काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीसँग आवद्ध पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ। तत्कालीन नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालबीच संगठन एकीकरणका निम्ति गठित कार्यदलले शुक्रबार नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा अनुसार दुई संगठन मिलेर प्रेस संगठन नेपाल हुने र हालका लागि २२५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको उल्लेख छ। जसमा हाइकमाण्ड, सचिवालय र केन्द्रीय सदस्यहरू हुनेछन्।
हाइकमाण्ड १५ सदस्यीय रहने कार्यदलले प्रस्ताव गरेको छ। केन्द्रीय समितिको दुई तिहाइ नबढ्ने गरि सचिवालय हुनेछ। प्रतिवेदनमा संगठनको केन्द्रीय समितिमा रहने दुवै संगठन तर्फका सदस्यहरूको नामावली सहित बुझाइएको छ।
कार्यदलमा नेकपाका नेताद्वय योगेश भट्टराई, पम्फा भुसाल, चौतारी अध्यक्ष गणेश बस्नेत र सेन्टरका अध्यक्ष महेश्वर दाहाल रहेका छन्। कार्यदलले हालका लागि संगठनको अध्यक्ष र महासचिव रहने प्रस्ताव गरेको छ।
अध्यक्षका को बन्ने भन्ने टुंगो लगाउन नसकेपछि पाँच जनाको नाम सिफारिस गरिएको हो। आकांक्षी धेरै भएपछि कार्यदलले आकांक्षी सबैको नाम प्रस्ताव गरेको छ। अध्यक्षका लागि गणेश बस्नेत, महेश्वर दाहाल, माधवकुमार नेपाल, बलराम थापा र विष्णु सापकोटाको नाम सिफारिस गरिएको छ। यस विषयमा पार्टी नेताहरूले नै टुंगो लगाउने नेकपा नेता विष्णु रिजालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।