पोखरा : आन्तरिक तथा बाह्य पर्यटकका साथै सेवाग्राहीलाई लक्षित गरी पोखराको १० ठाउँलाई फ्री वाइफाई जोन बनाउन सुरु गरिएको छ। पोखरा महानगरपालिकाले वर्ल्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा नि:शुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो। नि:शुल्क वाइफाई उपलब्ध गराउने विषयमा महानगरपालिका र वर्ल्ड लिंक प्रालिबीच सोमबार सम्झौतापत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसी र वर्ल्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरेर कामको सुरुवात गरे।
महानगरपालिकाको अनुसार विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्ड्रेन पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनाशतालको पार्क र लायन्स सामुदायिक अस्पतालमा नि:शुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुने पोखरा महानगरपालिकाका प्रमुख जिसीले जानकारी दिए। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वर्ल्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको सिइओ नेपालले जानकारी दिए।
‘पोखरालाई स्मार्टसिटी बनाउने हाम्रो लक्ष्य हो’ महानगरप्रमुख जिसीले भने ‘सोही अवधारण अनुसार महानगरबासीलाई इन्टरनेटमार्फत घरघरमै सेवा पुर्याउन महानगर लागि परेको छ त्यसैको एउटा काम यो पनि हो।’ निशुल्क वाइफाई सेवालाई अरू ठाउँमा पनि विस्तार गर्ने योजना महानगरको रहेको उनको भनाइ छ। अहिले तोकिएको १० ठाउँमा एक महिनाभित्र सेवा लिन पाउने वर्ल्ड लिंक पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले जानकारी दिए।
वर्ल्ड लिंकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउँदै आएको छ। महानगर र वल्र्डलिंकले निशूल्क सेवा प्रदान गर्नका लागि तीन वर्षको सम्झौता गरेका छन्। इन्टरनेट सञ्चालनको लागि हुने विद्युत खर्च भने महानगरले बेहोर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।