चार वर्षयता मात्रै दर्जनौँ गुम्बा चोरिए

|

दुनै (डोल्पा) : उपल्लो डोल्पाका धार्मिक महत्त्वका धरोहर मानिने गुम्बाहरू प्रत्येक वर्ष तस्करको निशानामा पर्दै आएका छन्। बौद्धमार्गीहरूका धार्मिक महत्त्वका धरोहर गुम्बामा राखिएका हजारौँ वर्ष पुराना ऐतिहासिक मूर्ति र धर्मग्रन्थहरू हराउँदै गएपछि उपल्लो डोल्पामा रहेका दर्जनौँ प्रसिद्ध गुम्बाहरू तस्करको निशानामा पर्दै आएका हुन्। 

उपल्लो डोल्पाको शे गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायतका दर्जनौँ गुम्बाहरू तस्करको निशानामा परेका छन्। बौद्ध धर्मालम्बीहरूको बस्ती धेरै भएको उपल्लो डोल्पामा पछिल्लो चार वर्षयता मात्रै दर्जनौँ थान बहुमूल्य मूर्तिहरू चोरी भएका छन्।

प्रहरीका अनुसार डोल्पो बुद्ध गाउँपालिका– ३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राती चार थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो। पुरातात्त्विक मूर्तिहरूसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थहरू पनि हराएका थिए।

हराएका चार थान मूर्तिहरूमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक स्थानीयको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको थियो। पुरातात्त्विक मूर्ति र धर्मग्रन्थ चेकजाँचका लागि पुरातत्त्व विभाग काठमाडौं लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्त्व अधिकृत प्रकाश खड्काले जानकारी दिए।

मूर्ति तथा धर्मग्रन्थहरू सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिमार्फत् गुम्बालाई बुझाइएको खड्काले जानकारी दिए। त्यस्तै, छार्काताङसोङ गाउँपालिका- १ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको एक थान बुद्धको मूर्ति तत्काल बरामद गरिएको थियो।

बरामद एक थान मूर्ति पुरातत्त्वको टोलीले डोल्पा ल्याइपु¥याइए पनि बोन गुम्बामा स्थापना नगरी जिल्ला प्रशासन कार्यालय डोल्पामा सुरक्षित राखिएको छ। यसरी राखिएको मूर्ति सरोकारवालाको उपस्थितिमा बुझाइने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकोे छ।

त्यस्तै, शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने ६०० वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट यसै वर्ष हराएका सात थान मूर्तिहरू अझै पत्ता लाग्न सकेका छैनन्। गुम्बाका मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको गुम्बा प्रमुख लोट्याई लामाले बताए। 

नेपालकै गहिरो शे-फोक्सुन्डो तालकौ छेउमै रेहेको उक्त गुम्बा तालपछिको अर्को पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको थियो। गुरुङ र लामा समुदायको बाहुल्य रहेको उपल्लो डोल्पाका विभिन्न स्थानमा पुग्नका लागि सदरमुकाम दुनैदेखि तीनदेखि सात दिनसम्म लाग्ने गर्छ।

गलत हल्लाले चोरी बढ्यो

उपल्लो डोल्पामा रहेका ऐतिहासिक गुम्बाहरू चोरी धेरै हुनुमा गलत हल्ला रहेको पुरातत्त्व अधिकृत प्रकाश खड्काको भनाइ छ। उपल्लो डोल्पाका विभिन्न गुम्बाहरूमा राखिएका पुरातात्त्विक मूर्ति तथा धर्मग्रन्थको मूल्य करोडौँ रुपैयाँ पर्ने भन्दै गलत अफवाह फैलाउनाले पनि गुम्बाहरू तस्करको निशानामा पर्ने गरेको खड्काले बताए।

दुई दर्जन धेरै गुम्बाहरूमा रहेका उपल्लो डोल्पाका गुम्बाहरूमा रखिएका पुरातात्त्विक बहुमूल्य मूर्तिहरू वर्षैपिच्छै हराउन थालेपछि आफ्नो क्षेत्रको इतिहास मेटिन लागेको भन्दै स्थानीय चिन्तित बनेका छन्।

भौगोलिक विकटताका कारण सुरक्षा चुनौती

उपल्लो डोल्पामा पर्ने कठिन भौगोलिक विकटताका कारण पनि उपल्लो डोल्पा नै तस्करको निशानामा पर्ने गरेको स्थानीयको भनाइ छ। विकट क्षेत्र र सुरक्षाकर्मीहरूको न्यून उपस्थिति भएकाले खुलेआम बन्दुकसहित तस्करहरूले लुट्ने गरेको डोल्पो बुद्ध गाउँपालिका धोका स्थानीय नाम्क्याल गुरुङले बताए।
कमजोर सुरक्षा उपस्थितिका कारण पनि उपल्लो डोल्पामा खुलेआम हतियारसहित तस्करहरू घुम्दा पनि स्थानीय मुकदर्शक भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ।

उपल्लो डोल्पाका अधिकांश ठाउँहरू टेलिफोनविहीन भएकाले उपल्लो डोल्पाका सूचनाहरू सदरमुकामसम्म पुग्न एक सातासम्म लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले जानकारी दिए।

तस्करहरू चोरी गरेर भागिसक्दासमेत प्रहरीलाई सूचना नआउने र प्रहरीले सूचना पाएर घटनास्थलमा पुगिन्जेलसम्म चोरहरू फरार भइसक्ने हुनाले पनि सुरक्षा चुनौती थपिएको विष्टको भनाइ छ।

जिल्लामा पर्याप्त मात्रामा दरबन्दी नहुँदा उपल्लो डोल्पामा आवश्यक सुरक्षा व्यवस्थापन गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रत्येक वर्ष पुरातात्त्विक महत्त्वका मूर्ति तस्करी भइरहँदा पनि प्रहरीले संलग्न गिरोह पत्ता लगाउन नसकेको सरोकारवालाहरू बताउँछन्। योजनाबद्ध तरिकाले उपल्लो डोल्पाका गुम्बाहरू रित्याउने खेल हुँदासमेत प्रहरीले पेचिलो अनुसन्धान गर्न नसक्नुले पनि तस्करहरूलाई प्रोत्साहन मिलेको उनीहरूको भनाइ छ। स्थायी र अस्थायी गरेर उपल्लो डोल्पामा छवटा प्रहरी चौकीहरू रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.