डोल्पा : उपनिर्वाचनको माहोल बुझ्न संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा डोल्पा पुगेका छन्। डोल्पाबाट लगातार दुईपटक भारी मतका साथ विजयी भएका राज्यमन्त्री बुढाले जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेर मात्रै राजीनामा दिने कार्यक्रम रहेको बुढाले बताए।
मंगलबार तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका जनताहसहित त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा छलफल गर्ने र प्रतिक्रिया लिने कार्यक्रम रहेको उनले बताए। त्यस्तै बुधबार उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्ध, शे फोक्सुन्डो, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाका सर्वसाधारणहरूसँग सदरमुकाम दुनैमा छलफल गर्ने कार्यक्रम रहेको छ।
ठूलीभेरी नगरपालिकाको केन्द्र जुफालमा पनि जनताहरूसँग प्रतिक्रिया लिने कार्यक्रम रहेको बताइएको छ। 'कहिले राजिनामा दिने भन्ने कुरा थाहा छैन। जनताको पतिक्रिया पछि मात्रै राजिनामा दिने कुरा थाहा हुन्छ' राज्यमन्त्री बुढाले भने। 'अहिले नै राजिनामा दिन्छु भन्न सक्दिन। एक नेतृत्वका लागि जनता नै भगवान हुन्छन्।त्यसो त जनताको प्रतिक्रियापछि मात्रै राजीनामा दिन्छु' बुढाले भने।
'डोल्पाली जनताको सकरात्मक प्रतिक्रिया आउछ भन्ने मलाई विश्वास छ। नेकपाका प्रभावशाली नेता वामदेव गौतम उपनिर्वाचनमार्फत निर्वाचनमा होमिनुभयो भने उनलाई मैले ल्याएको नेपालमै धेरै मत ७७ प्रतिशतभन्दा पनि धेरै मत प्रतिशतले जिताउन सक्छु,' राज्यमन्त्री बुढाले दाबी गरे। '२०७० सालमा पनि एमालेबाट बागी उम्मेदवार अंगत बुढा उठेर पनि ५६ प्रतिशत मत ल्याएर विजयी भएको हुँ। मलाई विश्वास अब उप निर्वाचन भयो भने पनि डोल्पाली जनताले साथ दिनेछन्' उनले थपे।
'मैलै डोल्पाले बोकेको प्रचुर सम्भावना अनुसार विकास गर्न सकेको छैन। यो कुरा मैले स्वीकार्नु पर्छ। मैले राजिनामा दिएर डोल्पाली जनमतको अपमान गर्न खोजेको होइन। डोल्पाको विकासलाई थप गतिशील बनाउन पनि मैले राजिनामा दिनुपर्छ। र नेता गौतमलाई जिताउनुपर्छ।' 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाउनु भएका नेता गौतम विजयी भएपछि डोल्पाले बिकासले काँचुली फेर्नेछ। मैलै भन्दा दशगुणा धेरै विकास गर्नुहुने छ। त्यो कुरा डोल्पाली जनतालाई विश्वस्त पार्न चाहान्छु' उनको दाबी छ।
तत्कालीन माओवादी र एमाले पार्टीको एकीकरण पछि बनाइएको नेकपालाई थप मजबुद बनाउन पनि नेता गौतमलाई जिताउनु पर्ने राष्ट्रिय अवश्यक्ता रहेको राज्यमन्त्री बुढाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।