|

बैतडी : प्रदेश सात (सुदूरपश्चिम) मा मनाइने महान पर्व गौरा साेमबार धुमधामसित मनाइएको छ। हिजो  भित्र्याएको गौरालाई ब्रतालु महिलाले गौरा खलामा लगेर पूजाआजा गरेका छन्।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गरिएको हो। ब्रतालु महिलाले गौरा घरमा रहेको गौरादेवीको प्रतिमूर्तिलाई विशेष श्रृंगारपटार गरेर अठ्यवाली गाउँदै गौराको पूजा गरिएको हो। भाद्र महिनाको कृष्ण वा शुक्ल पक्षमा पर्ने गौरा पर्व यो क्षेत्रको मौलिक पर्व हो। यस वर्ष कृष्ण पक्षमा परेको गौराको दुर्वाष्टमी अर्थात अठ्यावाली मुख्य दिन हो। अठ्यावालीका दिन ब्रतालु महिलाले भगवान शिव र पार्वतीको फागमार्फत गाथा गाउँदै पूजाआजा गरेका आचार्य घनश्याम लेखकले बताए। अरु समयमा देवीदेवताको अक्षताले पूजा गर्ने चलन रहे पनि गौरामा बिरुडाले पूजा गर्ने चलन रही आएको छ।

गौरादेवीको बिरुडाले पूजा गर्दै फागमार्फत गौरा महेश्वरको आराधना गरिएको छ। गौराको पूजा गरेपछि महिलाहरूले बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि धारण गरेका छन्। ब्रतालु महिलाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तको चिरायु दीर्घायुको कामना गर्दै बिरुडाले टाउको पुजेका छन्। बिरुडालाई गौराको मुख्य प्रसादको रुपमा लिइन्छ।

बिरुडाले टाउको पुज्ने बेला महिलाहरुले विभिन्न किसिमका आशिष दिने गरेका छन्। गौरामाताको प्रसाद स्वरुप बिरुडाले टाउको पुज्ने यो बेला आशिष दिने चलन रही आएको छ। गौराको फाग सहित पूजाआजा गरेपछि आज नै ब्रतालु महिलाले दुबधागो धारण गरेका छन्। अमुक्ताभरण सप्तमीका दिनमा गौरामा चढाएको दुबधागो ब्रतालु महिलाले दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने परम्परा छ। 

गौरामा महिलाहरूले गौराको पूजा गरेपछि आफ्ना आफन्तहरूसँग सुखदुख साट्न ड्यौडा खेलमा पनि सरीक भएका छन्। दिनभरि गौराको पूजामा सरिक ब्रतालु महिलाहरू साँझको समयमा ड्यौडामा रम्ने गर्दछन्। ड्यौडामा सुखदुख र मायाप्रितिका गीत समेटिने गरेको दोगडाकेदार-३ श्रीकोटका गणेश विष्टले बताए।

महिला जस्तै गौरापर्वको मुख्य दिनमा पुरुषले पनि ठाडो खेल, ढुस्को, धमारी खेलेका छन्। विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल,ढुस्को धमारी गौरापर्वमा खेल्ने चलन रहेको छ। यसका साथै मंगलवारदेखि बैतडीका अधिकांस देवीदेवताका मन्दिरमा जात्रा सुरु हुने भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.