|

लमजुङ : बेसीशहर–चामे सडक खण्डमा बर्खामा पहिरो जाने क्रम नौलो होइन। अधिकांश स्थानमा वर्षौँदेखि दोहोरिएर पहिरो खसिरहेको छ। एउटा पहिरोको व्यवस्थापन हुन नपाउँदै  पुनःअर्कोले सडक अवरुद्ध पार्छ।

पहिरोका कारण सडक थुनिएपछि  यात्रुहरु पैदलै यात्रा गर्न बाध्य छन्। ‘पहिरो गएको सडकमा हिँड्दा जंगलमा हिँडेको हो कि सडकमा, पत्तो हुँदैन।’ यात्रु राजकुमार राउतले भने, ‘पहिरो रोकिएपनि माथिबाट आएर पुर्ला भन्ने डर। हिँड्दाहिँड्दै सडकको ट्रयाक बिर्सिएला जस्तो हुन्छ।’ छोटो समयको वर्षाले पनि बेसीसहर–चामे सडकमा सवारी आवागमन बन्द हुन्छ। वर्षाको कारण सोमबार दिनभर खरखरे पहिरोले सडक अवरुद्ध भएको थियो।

लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका–६ भोटेचौर सामुदायिक वन र अक्कर सामुदायिक वनमा रहेको उत्तीसघारीको दुईवटा खरखरे पहिरो यात्रुका लागि टाउको दुखाइ बनेको वडाध्यक्ष भोजबहादुर रिमालले बताए, ‘मनाङ जाने सडकको स्वरूप दुई दशक अघि शुरु भएको खरखरे पहिरोले नष्ट गरेको छ। समस्या समाधानका लागि सुनुवाइ गर्दा पनि स्थानीय सरकारदेखि कुनै निकाय गम्भीर भएनन्।’

खरखरे पहिरो माथि १९ घरको सारिङ फाँटगाउँ छ। खरखरे पहिरोको कारण वर्षौदेखि फाँटगाउँवासी पहिरोको जोखिममा रहेका छन्। पानी परेपछि फाँटगाउँवासीलाई पहिरोको पीडा हुने गरेको स्थानीय शिक्षक टंकबहादुर अधिकारीले बताए, ‘पानी परेपछि पहिरोसँगै गाउँ पनि बग्छ कि भन्ने चिन्ता छ।’

खरखरे पहिरोको असरले फाँटगाउँवासीलाई घाँसदाउरा गर्न पनि समस्या भएको स्थानीय कमला अधिकारीले बताइन्, ‘घाँसदाउरा गरेर जंगलबाट घरमा आउने बाटो पनि पहिरोले तान्यो, बाटो छैन। पहिरोले गर्दा धाँजा फाटेका छन्।’ अहिले स्थानीयको पीडा गाउँ नजिकै रहेको पहिरोमा रहेको छ। खरखरे पहिरोले फाटेका धाँजाहरु गाउँ नजिकिँदै छन्।

फाँटगाउँ मुन्तिरको धानखेत भदौको महिनामा पानी नलगाए पनि भएन। खेतमा पानी लगाउँदा पहिरोको डर पनि भएको स्थानीयको आशंका छ।  समयमै पहिरोको नियन्त्रण गर्न नसकेमा फाँटगाउँवासी विस्थापित हुने अवस्थामा रहेको सहजै अनुमान गर्न सकिन्छ।

वर्षैपिच्छे जाने पहिरोले भोटेचौर सामुदायिक वनको क्षेत्र जोखिममा रहेको बनका अध्यक्ष गंगामाया रिमालले बताइन्, ‘पहिरोको कारण सामुदायिक वनमा रुख घटे। पहिरोसँगै आएको ढुंगाको अवैध रूपमा उत्खनन् हुँदा पहिरो बढेर गाउँलाई नै असर परेको छ।’ त्यस्तैगरी अक्कर सामुदायिक वनमा पनि पहिरोले ठूलो क्षति पुगेको वनका अध्यक्ष दण्डबहादुर गोदारले बताए। ‘हाम्रो वन मात्रै हैन, बस्ती नै जोखिममा परेको छ’, उनले भने, ‘वन क्षेत्र वर्षैपिच्छे पहिरोले तानेको छ। पहिरो नियन्त्रणका लागि जिल्ला प्रशासनमा समेत निवेदन दिएका छौँ।’

वन क्षेत्र भत्किएर नै बेसीशहर चामे सडक खण्ड अवरुद्ध हुने गरेको छ। साथै मस्र्याङ्दी नदीको किनारमा अवस्थित सडकमार्ग बेलाबेलामा भासिने गरेको छ। वन क्षेत्र जोगाउनका लागि अवश्यक पहलकदमीका कामहरु नहुँदा वन क्षेत्र नष्ट हुनुको साथै यात्रुहरुले पनि सास्ती भोग्नु परेको छ। ‘जुन नेतालाई जिताएर पठाए पनि बाटोको हालत उस्ताका उस्तै छ।’ स्थानीय समाजसेवी विष्णु बिष्टले आक्रोशित हुँदै भने, ‘सडक सुधारका लागि अब त नेतालाई भन्दाभन्दै दिक्क भयौँ।’ 

बेसीशहर चामे सडक सडकखण्डको लमजुङतर्फ मर्स्याङ्दी गाउँपालिका ४ च्याम्चे नजिकै घट्टेखोला र बुङछहरा क्षेत्र, काप्रेभीर, मर्स्याङ्दी ३ अर्खलेबेसी पहिरोले स्थानीय र यात्रुलाई सास्ती खेप्न बाध्य बनाएको छ। सडकखण्डहरूमा पानी पर्नेबित्तिकै अधिकांश स्थानमा पहिरो खस्छ र बाटो अवरुद्ध हुन्छ। बेसीशहर चामे सडकखण्डका मिनी ट्रक चालक असिम तामाङका अनुसार मनाङतर्फ चामे गाउँपालिका ३ कोदो नजिकै घरीघरी बग्ने पहिरोले सडक अवरुद्ध गरिरहन्छ। त्यस्तैगरी जिपचालक सोम मगरातीले भने, ‘खरखरे पहिरोमा जस्तैगरी कोदोमा पनि पानी परेपछि पहिरो चलिहाल्छ। पानी परेको छ भने मनाङ जानै हुन्न।’

बेसीशहर चामे सडक खण्डमा पहिरो गएर बाटो बन्द भएपछि घरीघरी फोन आउने गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। उनले भने, ‘पहिरो नियन्त्रण गर्न सकियो भने बाटो पनि अवरुद्ध हुँदैन। जिल्लामा भुसंरक्षण कार्यालयको टुंगो पनि लागेको छैन।’ प्रमुख जिल्ला अधिकारी ढकाल आफूसमेत सडकको हालतमा चिन्तित भएको बताए। ‘सडक अवरुद्ध भयो भनेर गुनासा आएको छ। अहिले सडक पन्छाएर यातायात सुचारु गर्नेबाहेक अन्य दीर्घकालीन योजना बनाउन सकिएको छैन’, उनले भने। 

जिल्ला वन कार्यालय सडक भासिने र सामुदायिक वनको पहिरो रोकथामको जिम्मा कार्यालयको नभएको बताउँछन्। सहायक वन अधिकृत बालकृष्ण खानालले भने, ‘हामीले वृक्षरोपणका लागि बिरुवा वितरण गरेका छौँ। पहिरो रोकथामको उपाय हामीसँग पनि छैन।’ 

बेसीसहर देखि मनाङ सदरमुकाम चामे सडक ६५ किमी दूरीमा रहेको छ। दुई दशकअघिदेखि निर्माण थालिएको उक्त सडकखण्ड ट्रयाक खोलेर सम्पन्न भएपछि नेपाली सेनाले २०६९  मंसिर ७ गते सरकारलाई बुझाएको थियो। त्यसपछि सडकको रेखदेख डिभिजन सडक कार्यालय दमौलीले गर्दै आएको छ। यसअघि समयमा काम नसकिने र राम्रो नभएको आरोप आइरहेको बेला संघीय संरचनासँगै सडकको मर्मतकार्य अन्योलमा परेको छ।

अहिले सडक डिभिजन कार्यालय पनि अन्योलमा रहेको छ। ‘बेसीशहर चामे सडक अहिले बीपीसी (बुटवल पावर कम्पनी)मार्फत चिनियाँ कम्पनीलाई स्तरोन्नतिको काम दिइएको छ। संघीय सरकारले हेर्ने कि प्रदेश सरकारले हेर्ने, अझै अन्योलमै छौँ।’ डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीले भने।पहिरो नियन्त्रण गर्नका लागि सरकारले दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने इन्जिनियर जोशीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.