|

‘म १७ वर्षसम्म ऋणमा डुबेको मानिस हुँ। १७ वर्षसम्म ऋणमा डुबेको मानिसलाई जिउन निकै गाह्रो हुन्छ। त्यही बखत मैले कविता लेखेको हुँ। जबजब म कवितामा बहकिन्थेँ, त्यो बेला म सुखको अनुभूति गर्थे र आशाको उज्यालो त्यतै देख्थेँ। मैले त्यसैको रङ पोत्ने कोसिस मात्र गरेको हुँ।’

माथिका भनाइ टंकबहादुर खुलालका हुन्। निरन्तर गहकिलो लेखनीका कारण पूर्वका चर्चित ‘सेलिब्रिटी’ भएका छन् उनी। उनी पूर्वका हरेकजसो साहित्यिक गतिविधिमा सधैँ हँसिलो अनुहारमा प्रस्तुत हुने गर्छन्। सार्क युवाकवि पुरस्कारबाट पुरस्कृत पहिलो नेपाली कवि पनि हुन् उनी। लेखेरै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान स्थापित गर्न लागिपरेका उनी अझ साहित्यमा युवा पुस्ताका ढुकढुकी नै मानिन्छन्। उनलाई उनको वास्तविक नाम टंकबहादुर खुलालबाट कमैले मात्र चिन्छन्। उनी चिनिने नाम हो- मनु मञ्जिल।

वि.सं. २०२७ असार १५ गते मकवानपुरमा बुबा वासुदेव खुलाल र आमा पद्मा खुलालको कोखबाट जन्मिएका मनु मञ्जिलले प्रारम्भिक शिक्षा त्यहीँबाट सुरु गरे। जन्मथलो मकवानपुरमा उनी  धेरै समय बस्न पाएनन्। त्यहाँ उनले प्राथमिक तहको शिक्षा मात्र लिन पाए। उनका बुबा वासुदेव खुलाल व्यापारी थिए। बुबाको व्यापारमा एकाएक ठूलो नोक्सानी आयो। बुबाको व्यापारमा नोक्सानी आएपछि त्यो पीडा भुलाउन उनले लेखन सुरु गरे। निरन्तर लेखनमा समर्पित भएका उनी आज कवि मनु मञ्जिल नामबाट प्रसिद्ध छन्।

यसरी सुरु भयो लेखन

उनी बालक छँदै भानुभक्तको शैलीमा छन्दमा कविता लेख्ने प्रयास गर्थे। उनले आफूले लेखेका कविता प्रकाशनका लागि काठमाडौंका प्रकाशनगृहमा पठाउँथे। त्यस बेला साहित्यिक पत्रिकाहरू मधुपर्क, गरिमामा पठाउँथे आफ्ना रचना। उनलाई आफूले राम्रो कविता लेखेकाले सजिलै छापिन्थ्यो भन्ने लाग्थ्यो तर कविता छापिँदैनथे। पटक पटक पठाएको कविता नछापिए पनि उनले हिम्मत भने हारेनन्। निरन्तर कविता लेखिरहे। आमाले घरमा सिर्जना गरेको सांगीतिक वातावरण पनि उनको लेखनको उत्प्रेरक भएको थियो। मनुकी आमाले घरमा हार्मोनियम बजाएर भजन गाउँदा उनी सुनिरहन्थे। यसको प्रभावले पनि उनी लेख्न खोजिरहन्थे। युवा हुँदा उनी लेखनको उचाइमा पुगे। 

यसरी आइपुगे इटहरी

सुरुमा उनी काठमाडौँको वीरेन्द्र सैनिक विद्यालयमा पढाउन थाले। त्यहाँ पढाउँदै गर्दा उनले विदेशमा एउटा अवसर पाउने भए। आर्मी स्कुलमा काम गरिरहेकाले त्यो अवसर उनले गुमाउनुपर्‍यो। अवसर आउँदा पनि उपयोग गर्न नपाएपछि उनलाई त्यहाँ जागिर खान मन लागेन। जागिर छाडेर उनी रौतहट पुगे। उनले केही समय रौतहटको चन्द्रनिगाहपुरमा पढाए। त्यहाँ पढाउँदै गर्दा उनले एसओएस हर्मन माइनर स्कुल इटहरीमा अंग्रेजी शिक्षक चाहिएको कुरा थाहा पाए। एक जनाको दरबन्दीका लागि ५५ जनाबीच प्रतिस्पर्धा भयो। त्यो प्रतिस्पर्धामा उनी छानिए। अंग्रेजी शिक्षकको नियुक्ति पाएपछि २०५४ सालमा उनी इटहरी आए। इटहरीमा अहिले उनी विभिन्न स्कुल र कलेजमा शिक्षाको ज्योति फैलाउन सक्रिय छन्। पूर्वमा हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा उनी एउटा सशक्त सर्जकको रूपमा सक्रिय छन्। 

उनका ‘दुश्मन’, ‘पहराको साँघुरो बाटोमा’लगायत कविता चर्चित कविता हुन्। उनका कवितामा बिम्बको सशक्त प्रयोग, धारिला शब्द चयन, गहन प्रतीक तथा सुमधुर लय पाइन्छ। मनुका आँधीको आवेग, ल्यम्पोस्टबाट खसेको जून कवितासंग्रहहरूमा प्रकाशित कविताले मानिसलाई आशावादी बन्न र केही गरेर देखाउन प्रेरित गरेका छन्।

यसरी सक्रिय भए इटहरीमा

इटहरी बस्न थालेको केही दिनपछि उनले संगीत र साहित्यको गतिविधिमा सक्रियता जनाउन थाले। इटहरीका केही साथीहरूसँग मिलेर उनले साहित्य संचार समूह बनाए। ‘कोसेढुंगा’ नामक पत्रिका पनि प्रकाशन गरे। इटहरीलाई कर्मथलो बनाएका उनको विराटनगरका कवि स्वर्गीय कृष्णभूषण वल, कथाकार परशु प्रधानलगायतसँग नियमित भेटघाट हुन थाल्यो। दार्जिलिङ, सिक्किमलगायत क्षेत्रका साहित्यिक गोष्ठीहरूमा पनि उनले सहभागिता जनाउन थाले। त्यो सहभागितापछि उनमा थप उत्साह थपिँदै गयो र राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा कविको पहिचान बनाउन सफल भए। 

उनले २०६५ देखि २०६७ सम्म लगातार तीन वर्ष सार्क साहित्यिक फेस्टिभलमा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुने मौका पाए। सार्ककै शीर्ष साहित्यिक संस्था फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचर्सले भारतीय राजदूतावासलाई ४० वर्षभन्दा कम उमेरको, अंग्रेजीमा उच्चस्तरको प्रस्तुति दिन सक्ने, कविता अनुवाद गर्न सक्ने, पुस्तकसमेत प्रकाशन गरिसकेको साहित्यकार पठाउन भनेको थाहा पाएपछि उनले त्यहाँ सहभागिता जनाउन पाए। उनले त्यतिबेला एउटा कार्यपत्र र १० वटा कविता अंग्रेजीमा अनुवाद गरेर पठाए। त्यहाँ उनले लगातार तीन वर्ष अन्तर्राष्ट्रियस्तरको प्रस्तुति दिन भ्याए। उनको त्यही प्रस्तुतिले सार्क अवार्डका लागि उनी सिफारिस भएर सन् २०११ मा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्रीको हातबाट सार्क युवा कविको पुरस्कार थापे। 

यी हुन् उनका कृतिहरू

कवि मनु मञ्जिलको ‘आँधीको आवेग’ र ‘ल्याम्पपोस्टबाट खसेको जून’ कवितासंग्रह प्रकाशित छन्। ‘ल्याम्पपोस्टबाट खसेको जून’ कवितासंग्रहले उनलाई नेपाली कविता जगतमा स्थापित गराएको हो। उनका ‘दुश्मन’, ‘पहराको साँघुरो बाटोमा’लगायत कविता चर्चित कविता हुन्। उनका कवितामा बिम्बको सशक्त प्रयोग, धारिला शब्द चयन, गहन प्रतीक तथा सुमधुर लय पाइन्छ। मनुका आँधीको आवेग, ल्यम्पोस्टबाट खसेको जून कवितासंग्रहहरूमा प्रकाशित कविताले मानिसलाई आशावादी बन्न र केही गरेर देखाउन प्रेरित गरेका छन्। उनको प्रसिद्ध ‘दुश्मन’ कविता यसरी अघि बढ्छ।

मेरो एउटा दुश्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मनपराउँछु।

ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैँचामा वसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फूलले नमगमगाउनु भन्छ
मेरा बाल बचेराले उसले सुन्ने गरी नकराउनु भन्छ
उसलाई दुख्ने गरी नरमाउनु भन्छ।

ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र, परबाट बाटो हिँड्ने जोकोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घर अघाडिको चौतारामा नबसून् भन्छ।

उसलाई मेरो घरमाथि चरा बसेको मनपर्दैन
जून मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरू फुलेको
कुलाको पानी मेरो गैरीखेतमा डुलेको
उसलाई केही मनपर्दैन।

यो वर्षात किन मेरो घरको छानो भत्काउँदैन?
पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आँउदैन?
आगो किन यसरी अँगेनामा चुपचाप छ?
किन झिल्को जुनकीरी जस्तो माथिमाथि उड्दैन?
किन केही जलाउँदैन?

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राती चोर आएर भकारीमा घुसोस्
मेरा ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ
तर म उसलाई फूलजत्तिकै मनपराउँछु
यत्रो दुनियाँमा ऊबाहेकको अरू
मेरो साथी, सगोत्री
आफ्नो, अर्को
ठूलो, सानो
परिचित, अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानी, फूल, जून र चराहरू भुलेर
घर, धर्ती र आकाश भुलेर
मबारे यतिविघ्न सोचोस्
मलाई यतिविघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा पाटै नहुनु रहेछ।

म उसलाई फूलजत्तिकै मनपराउँछु!

युवा पुस्तालाई यस्तो छ उनको सुझाव

उनी जस्तोसुकै अप्ठ्यारोमा पनि निराश नभई निरन्तर मिहिनेत गर्न सकियो भने सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने सोचबाट आज यस्तो अवस्थामा आएकाले हरेश नखान उनको सुझाव छ। जे गरे पनि उत्कृष्ट गर्ने हिसाबले काम गर्न सके गरेका सबै काम सम्मानित हुने उनको भनाइ छ। आफू जुन क्षेत्रमा काम गरिरहिएको छ, त्यही क्षेत्रमा मिहिनेत गर्न सकियो भने अवश्य सफलताको शिखरमा पुग्न सकिने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.