|

त्रिपुराकोट(डोल्पा) : उपल्लो डोल्पाको धो उपत्यकामा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ। सदरमुकाम दुनैदेखि तीन दिनलाग्ने धो उपत्यकामा पहिलोपटक प्रदेश सरकारको २ करोड लगानीमा अत्याधुनिक प्रहरी चौकी बन्ने भएको हो।

'धो मा सुविधा सम्पन्न इलाकास्तरीय प्रहरी चौकी निर्माण हुँदै छ, त्यसका लागि प्रदेश सरकारले २ करोड रकम विनियोजन गरिसकेको छ' कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने।

'डोल्पो बुद्ध गाउँपालिकामा पर्ने धो मा चौकी निर्माणपछि त्यहाँका जनतालाई बाह्रै महिना सुरक्षाको प्रत्याभूति हुनेछ, निर्माण गर्दै जाँदा रकम नपुग भए पनि कर्णाली सरकाले व्‍यवस्था गर्नेछ,' मन्त्री भण्डारीले, 'विशेष गरेर उक्त चौकीले चीनसँग जोडिएको मोरिम्ला–क्याटो नाकाको सुरक्षा पोष्टको रूपमा काम गर्नेछ।'

उपल्लो डोल्पाको धोसँगै हुम्ला जिल्लामा पर्ने हिल्सा नाकामा पनि प्रदेश सरकारकै तीन करोड लगानीमा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने मन्त्री भण्डारीले बताए। 'पल्लोपट्टि चाइनिज सुरक्षाकर्मी सुविधासम्पन्न भवन बसेका हुन्छन्, अत्याधिक चिसोमा पनि गर्मी महसुस गराउने भवनहरु बनाइएका छन्, यता हाम्रा सुरक्षाकर्मी भने कठ्याङ्ग्रिँदै सीमा सुरक्षा गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा हाम्रा सुरक्षाकर्मीले कुन स्वाभिमानले सुरक्षा देलान्' मन्त्री भण्डारीले भने।

चौकी निर्माणपछि भारी हिमपातमा पनि तातोको महसुस हुने र चौकीभित्रै भरपर्दो सञ्चारसुविधा जडान हुने बताइएको छ। मन्त्री भण्डारीले चौकी निर्माण हुने भनिएको भूगोलको निरीक्षणसमेत गरिसकेका छन्। समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा पर्ने धो उपत्यकामा अत्याधुनिक इलाकास्तरीय प्रहरी चौकी निर्माण हुने भएपछि उपल्लो डोल्पाको सुरक्षा अवस्था मजबुत हुने भएको हो।

प्रत्येक वर्ष चोरी, लुटपाटका कारण उपल्लो डोल्पा अशान्त बन्दै आए पनि चौकी निर्माणपछि सुरक्षित महसुस हुने भन्दै उपल्लो डोल्पावासी खुसी भएका छन् अहिले उपल्लो डोल्पामा ६ वटा प्रहरी चौकी रहेका छन् जसमा ४ वटा अस्थायी र २ वटा स्थायी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। स्थायी चौकी भने बाह्रै महिना उपल्लो डोल्पामा रहन्छन् भने अस्थायी चौकी भने सिजनल भएकाले हिँउ पर्दा तल्लो डोल्पामा रहेको जिप्रकामा गाभिने गर्दछन्। उपल्लो डोल्पामा रहेका ६ वटा चौकीमा कुल ३३ जना प्रहरी कार्यरत रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.