'पैसा कमाउन नसके पनि नाम भने कमाएको छु'

|

डोल्पा : 'मान्छेको जीवनमा आफ्नो सपना साकार पार्ने चाहाना कसको पो हुँदैन र! तर चाहना हुँदाहुँदै पनि सबैको भाग्यमा हुँदो रहेनछ चाहन पूरा गर्ने कुरा', ८० वर्षीय रविप्रसाद न्यौपानेले भने।

ढल्कँदो उमेरमा पनि बिहानै उठ्नु र पुजापाठ गर्नु उनको आजभोलिको नियमित कर्म हो। खाली समय हुनेवित्तिकै लेख्न थालिहाल्छन् न्यौपाने। आफूले चार दशकदेखि लेखन कार्य सुरु गरेको बताउँछन् उनी। 'लेख्दालेख्दा गीत, कथा, कविता, इतिहासका चाङ लागेका छन्, केही प्रकाशन गरेको छु, केही प्रकाशनको तयारीमा छु', न्यौपानेले भने।

न्यौपाने जिल्लामै ख्यातिप्राप्त व्यक्ति हुन्। बहुप्रतिभाशाली व्यक्तिको रूपमा परिचित न्यौपानेलाई ओझेलमा परेमा सामाजिक पात्र भन्दा पनि फरक नपर्ला।
'कोही मान्छे प्रतिभा नभएर पछि पर्छन्, मचाहिँ प्रतिभा भएर पनि केही गर्न सकिनँ, बाध्यताको अगाडि चाहनाको केही सीप नचल्दोरहेछ', न्यौपानेले भने।

त्यसपछि गीत गाउन थाले उनी। चार-पाँच महिना न्यून पारिश्रमिकमा गीत रेर्कड गराए। जे जस्तो भए पनि जन्मथलो भनेको स्वर्गभन्दा पनि प्यारो हुन्छ। घरको याद घेरै आउन थाल्यो उनलाई। 'तर तुरुन्तै घर फर्कने इच्छाचाहिँ थिएन', उनले भने।

वि.सं. १९९४ मा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकोटमा जन्मिएका न्यौपाने लेखन, गायन, हास्यव्यंग्य लगाएतका क्षेत्रमा पोख्त छन्। उनीसँग प्रशस्तै कला भए पनि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा आफ्नो कला देखाउन नपाउँदा उनको मन अशान्त छ। जीवनको उत्तरार्द्धमा समेत पश्चाताप हुन्छ उनलाई- आफ्नो प्रतिभा सबैतिर चिनाउन नपाएको भन्दै। 'घरायासी बन्धनले मेरो प्रतिभालाई जिल्लाभित्र मात्रै थन्क्याइदियो, प्रतिभालाई देश विदेशमा देखाउन नसक्नु जीवनको सबैभन्दा ठूलो पश्चताप हो',न्यौपानेले भने, 'सायद रेडियो नेपालमा बस्न पाएको भए मेरो सपना साकार हुने थियो।'

गायन क्षेत्र असाध्यै मनपर्थ्यो उनलाई। त्यतिखेर गाईगोठ, वन पाखामा गएर केटा र केटी गीत गाउने र मनोरंजन गर्ने चलन थियो। 'म पनि समय मिल्नेवित्तिकै गीत गाउन जान्थेँ, साह्रै रमाइलो हुन्थ्यो', उनले भने। एकाएक राष्ट्रिय कलाकार बन्ने इच्छा जाग्यो उनलाई। स्वर राम्रो छ सबैले भन्थे। कलाकार बन्न काठमाडौं जा भनेर साथीभाइले भन्थे। 'अरूको प्रशंसा, मेरो जीवनको लक्ष्य त्यही गायन क्षेत्र नै थियो। मैले निधो गरेँ- भागेरै भए पनि काठमाडौं जान्छु अनि एक चर्चित कलाकार बन्छु भन्ने मैले अठोट लिएँ।'

घरकाले काठमाडौं जाने स्वीकृति दिँदैनन् भन्ने आफूलाई थाहा भइसकेको तर हार खाइसकेका भने थिएनन् उनले। अन्तत: सपनाको पोको बोकेर गाउँकै साथी लक्ष्मीनारायण उपाध्याय, प्रमानन्द देवकोटासँगै भागेर काठमाडौं लागियो। त्यतिखेर डोल्पामा जन्मिएर राजधानी देख्न पाउनु कमै मान्छेको भाग्यमा हुन्थ्यो। धनीमानी र हुनेखाने मात्रै पढ्नका लागि काठमाडौं पुग्थे।

आजभन्दा ७०-८० वर्ष अगाडि डोल्पाबाट, काठमाडौं, नेपालगंज पुग्न दुई साता नै लाग्थ्यो। भेरीको तीरैतिर हिँड्नुपर्थ्यो। 'बाटो एकदमै अप्ठ्यारो भएकाले राजधानी डोल्पालीहरूका लागि सात समुद्रपारि जस्तै लाग्थ्यो', न्यौपानेले भने।

खान बस्नलाई बाटोमा न घर हुन्थे, न होटेलहरू नै। बेलुकीको बास ओडारमा हुन्थ्यो। खानेकुराहरू सबै घरबाटै बन्दोबस्त गरेर हिँड्नुपर्थ्यो। भागेर काठमाडौं पुग्ने कुरा सहज थिएन तैपनि तीब्र इच्छाको अगाडि कसैको केही चलेन।

त्यतिखेर सानैमा विवाह गर्ने चलन थियो। उनको पनि उस्तै भयो। घरमा कामकाज गर्न गाह्रो भएको भन्दै जबर्जस्ती विवाह गराइदिए घर परिवारले।
विवाह गरेलगत्तै अंशबण्डा छुट्याइदिए। विवाह गरिसकेपछि सम्पूर्ण घरायसी कामकाज सम्हाल्नुपर्ने परिवारको दबाब थियो। घरको दबाब हुँदाहुँदै पनि वि.सं. २०२२ मा कर्णालीको जुम्लामा कर्मकाण्ड सिक्न गए उनी।

त्यतै चार वर्ष बिताए। डोल्पा फर्किसकेपछि केही वर्ष पढाउने काम पनि गरे डोल्पामै। पहिले डोल्पालीहरूको पढाइमा त्यति चासो थिएन। थोरै पढेलेखेकाहरूले पनि जागिर पाइहाल्थे। त्यसपछि पढाउने काम पनि छाडे उनले।

'मलाई गायक बन्ने भुत चढिसकेको थियो। गाउँघरमा बस्दा पनि मेलापातमा स्थानीय युवतीहरूसँग दोहोरी गाइन्थ्यो। सबैले मेरो स्वरको प्रशंसा गर्थे', उनले भने, 'त्यस कारण पनि आफ्नो स्वर राम्रो भएको महसुस हुन्थ्यो।'

विवाह गरेको तीन-चार महिना भएको थियो। 'तिमीहरूले आफ्नो अंशबण्डा लैजाऊ र छुट्टा बस' भने घरमा। 'मैले मानेको थिइनँ। म पहिले काठमाडौं पढ्न जान्छु, त्यसपछि मात्रै आएर अंशबण्डा गरौँला भनेको थिएँ', न्यौपानेले भने। घरकाले काठमाडौं जाने कुरा ठाडै अस्वीकार गरे। तर राजधानीको रहर, पढाइका साथै गायनप्रतिको चाहनाले गर्दा काठमाडौं भाग्न बाध्य बनायो उनलाई।

विभिन्न कठिनाइका बाबजुद पनि दुई साता लगाएर काठमाडौं पुगे उनी। 'अहिलेका जस्तो गाडीको सुविधा कहाँ पाउनु? पैदल हिँड्नुपर्थ्यो', उनले भने।  

२०२६ साल माघमा काठमाडौं पुगे। दुर्गम ठाउँमा बसेको मान्छे देशको राजधानी पुग्दा नौलो अनौठो नलाग्ने त कुरै भएन। राजधानी पुगिसकेपछि डेरा खोज्न सुरु गरे। त्यतिखेर काठमाडौंको अधिकांश जमिन खाली थियो। कतैकतै मात्रै घरहरू थिए। 'पुरानो वानेश्वर धोबीधारास्थित पिताम्बर मराठाको घरमा मासिक एक सय रुपैयाँमा डेरा पाइयो', न्यौपानेले भने, 'त्यतै बस्न सुरु गरियो। डेरा त पाइयो तर पढ्ने स्कुल कसरी पत्ता लगाउने र कुन स्कुल पढ्ने भन्ने अन्योलमा परियो।'

प्रारम्भिक शिक्षा घरमै लिइसकेकाले दिउँसो विजय मेमोरियल हाइस्कुल डिल्लीबजार र बेलुका रत्नराज्य लक्ष्मी रात्रि प्रौढ स्कुल बानेश्वरमा पढ्ने व्यवस्था मिल्यो। दुर्गम ठाउँबाट गएकाले कक्षा १० नि:शुल्क अध्ययन गर्ने अवसर मिल्यो।

'विद्यार्थी जीवन एकदमै कष्टकर हुँदोरहेछ। सुरुमा घरबाट भाग्दाखेरि काठमाडौंको खर्च भनेर पैसा चोरेर लगेको थिएँ', उनले भने, 'केही महिनापछि त्यो पैसा सकियो। राजधानीमा कसैसँग चिनजान थिएन।'

एक दिन खर्चबर्च सबै सकियो। पैसा सकिएपछि बेसहारा जस्तै भए उनी। 'कति दिन त भोकभोकै पनि काट्यौँ। कहिले भटमास खाएरै पनि रात कटाइयो', न्यौपानेले विगतलाई सम्झिए।

त्यतिखेर डोल्पासम्म खबर आदान प्रदान गर्न कुनै पनि सुविधा थिएन। घरबाट भागेर आएकाले घरकाले वास्ता गर्न छाडिसकेका थिए। घरकाले पैसा पठाइदेलान् भन्ने आशा पनि थिएन। 'अन्य काम गरेर खर्चबर्च टार्ने निधो गरियो', न्यौपाने भन्छन्।

रेडियो नेपालमा अवसर

काठमाडौं बसाइकै क्रममा रेडियो नेपालबाट स्वर परीक्षण हुँदै छ भन्ने खबर पाए उनले। साह्रै खुसी भए। 'मेरै सपना पूरा गर्न नै सूचना खुलेको हो कि जस्तो लाग्यो', उनले भने। रेडियो नेपालमा स्वर परीक्षण गराउने र सफल हुने अठोट गरे उनले । स्वर परीक्षणका लागि फारम भरे। तत्कालीन रेडियो नेपाल संगीत शाखाका प्रमुख धर्मराज थापा थिए। उनी स्वर परीक्षणको दिन पारेर रेडियो नेपाल पुगे।

रेडियो नेपालमै नातिकाजी, तारादेवी, किरण खरेलतगायतका संगीत क्षेत्रका प्रसिद्ध व्यक्तिसँग भेट भयो उनकाे। आफ्नो सम्पूर्ण जानकारी दिइसकेपछि स्वर परीक्षण गर्ने मौका पाए उनले। दर्जनौँ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भए। 'मेरो हाइहाइ भयो, सबैले चिन्न खोजे', उनले भने, 'मेरो जीवनको ठूलो सपना साकार भएजस्तै लाग्यो।'

रेडियोमा काम गर्ने मौका पाइसकेपछि काठमाडौं बसाइ रमाईलो लाग्न थाल्यो उनलाई। दिउँसो पढ्ने, बेलुका रेडियो नेपालमा जान थाले। 'गीत लेखन र स्वर राम्रो भएकाले मेलै लेखेको गीत करेक्सन नै हुँदैनथ्यो। गीत गाउने पनि लेख्ने पनि आफैँ गर्न थालेँ', उनले विगत सुनाए, 'गीत गाएवापत केही पैसा पनि पाइँदोरहेछ।'

त्यसपछि गीत गाउन थाले उनी। चार-पाँच महिना न्यून पारिश्रमिकमा गीत रेर्कड गराए। जे जस्तो भए पनि जन्मथलो भनेको स्वर्गभन्दा पनि प्यारो हुन्छ। घरको याद घेरै आउन थाल्यो उनलाई। 'तर तुरुन्तै घर फर्कने इच्छाचाहिँ थिएन', उनले भने।

घरको सम्झनालाई विषयवस्तु बनाएर गीत बनाए उनले। रेडियोबाट प्रसारण गर्न निधो गरे। 'म आफैँ रेडियोमा काम गर्ने भएकाले गीत प्रसारण गराउनु मलाई गाह्रो थिएन', उनले भने। रेडियो नेपालमा पहिलो पटक 'दुई जना जाँचैका सिपाही चिउरी कल्पतैको, सुन डोल्पामा छौ म नेपालमा छु माया अलपत्रैको' बोलको गीत रेर्कड गराए उनले। 'मलाई वाद्यवादनसम्बन्धी पनि राम्रै ज्ञान थियो। हार्मोनियम राम्रोसँग बजाउन आउँथ्यो', न्यौपानेले भने, 'डोल्पाली भन्दै सबैले माया गर्थे।'

विस्तारै तारादेवीसँग पनि राम्रो  चिनजान भयो उनको। सँगै दोहोरी गीत गाउन थाले। 'यसरी रेडियो नेपालमा गाउन थालेपछि केही समयमै ठूलो अवसर पनि पाएको थिएँ', उनले भने, 'धर्मराज थापा भ्रमणमा बाहिर गएको बेला निमित्त संगीत प्रमुखको पनि जिम्मेवारी पाएँ। रेडियो नेपालमा सबैसँग हेलमेल बढ्दै गयो।'

गीतहरू पनि धेरै गाउन थाले उनले। 'मेरो भाग्यले जुराएको भनौँ वा सांगीतिक क्षेत्रमा काम गर्ने मेरो भाग्य नै नभएको भनौँ, मैले गाएका गित डोल्पामा रहेका घरपरिपारले सुनिसकेपछि मलाई पढ्न गएको मान्छे गायक भएछ भने', उनी निराशझैँ देखिए यसो भन्दा।

'रेडियोमा गीत गाएर हाम्रो इज्जत फाल्यो। सबैले सुने होलान्, हामीले कसरी समाजमा नाक देखाउने' भनेछन्। तुरुन्त घर बोलाए उनलाई। 'त्यतिखेर गीत गाउने काम तल्लो जातको बादी समुदायका मान्छेले मात्रै गर्छन् भन्ने सामाजिक धारणा थियो', तत्कालीन समाज उधिने, 'माथिल्लो जातको मान्छेले गीत गाएमा इज्जत जान्छ भन्ने भनाइ थियो।'

उनी घर आउन नमानेपछि उनको भागको जग्गा जमिन छुट्याइदिएछन्। श्रीमती भागेर माइत गइछन्। 'त्यतिखेर जग्गा बाँझो राखे गाउँ समाजमा इज्जत जान्छ भन्ने भनाइ थियो। घरबाट तुरुन्त डोल्पा फर्किने भन्दै चिठी पुग्यो', न्यौपानेको विगत फुक्यो, 'पारिवारिक दबाबका कारण अन्ततः सबै सपनाहरूलाई मिल्काएर डोल्पा फर्किन बाध्य भएँ।' रेडियो नेपालबाट पटक पटक खबर पनि आयो तर घरपरिवारले जेलिसकेकाले त्यसपछि काठमाडौं जान पाएनन् न्यौपाने।

२३ जिल्लामा प्रथम

कैलाली जिल्लामा साथी संस्थामार्फत् संचालनन गरिएको हस्तकला, चित्रकला तथा नाटक विधामा भएको २३ जिल्लाको प्रतियोगितामा साँस्कृतिक कार्यक्रममा डोल्पाबाट आफू प्रथम भएको न्यौपानेले बताए। हस्तकलामा पनि उनी प्रथम भए।

कविता, नाटक, गायन, वाद्यवादन, लेखनलगायत विविध क्षेत्रमा पोख्त न्यौपानेलाई डोल्पामा बहुप्रतिभाका धनीको रूपमा डोल्पालीहरूले सम्मान गर्छन्।

न्यौपानेलाई डोल्पामै हास्य जगतका हस्तीको रूपमा समेत चिनिन्छ। कतिपय त उनलाई 'डोल्पाका धुर्मुस' भनेरसमेत चिन्छन्। कैलालीमा सुटिङ भएको 'चोर' नामको फिल्ममा समेत अभिनय गरेको अनुभव छ न्यौपानेसँग।

सबै क्षेत्रमा फिट न्यौपानेले विभिन्न विधामा २५ भन्दा धेरै प्रमाणपत्र तथा प्रशंसापत्र पाएका छन्। 'मेरो जीवनका सम्पति भनेकै प्रमाणपत्र र प्रशंसापत्र नै हुन्', न्यौपानेले भने।

गायन, वाद्यवादन, लेखन, हास्यव्यंग्य सबैमा सक्रिय न्यौपाने एक उदाहारणीय कृषक पनि हुन्। कृषितर्फ जिल्लामै उत्कृष्ट फलफूल तथा अन्नबाली,तरकारी उत्पादन गरेवापत उनले पुरस्कारसमेत पाएका छन्।

साहित्य विधामा पनि रुचि भएकाले दर्जनौँ किताबहरू प्रकाशन गरिसकेको र अन्य पुस्तकहरू प्रकाशन गर्ने तयारीमा रहेको उनको भनाइ छ।

रवि न्यौपाने डोल्पाकै गहना हुनुहुन्छ, उहाँले नजानेको केही पनि छैन', स्थानीय समाजेवी टंकप्रसाद उपाध्यायले भने, 'पुरानो कला, सँस्कृति जोगाउन उहाँको अग्रणि भूमिका रहेको छ।' वृद्ध मान्छे भएर पनि सबै उमेरका मान्छेहरूसँग हेलमेल गर्नसक्ने खुबी न्यौपानेको रहेको भन्दै उपाध्यायले समाजमा यस्ता मान्छे कमै जन्मने बताए।

'जीवनमा पैसा कमाउन नसके पनि नाम भने कमाएको छु। मलाई नचिन्ने कमै होलान्। यही नाम नै मेरो सम्पति हो, यसैमा गौरवान्वित महसुस गर्छु', न्यौपानेले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.