेरामा कोही पनि थिएन। शुक्रबार नभई कोही आउने कुरा पनि थिएन। 

मसित खाने पैसा पनि भएन। कुनै सुन पसलमा गएर आफ्नो गहना बेचेर खाने कुरा किन्ने विचारले म बजारतिर लागेँ। एउटा सुन पसलमा गएर सिक्री बेच्ने कुरा गरेँ। बिल माग्यो, छैन। मैले यो नेपालमा किनेको भनेको त, ‘सुन लगाउन सक्ने आर्थिक अवस्थामा नेपालमा हुँदो हो त तिमी यहाँ केयरगिभरको काम गर्न किन आउँथ्यौ? पक्कै तिमीले काम गर्ने ठाउँबाट चोरेर ल्याएको होला’ भनेर उसले त मलाई पुलिसको जिम्मा लगाइदिने कुरा पो गर्न थाल्यो। विदेशमा पुलिसको फन्दामा पर्नुभन्दा त पसलबाट भाग्नु बेस भनेर म त्यहाँबाट दगुरेँ अपार्टमेन्टतिर। त्यसपछि मेरो मनबाट सुन बेच्ने विचार पनि हरायो। मेरा लागि ज्यानभन्दा भोक ठूलो भएन।

बुधबारदेखि शुक्रबारसम्म नुनपानी मात्र पिएर बसेँ। शुक्रबार सबै जना कामबाट त्यो डेरामा एक दिनका लागि बस्न आउँथे। सधैँझैँ त्यो शुक्रबार पनि सबै आए। साथीहरू आएपछि मात्र मैले खान पाएँ। आफ्नो देशमा हुँदा तीजको व्रत बस्दा कतिबेला श्रीमान्‌ले खाऊ भन्नुहोला र खाऊँ भन्ने मान्छे म, त्यो बेला तीन दिन भोकै परेँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.