|

कालीकोट : संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको छ। उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको हो। 

जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ तर अहिले त्यही उपत्यकाको अस्तित्व र महत्त्व संकटमा परेको छ। 

सिंजा उपत्यकामा रहेका पूर्वप्राचीनकालमा बनाइएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाजलगायत अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेको स्थानीय पवित्रकुमार शाहीले बताए। ‘नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ’, उनले भने, ‘पर्यटकीय क्षेत्रहरू अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेका छन्।’

नेपाली भाषाको उद्गमस्थान जुम्ला सिंजाको उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना-ठूला देवी देउताका मन्दिरहरू जीर्ण भई ध्वस्त हुन लागेको स्थानीय अमरबहादुर शाहीले बताए। ‘प्राचीन सभ्यताका चिनारीहरू हराउन थालेका छन्’, उनले भने, ‘कयौँ मठ मन्दिरहरू जीर्ण अवस्थामा रहेका छन्।’

त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ। खस राज्य संचालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेको जुम्लाका इन्जिनियर नरेशदत्त रावलले बताए। ‘जुम्लामा रहेको खस राज्यको इतिहास नै मेटिन लागेको छ’, उनले भने, ‘त्यसको संरक्षण जगेर्ना गर्न कसैले पनि पहल चालेको छैन।’

यसैगरी प्रसिद्ध कनकासुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनका लागि जगा खन्ने क्रममा पाँचवटा मूर्ति भेटिएको छ। कर्णाली पर्यटन प्रवर्द्धन विकास समितिको लगानीमा भक्तजनहरूलाई बस्नका लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मूर्ति भेटिएका हुन्। पाँचवटा मूर्तिमध्ये तीन ठूला र दुई साना रहेका छन्, जसमा विष्णु, जालाफा देवी, शिव, लक्ष्मी, साँढेलगायतका मूर्ति रहेका छन्। मूर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरबार रहेको अनुमान गरिएको छ।

कनकासुन्दरी मन्दिरलगायत सिंजा क्षेत्रमा रहेका महत्त्वपूर्ण स्थानहरूको संरक्षण, संग्रहालय, उत्खनन् र सुरक्षा आवश्यक रहेको कर्णाली पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष नरबहादुर रावतले बताए। ‘महत्त्वपूर्ण ठाउँको संरक्षण हुन सकेको छैन्’, उनले भने, ‘ऐतिहासिक ठाउँको सुरक्षा पनि छैन।’

कनकासुन्दरी मन्दिर क्षेत्रमा धर्मशाला निर्माण गर्दा ३०० वर्षभन्दा पुराना मूर्ति भेटिएका र भेटिएका मूर्तिहरू सुरक्षाका लागि इलाका प्रहरी कार्यालय हाडसिंजामा राखिएको समितिका सचिव ताराजंग हमालले बताए। ‘मन्दिर क्षेत्र र खस राज्यको दरबार रहेको क्षेत्रमा उत्खनन्‌को आवश्यकता रहेको छ’, उनले भने, ‘यसले इतिहास के भन्नेसम्म पनि पत्ता लाग्न सक्छ।’

कर्णालीमा रहेका विभिन्न धार्मिक-सांकृतिक, वेशभूषा र गुफा, मन्दिर, पंचेबाजालगायत पनि संरक्षणको पर्खाइमा छन्। तर यस्ता पुरातात्त्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ। अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयको भनाइ छ।

खस राज्यको इतिहास 

बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ। जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए। नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो। चौथो शताब्दीमा सुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो। 

खस राज्यको योगदान ‘भाषा’

कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो। सिंजा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ। 

खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.