बैतडी : दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएका छन्। जसमा २१ महिला र १७ बालबालिका रहेका छन्।
आर्थिक वर्ष २०७४/७५ मा ३४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेका छन्। जसमा २५ महिला र नौ बालबालिका रहेको प्रहरी कार्यालयको तथ्यांकमा छ। यस्तै चालु आर्थिक वर्षको हालसम्म तीन महिला र दुई बालबालिका परिवारको सम्पर्कबाट बाहिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
दुई वर्षको तथ्यांक हेर्दा बैतडीमा महिला हराउने क्रम बढ्दै गएको छ। उनीहरु घरपरिवारको सम्पर्कवबहिर रहेका हुन्। हराउनेमध्ये कोहीले दोस्रो विवाह गर्ने महिला र केही सानै उमेरमा विवाह गरी भारततिर रहेको हुनसक्ने प्रहरीले अनुमान छ। प्रहरी प्रवक्ता जोशीले भने, ‘हराएका महिलाहरु भागेर अर्कैसँग बिहे गरेको पाइएको छ।’ केही बालबालिकाहरु घरमा आर्थिक अवस्था कमजोर भएर साथीहरुको लहैलहमा लागेर भारतमा रोजगारीको लागी पसेका पनि भेटिएका छन्।
हराएकामध्ये केही सम्पर्कमा आएका छन्। आर्थिक वर्ष २०७३/७४ मा हराएका ३८ जनामध्ये १० महिला र ११ बालबालिका सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। २०७४/७५ मा हराएका ३४ जनामध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन्। यस्तै चालु आर्थिक वर्षमा हराएका पाँच जनामध्ये एक बालिका सम्पर्कमा आएकी छन्।
खोजबिनका लागि प्रहरीलाई खबर गर्ने भए पनि घरपरिवारको सम्पर्कमा आएपछि जानकारी नगर्ने पनि पाइएको प्रहरीका भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।