संविधानको मर्मविरुद्ध संसद पनि जान सक्दैन : आयुक्त तिम्सिना
संविधानको मर्मविरुद्ध संसद पनि जान सक्दैन : आयुक्त तिम्सिना
काठमाडौं : आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्यापन गराउदै आएको कान्तिपुर सिटी कलेज (केसीसी) ले दुई व्यवसायिक पत्रकारलाई पुरस्कृत गरेको छ। कलेजले आइतबार 'केसिसी जर्नल भोलुम २' को विमोचन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी दुई पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो।
उक्त अवसरमा पत्रकार मोहन मैनाली र झापाका पत्रकार माया पकवाललाई केसिसीले पुरस्कृत गरेको हो। २८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील मैनाली विशेषतः वातावरण पत्रकारिता तथा नियात्रा लेखनमा योगदान दिएका व्यक्ति हुन्। पछिल्लो समय नेपालका पत्रकारलाई पत्रकारिता प्रशिक्षण गर्न योगदान दिँदै आएका पत्रकार मैनालीले 'पुणेको प्यान्ट', 'द लिभिङ अफ जोगिमारा' लगायतका थुप्रै डकुमेन्ट्रि निर्माण गरेका छन्। उनले 'उपल्लो थलो', 'मान्ठा डराएको जुग' र 'देखेको देश' नाम पुस्तक प्रकाशित छन्।
पत्रकार पकवाल १६ वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आएकी छिन। उनी झापाबाट प्रकाशित हुदै आएको बरुण साप्ताहिकको प्रधान सम्पादक हुन्। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको संयोजकत्वका गठित छनौट समितिले मैनाली र पकवाललाई पुरस्कारका लागि छनोट गरेको थियो।
यसैगरी, 'केसिसी जर्नल भोलुम २'को विमोचन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिना, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, प्रोफेसर तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा जर्नलको विमोचन गरे। जर्नलको नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल र वरिष्ठ पत्रकार ध्रुबहरी अधिकारीले समिक्षा गरेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले 'सस्टेनेवल डेभलपमेन्ट शोलुसन नेटवर्ग (एसडिएसएन) केसीसी स्टुडेन्ट क्लव'को उद्घाटन गरेका थिए।
कार्यक्रममा आमसञ्चार र पत्रकारिता विषयको स्नातकोत्तर तहमा गोल्ड मेडलिष्ट विद्यार्थी केसीसी २०१५ का माधव थापा क्षेत्री र २०१४ का विद्यार्थी चिरञ्जिवीराज देवकोटालाई सम्मान गरिएको थियो।
राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा प्रमुख अतिथि यशोदादेवी तिम्सिनाले संसदमा पेश गरिएको गोपनीयताको हक सम्बन्धी विधेयकले संविधानमा भएको सूचनाको हकलाई काट्ने भएकाले अहिले जसरी मस्यौदा भएर आएको गोपनीयता सम्बन्धी विधेयक संशोधन भएर आउने विश्वास व्यक्त गरिन्।
संविधानको मर्मविरुद्ध संसद पनि जान नसक्ने भन्दै त्यो सच्चिएर आउने विश्वास उनको थियो। सूचनाको हकभन्दा अलग भएर गोपनीयताको हक आउन नसक्ने भन्दै तिम्सिनाले सूचनाको हक अन्तर्गत गोपनीयताको हक आउनुपर्ने बताइन्।
पत्रकारितामा पनि केही समस्या रहेको भन्दै आयुक्त तिम्सिनाले त्यसलाई सच्याएर जानुपर्ने बताइन्। 'हाम्रो पत्रकारितामा सूचनाको स्रोतले कम्प्लिट सूचना दिँदैन। हामीले त्यो सूचनाको भेरिफाइ गर्दैनौ', उनले भनिन्, 'हामीकहाँ यो ठूलो समस्या बनेको छ। अहिलेपनि त्यो समस्या विद्यमान छ।'
सूचनाको हक आएको १० वर्ष बितिसक्दा पनि यसको प्रयोग अहिलेपनि गर्न नसकेको भन्दै उनले राज्यले बन्देज गरेका पाँचवटा सूचना बाहेक सबैप्रकारको सूचना हरेक नागरिकले पाउछ भन्ने कुरा जिम्मेवार पदमै बसेका व्यक्तिसम्म पुर्याउन नसकिएको बताइन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले केही मिडियाहरू, सामाजिक सञ्जालका केही प्रयोगका कारण नेपाली मिडियामाथि नै प्रश्न उठेको भन्दै राज्यले पनि केही व्यक्तिले गरेको कामका आधारमा समग्र मिडियालाई कस्न लागेको बताए।
भदौ १ गतेबाट लागू भएको देवानी संहिता/फौजदारी संहिताका केही कुराले प्रेस स्वतन्त्रतामाथि नै संकट आउँछ की भन्ने संसय रहेको आचार्यले बताए। खासगरी संसदमा पेश गरिएको गोपनीयता सम्बन्धि विधेयकका केही बुँदा सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्दर्भमा पनि सूचना बाहिर ल्याएको खण्डमा फौजदारी कसुर बनाएर सरकारी मुद्दा बनाउने भन्ने कुरा गलत भएको अध्यक्ष आचार्यले बताए। यसको परिवर्तनका सम्बन्धमा पत्रकार महासंघले अभियान सञ्चालन गरेको भन्दै यसमा साथ दिन आग्रह गरे।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दर अर्यालले प्रेस स्वतन्त्र भनेको फ्रि स्टाइल नहुने भन्दै मिडियामा रहेको फ्रि स्टाइलबाट मुक्त हुनुपर्ने बताए। पत्रकारितामा फेयरनेशको कुरा गर्नुपर्ने बताउदै उनले सेल्फ रेगुलेशनका कुराहरु पनि मिडियामा हुने भएकाले ति कुरालाई ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, आम सञ्चार र पत्रकारिता विषयको स्नातकोत्तर विषयमा केसिसी २००८ ब्याचका गोल्ड मेडलिष्ट नुमराज खनाल, कलेजका एमडी प्रह्लाद कार्की, प्रिन्सिपल राजु कट्टेल, जर्नलका सम्पादक जनार्दन विष्टले पत्रकारिता विषयमा मास्टर्स गरेका विद्यार्थीहरूका लागि उनीहरुको भोलिको भविष्य के भन्ने कुराको पनि खोजि गरिनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।