|

बैतडी : पछिल्लो केही वर्षयता बैतडीको सतबाँझमा स्याउ फल्न छोडेको छ। स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको हो।

विसं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सतबाँझमा पहिला देशभरीकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए।

प्रदेश सातका पहाडी जिल्लामध्ये सतबाँझ स्याउका लागि प्रसिद्ध ठाउँ भए पनि पछिल्लो समयमा चिस्यानको कमी भएपछि सुख्खा फलफूल विकास केन्द्रले अन्य फलफूलको खेती शुरु गरेको छ। ‘चिस्यानको कमी भएपछि स्याउ फल्न छोडेको छ। स्याउ फल्न छोडेपछि हामीले सुख्खा फलफूलमा जोड दिएका छौँ। अहिले हामीले ओखर खेतीलाई प्राथमिकतामा राखेका छौँ’ सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख पाण्डेयले भने ‘चालु आर्थिक वर्षमा हामीले ५५  हजार थिनसेल जातको दाँते ओखरको बीउ नर्सरीमा राखेका छौँ। डेढ वर्षको अवधिमा अचेल राखेका बिरुवा रोप्न लायक हुनेछन्।’

अन्य फलफूलभन्दा ओखरबाट किसानहरूलाई आम्दानीका लागि राम्रो हुने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए। उनले भने ‘हाम्रो नर्सरीमा रोप्न लायकका ओखरका बोटहरू पनि छन्। अहिले करीब दुई हेक्टर जमीनमा ओखरको बीउ राखेका छौँ। किसानहरूलाई प्रत्येक वर्ष अनुदानमा समेत बिरुवा वितरण गरिरहेका छौँ।’

स्याउ फल्न छोडेपछि ओखर, नासपाती, खुर्पानीलगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको सुख्खा फलफूल विकास केन्द्रले किसानहरूलाई सीप पनि सिकाइरहेको किसान देवदत्त भट्टले बताए। उनले भने ‘हामीले पनि सुख्खा फलफूल विकास केन्द्रबाट धेरै सीप सिकेका छौँ। गुरुखोलामा मात्रै २२ वटा निजी नर्सरी छन्। स्याउ फल्ने समयसम्म स्याउका बोट उत्पादन गर्थ्यौं। अहिले हामीहरू पनि अन्य फलफूलका बिरुवा उत्पादनमा लागेका छौँ।’

सुख्खा फलफूल विकास केन्द्रले कम चिस्यानमा उत्पादन हुने स्याउको जातको खोजीमा लागेको पनि जनाएको छ। ‘स्याउ उत्पादनका लागि सतबाँझ प्रसिद्ध ठाउँ हो। अहिले बढी तापक्रममा उत्पादन हुने जातको स्याउको खोजीमा हामी लागिरहेका छौँ। चिस्यान कम भए पनि फल्ने स्याउको बिरुवा लगाउने तयारी पनि हामीले गरिरहेका छौँ’ केन्द्रका प्रमुख पाण्डेयले भने, ‘तत्कालका लागि भने हामीले सुख्खा फलफूलका बिरुवाहरू नर्सरीमा राखेका छौँ। जैतुनका बिरुवा पनि हामीले नर्सरीमा राखेका छौँ।’

यसरी स्याउ उत्पादन घटेपछि केही वर्षयता स्याउका बिरुवा सुकेको ठाउँमा नासपाती, आरुबखडा, खुर्पानी, ओखर, चुच्चेओखर, कटुस, हलुवावेद, कागती बदामजस्ता फलफूल पनि लगाइएका छन्। पछिल्लो समयमा खडेरी पर्दै गएपछि पहिले उत्पादन हुने सबै फलफूलहरूमा अहिले कमी आएको छ। बागबानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेय भने 'सशस्त्र द्वन्दका बेला व्यवस्थापन कार्यमा कमी आयो र स्याहारसम्भारमा ध्यान दिन नपाउँदा प्राकृतिक प्रकोपले अहिले समस्या आएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.