|

भक्तपुर : भारतको पश्चिम बंगालस्थित डुबर्सका ५९ वर्षीय गणेशबहादुर प्रधानलाई नेवार भएर पनि नेवारी भाषा, संस्कार र संस्कृतिका बारेमा अनभिज्ञ हुँदा हिनताबोध हुन्थ्यो।

भारतमा राजनीति र अखिल भारतीय नेवाः संगठनमा सक्रिय प्रधानलाई भारतमा नेवार जातिको एकताका लागि विभिन्न स्थानमा जाँदा नेवाः संस्कृतिको बारेमा उठ्ने प्रश्नले सँधै नाजवाफ बनाउँदथ्यो। उनलाई सधैं नेवाः भाषा, संस्कृति र संस्कारका बारेमा अध्ययन गर्ने उत्सुकता जाग्थ्यो तर कहाँ गएर सिक्ने ? उनी सँधै अन्योलमा पर्थे।

उनी जस्तै भारतकै अरुणाञ्चलका तिलकबहादुर प्रधानलाई पनि त्यस्तै हुन्थ्यो। ‘नेवार जातिको भाषा, कला संस्कृति र संस्कार विश्वकै उत्कृष्टमध्ये पर्छ, तर के गर्नु’, उनी भन्छन्, ‘आफू नेवार भएर पनि न त भाषा आउँछ, न त नेवारी संस्कृति र संस्कारको ज्ञान नै छ।’

गणेशबहादुर र तिलकबहादुर जस्ता भारतमा रहेका नेवारहरूमा भाषा, कला, संस्कृति, संस्कार र वाद्यवादनको बारेमा उत्पन्न हुने चासोलाई समाधान गर्ने व्यवस्था मिलाएका छन्, दवुली नेपाल र मध्यपुर थिमिस्थित संस्कृति संरक्षणका लागि युवा नेपाल नामक दुई संस्थाले। उनीहरू अहिले भारतमा रहेका नेवारहरूलाई नेवाः संस्कृतिको प्रशिक्षण दिइरहेका छन्। 

यतिखेर मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलमा गणेशबहादुर र तिलकबहादुरलगायत भारतका विभिन्न राज्यका ९ महिलासहित २२ जना नेवाः संस्कृतिको प्रशिक्षक प्रशिक्षण लिइरहेका छन।

गत भदौ १ गतेदेखि शुरु भएको सो प्रशिक्षण कार्यक्रममा भारतको सिक्किमबाट खगेन्द्र प्रधान, टिकामाया प्रधान, वन्दना प्रधान र विकास प्रधान, पश्चिम बंगालको डुर्वसबाट गणेशबहादुर प्रधानसहित, अम्बर प्रधान, सुजन प्रधान र सीमा प्रधान, कालिङपोङका स्वरूप प्रधानले नेवाः संस्कृतिको प्रशिक्षण लिइरहेका छन्।

त्यसैगरी अरुणाचल प्रदेशका तिलकबहादुर प्रधानसहित, उमेश प्रधान, विनय प्रधान, दिपा श्रेष्ठ, दिलमाया प्रधान, मुस्कान प्रधान, आसामका हरिबहादुर नेवाः, किशोर प्रधान, गिरिजा प्रधान, करिश्मा प्रधान, मैना प्रधान, कृष्ण प्रधान र खेमराज नेवाः पनि दैनिक १४ घण्टा नेवाः संस्कृति सिक्छन्।

बिहान ७ बजे सुरु हुने प्रशिक्षण कार्यक्रममा तालिका बनाएर प्रशिक्षण चलिरहेको संस्कृति संरक्षणका लागि युवा नेपालका संरक्षक एवं संस्कृतिकर्मी गणेशमान लाछीले जानकारी दिए।

तालिकाअनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म नेवारी भाषा प्रशिक्षण, ९ देखि ११ लिपि एवं व्याकरण, १२ देखि २ सम्म बौद्ध धर्म एवं संस्कार, २ देखि ४ सम्म वैदिक हिन्दु संस्कार, ४ देखि ६ सम्म नृत्य र साँझ ६ बजे देखि ९ बजेसम्म वाद्यवादनको प्रशिक्षण दिइरहेको लाछीले बताए। 

नेवाः संस्कार र संस्कतिअन्तर्गत ज्योतिष, आयुर्वेद, जन्मदेखि मृत्युसम्मको संस्कार, महाकाली, ज्यापु ज्यापुनी,  घिन्ताङघिसी नाच लगायत धिमेबाजाको पनि प्रशिक्षण भइरहेको प्रशिक्षक स्वयम्भू बज्राचार्यले जानकारी दिए।

कार्यक्रममा बज्राचार्यसहित बालमुकुन्द प्रजापति, विष्णुबहादुर प्रजापति, हरिशरण राजोपाध्याय, सरोज कसाः, जुजुमान महर्जन लगायतका प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षणमा सहभागीहरुले एक महिने उक्त प्रशिक्षण पछि आ–आफ्नो क्षेत्रमा गएर नेवार समुदायका अन्य व्यक्तिलाई प्रशिक्षण दिने बताइएको छ। 

मध्यपुर थिमीमा घण्टाकर्णपछि विभिन्न जात्रा, नाच, पर्व सुरु भएको छ।  एकमहिने गुँलापर्व अन्तर्गत गुँलाबाजा, गाईजात्रा, भैरवनाच, महाकाली नाच, अष्टमात्रिका नाच, निलबाराही नाच आदिको प्रत्यक्ष अवलोकन पनि गर्न मिल्ने समय मिलाएर प्रशिक्षण सुरु गरिएको संस्कृतिविद् लाछीले जानकारी दिए। ‘यो समयमा नेवारी समुदायमा परम्परागत, ऐतिहासिक र धार्मिक महत्त्वका नाच प्रदर्शन हुन्छ। यसको अवलोकन गरी नेवारी संस्कृति सिक्ने सक्ने व्यवस्था मिलाएका छौँ’, उनले भने ।

संस्कृति संरक्षणका लागि युवा नेपालले यसअघि पनि नेपालका विभिन्न २० जिल्लाका  २० जना नेवार युवायुवतीलाई भाषा, कला, संस्कृति, लिपि, व्याकरण एवं नृत्य र वाद्यवादनको प्रशिक्षण दिइएको थियो। नेपाल र अन्य मुलुकका विभिन्न व्यक्ति, संघसंस्था, खल पुचः गरी दुई दर्जन बढिले हाल संचालित नेवाः संस्कृति प्रशिक्षक प्रशिक्षणमा आर्थिक, भौतिक लगायतको सहयोग गरेको प्रशिक्षक लाछीले बताए।

भारतको विभिन्न प्रदेश र राज्यहरुमा रहेका नेवारलाई अखिल भारतीय नेवाः संगठनमार्फत एकताबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिँदै डुबर्सका गणेशबहादुरले भने, ‘भारतमा रहेका नेवारमा नेवाःको रूप छ तर नेवारीपन छैन । जातीय संगठन चलाइरहँदा अाफ्नो भाषा, कला संस्कृति, बाजागाजा, संस्कारको बारेमा पनि ज्ञान चाहिँदो रहेछ। त्यसैले यहाँ सिक्न आएका हौँ।’ 

सिक्किमका खगेन्द्र प्रधानले सिक्किम सरकारले नेपाली भाषा संसकृतिलाई धेरै सम्मान, सहुलियत र प्राथमिकता दिएको बताए। नेवारी भाषा र नेवा संस्कृतिलाई पनि उत्तिकै महत्त्व दिने गरेको बताए। इन्द्रजात्राको अवसरमा सिक्किममा सार्वजनिक बिदा हुने जानकारी उनले  दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.