स्थानीय भन्छन्, बिरामी भए अस्पताल पुग्न नपाइ मरिन्छ होला

|

इलाम : गत आइतबार फिक्कलबाट आफ्नो पिकअपमा सामान लोड गरेर नयाँबजार हिँडेका चालक कमल घले ३१ घण्टापछि मात्र गन्तव्य पुगे। पिकअपमा उनीसँगै दुई जना व्यापारी निमतेन्जी शेर्पा र डंगी लामा पनि थिए। उक्त गन्तव्य खासमा दुई घण्टामा नै पुगिने हो। तर हिलाम्य सडकमा गाडी फसेरकाले यति धेरै समय लागेको हो।

उन्नति समावेशी आयोजनाअन्तर्गत निमार्णाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकखण्डमा गाडी फसेपछि दुई घण्टामा नै पुगिने ठाउँमा ३१ घण्टा लागेको चालक घलेले बताए। फिक्कल–नयाँबजार सडकखण्ड निर्माण कार्यले गति नलिँदा इलामको माइजोगमाई गाउँपालिका र आसपासका बासिन्दाहरुले सास्ती व्यर्होनुको विकल्प छैन। वृद्ध अवस्थाका निमतेन्जी शेर्पाले यो सडक कालोपत्रे भएको देख्ने इच्छा मर्न थालेको बताए। उनले भने, ‘सडक बनेर सहज रुपमा आवातजावात गर्न पाइन्छ भन्दा–भन्दै बुढेसकालले छोइसक्यो, सडक बनेन।’

ट्रयाक खनिएको ६५ वर्षपछि स्तरोन्नति सुरु भएको यस सडकखण्ड निर्माण कार्य अलपत्र परेपछि उत्तर–पूर्वी इलामका सर्वसाधरण बर्खा याममा सास्ती खेप्न बाध्य छन्।  गत जेठदेखि सडक अवरुद्ध भएपछि त्यस क्षेत्रका बासिन्दाले समस्या खेप्नु परेको हो।

उन्नति परियोजनाअन्तर्गत १४ करोड ४६ लाख ३४ हजार रुपैयाँ खर्च गरी १६ महिनामा सक्ने सम्झौता गरिएको भए पनि निर्माण कम्पनीले आधा मात्रै काम गरेपछि निर्माण कार्य अलपत्र परेको छ। सडक बनेपछि कृषिजन्य उत्पादनले बजार पाउने र बिरामी भएर अस्पताल नपुगी ज्यान गुमाउनु पर्ने समस्या हट्ने आशा लिएका सर्वसाधरणलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा १९ किलोमिटर सडकको यात्रा गर्न दुई दिन लाग्न थालेपछि निराश भएका छन्। 

स्थानीय व्यवसायी याम रसाइलीले १९ किलोमिटर दूरी भए पनि सरसामान ढुवानी गर्दा दुई दिन लाग्ने गरेको बताए। यातायत सञ्चालन हुन छोडेपछि उक्त क्षेत्रमा घोडाबाट सामान ओसारपसार गर्नु परेको उनको भनाइ छ। ‘सरसामान त जसोतसो आइपुग्छ, बिरामी हुँदा अस्पताल पुग्नै नपाई मरिन्छ भन्ने पीर छ,’ उनले भने, ‘बर्खाका पाँच महिना काट्नै गाह्रो।’

सडक निर्माण गर्न दुई वर्षअघि सम्झौता भएको थियो। तर, तोकिएको समयमा ५५ प्रतिशत मात्रै काम भएको छ। नागार्जुन निर्माण कम्पनीले ठेक्का लिएको उक्त सडक निर्माणमा ढिलाइ भएपछि इलामको उत्तरपूर्वी माईजोगमाई र सन्दकपुर गाउँपालिकाका करिब ३० हजार सर्वसाधरण मर्कामा परेका छन्। कल्भर्ट, नाली, ग्याबिन पर्खाल र ग्राभेलिङ्ग गर्ने जिम्मा पाएको निर्माण कम्पनीले निर्माणको आधा मात्रै काम गरेपछि बाँकी काम कसरी गर्ने भन्नेमा सरकारी निकाय नै अलमलमा रहेको छ।

२०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा खनिएको सडक स्तरउन्नति गर्ने काम अलपत्र परेपछि माईजोगमाई गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै कालोपत्रे गर्ने योजना अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले कालोपत्रे गर्नका लागि प्रदेश सरकारमार्फत दुई करोड रुपैयाँ विजियोजन भएको र केन्द्रीय सरकारलाई ४० करोडको सिलिङ पेश गरिएको बताए। अध्यक्ष राईले भने, ‘केन्द्र र प्रदेश सरकारसँग हारगुहार गरेर भए पनि सडक कालोपत्रेको काम चाँडै थाल्छौं।’

गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक राम्रो नभएसम्म ग्रामीण सडक मात्र बनाएर केही नहुने भएकाले उक्त सडकलाई प्राथमिकतामा राख्ने अध्यक्ष राईको भनाइ छ। हजारौं पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौबारी हुँदै भारत जोड्ने फिक्कल–नयाँबजार सडक स्तरोन्नति गर्न रोकिएको काम तत्काल अघि बढाउन स्थानीयले माग गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.