|

सिन्धुली : जिल्लाको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले २० वर्ष पछि भएको स्थानिय तहको निर्वाचनमा ‘नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने नारालाई आफ्नो घोषणा पत्रको पहिलो बुँदामै समावेश गरेका थिए। सोही नारा लिएर चुनावमा होमिएका खत्री नगर प्रमुखमा पनि निर्वाचित भए।

निर्वाचित भएर नगरपालिकामा आएको पहिलो वर्षको नगरसभामार्फत नै विजुली बत्ती नपुगेको नगरका विभिन्न ठाउँमा बत्ती पुर्‍याउने भन्दै २ करोड रकम विनियोजनसमेत गरे। पहिलो चरणमा नगरपालिकाको–८ वडाका सबै ठाउँमा बिजुली बत्ती पुर्‍याउने भन्दै काम अगाडि बढाउनका लागि ठेक्का पनि नगरपालिकाले लगायो। ठेक्का काठमाडौंको धुलिखेल निर्माण सेवाले हात पार्‍यो। 

ठेक्काको काम पूरा गरेर धुलिखेल निर्माण सेवाले सम्झौता अनुसारको काम सुरु गर्न थाल्यो। त्यतिबेला नगर प्रमुख खत्री उत्साहित थिए। किनकि उनले गरेको बाचा पूरा गर्न पाउने भए। तर उत्साहीत नगर प्रमुखले सोचेजस्तो भएन, नगर प्रमुखको नाराको पहिलो पाइलामा नै ठेकेदार कम्पनीले तुसारापात गरिदियो। धुलिखेल निर्माण सेवाले तीन महिनाको अवधिमा आधा पनि काम सम्पन्न नगरेपछि उनको नारामा तुसारापात भएको हो। 

११ मिटरको २१० ओटा र ८ मिटरको २२० ओटा स्टिलको पोल गाड्ने र १४ मिटर लम्बाइमा तार टाँग्ने गरी धुलिखेल निर्माण सेवाले २०७४ साल चैत्र १६ गते सम्झौता गरी काम सुरु गरेको थियो। धुलिखेल निर्माण सेवाले यो सवै काम २०७५ साल असार २० गते सम्म सम्पन्न गनुपर्ने सम्झौतामा उल्लेख छ। तर सम्झौता अवधिभरमा धुलिखेल निर्माण सेवाले कुल बजेटमध्ये ६१ लाखको मात्र काम गरेर बिजुली विस्तारको काम अलपत्र छाडिदियो। धुलिखेल निर्माण सेवाले ६१ लाखमा ११ मिटर लामो ४५ ओटा र ८ मिटर लामो २२० ओटा पोल गाड्नु बाहेक अरु काम गर्न नसकेको कमलामाई नगरपालिकाका इन्जिनियर विनोद बाबु खकुरालले बताए। 

सम्झौता अनुसारका काम नभएपछि ठेकेदार प्रति नगरका नगर प्रमुख खत्री आक्रोशित भएका छन्। सम्झौता अनुसारको काम नगरेकोमा ठेकेदारलाई कारबाही गर्ने प्रक्रियामा नगरपालिका रहेको खत्रीले बताए। 

गत वर्ष विनियोजित रकममध्ये ६१ लाखको मात्र काम भएपछि बाँकी १ करोड ३९ लाखमा १ करोड ६१ लाख बजेट थप गरेर विद्युत विस्तारको काम गरिने नगर प्रमुख खत्रीले जनाए। नगरपालिकामा इलेक्ट्रिकल इन्जिनियर नियुक्त गर्ने र काम अगाडि बढाउने नगरसभाको निर्णय भएको खत्रीको भनाइ छ। 

नगरपालिकाको १४ वटै वडामा विजुली पुगे पनि ती वडाका सबै ठाउँमा भने बिजुली पुग्न सकेको छैन। नगरका आधा जनसंख्या अझै बिजुली बत्ती प्रयोगबाट वन्चित छन्। विद्युत प्राधिकरण शाखा सिन्धुलीले गत आवमा नगरपालिकाको १४ वटै वडाका सवै ठाउँमा विद्युत पुर्याउन ६ करोडको स्टमेट दिएको नगर प्रमुख खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.