|

डोल्पा : कर्णालीका डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरूसम्म पुग्न सहज सडक यातायातको पहुँच छैन। त्यहाँसम्म पुग्ने भरपर्दो माध्यम भनेको जहाज नै हो। त्यसो त चाड पर्व मात्रै नभई अन्य समयमा घर जाँदासमेत थुप्रै सास्ती भोग्नुपर्ने कर्णालीबासीको बाध्यता हो।

डोल्पा र हुम्ला बाहेक कर्णालीका केही जिल्लासम्म सडक सुविधा पुगे पनि अप्ठेरो बाटोका साथै जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले जिल्ला पुग्ने भरपर्दो माध्यमको रुपमा जहाजनै रहेको छ।

नेपालगंज विमानस्थलमा यात्रु खचाखच

नेपालगंञ्ज विमानस्थलमा यात्रु खचाखच भरिएका छन्। दशैँ नजिकिँदै जान थालेपछि कर्णालीका डोल्पा, हुम्ला, जुम्ला लगायतका जिल्लाहरूमा उड्ने सर्वसाधारणको चाप वढेको नेपालगंञ्ज विमानस्थलले जनाएको छ। वर्षमा एक पटक आउने चाडपर्व परिवारसँगै मनाउने आशाले सर्वसाधारणहरू आउन थालेपछि विमानस्थलमा यात्रुको चाप बडेको नेपालगंञ्ज विमानस्थल सुरक्षा प्रमुख दिनेश बिष्टले जानकारी दिए। अन्य समय भन्दा दशैँमा यात्रुको चहल-पहल बढ्ने भएकाले विमानस्थलको सुरक्षा समेत मजबुत बनाइएको बिष्टले बताए।

विमानस्थलमा यात्रुहरू दिनप्रतिदिन यात्रु थपिन थालेपछि  हप्तौ दिनसम्म जहाज कुर्दा समेत हवाई टिकट नपाइएको सर्वसाधारणले गुनासो गरेकाछन्।
नेपालगंञ्ज विमानस्थलमा एक दर्जन धेरै जहाजले बोक्नु पर्ने जति सर्वसाधारणहरू भएको बताइएको छ। दिन प्रतिदिन यात्रु थपिँदै गएकाले मान्छेको चाप बढ्दै गएको नेपालगंञ्ज विमानस्थलले जनाएको छ।

'प्रत्येक दिन यात्रु थपिदैँ छन्। कर्णाली उड्ने जहाँज थोरै भए यात्रुको गुनासो गर्नु जायज हो' तारा एअर नेपालगंञ्जका प्रमुख दीलिप कार्कीले भने। 'टिकेटको माग धेरै भो। पूर्ति कम छ। सबैलाई कसरी टिकट वितरण गर्ने प्रत्येक दिन यात्रु घेरा हाल्छन्। झगडा गर्छन्। भनेका जति सबैलाई उडाउन सक्ने स्थिति छैन' कार्कीले भने। 'सडक नपुगेकाले डोल्पा र हुम्लामा झनै समस्या छ' उनले थपे। 'हवाई टिकट कै लागी बहालवाला मन्त्रीदेखि सिडीओ सम्मले फोन गर्छन्। सिट भएसम्म उनीहरूका मान्छे हालिन्छ। नभए सिट छैन भन्दिन्छु' कार्कीले थपे।

एउटा जहाजले दिनमा पाँचवटा भन्दा धेरै उडानगर्न अनुमति नहुँदै पनि कहिलेकाहिँ यात्रुको पिर मर्का बुझेर थप उडान गर्ने गरेको एअरलाइन्सहरूले बताए। सधैँ हवाई टिकेटको शास्ती झेल्नु पर्ने कर्णालीबासीको नियति नै हो।

टिकट वितरणमा एकद्वार भएन

नेपालगंञ्ज विमानस्थलबाट उडान गर्ने तारा, समिट, सीता एअरको टिकट वितरण एकद्वार प्रणालीबाट नभएको यात्रुले गुनासो गरेका छन्। हवाई टिकट कहाँ पाउँछ। कसरी पाउँछ स्पष्ट नभएको यात्रुको गुनासो हो।

पहुँचवालाले सिधै तपाईंलाई फोन गरेर टिकट बुक गराउलान्, तर सर्वसाधारणले टिकट कहाँबाट पाउँछन् भन्दिनुस्। हाकिमसाब भन्दै आक्रोशित भएर कार्य कक्षमै पुगेका एक हुम्ली नागरिकले तारा एअरका एक कर्मचारीसँग सोधे। सर्वसाधारणले जहाज चढ्न नपाइने हो, कि ठूला बडा र टिकेट दिएबापत थप पैसा खुवाउनेले मात्रै उड्न पाउँछन् उनको अर्को प्रश्न थियो।

पहुँच र पावरको भरमा टिकट नबाँडेर बिधि र प्रक्रियामा टिकट बाँड्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। हवाई टिकटकैलागि नेपालगंज विमानस्थलमा सधैँजसो यात्रु र कर्मचारीकाबीच हात हालाहालको स्थिति सिर्जना हुने गरेको बताइएको छ। 'एअरलाइन्सहरूले कहाँ कसरी टिकट बाँड्छन्। सर्वसाधारणलाई अत्तोपत्तो हुँदैन्।

चिनजान र पहुँच नभएका सर्वसाधारणले कसरी उड्न पाउनलान्' नाम नबताउने शर्तमा विमानस्थलकै एक कार्गो कम्पनीमा काम गर्ने एक कर्मचारी भने। 'एक पटकमा एउटा जहाजले सत्र अठार जनासम्म बोक्छ। तर पाँचवटा टिकट बाँडेको हुँदैन सिट फुल भइसक्यो भनेर छल्छन्। त्यो सबै सर्वसाधारणलाई टिकट नबाँड्न खेल हो' उनले थपे। सबैलाई समान रुपमा हवाई सेवा प्रदान गर्ने हो भने हवाई टिकट एकद्वार प्रणालीबाटै वितरण गर्नु पर्ने उनले बताए।

आँसु झार्दा पनि टिकट पाइँदैन

दशैँताका नेपालगञ्ज विमानस्थलबाटै जहाज चढेर गन्तब्यसम्म पुगौँला भन्ने आशा कमैको हुन्छ। हप्तौँसम्म विमानस्थलमै जहाज कुर्दासमेत टिकटको टुंगाे नलाग्ने गरेपछि कतिपयको आशु नै झर्ने गरेको ठूलीभेरी नगरपालिका ९ का स्थानीय अमर कठायले भने। एअरपोर्टमै रोइकराई गर्दा समेत टिकट नपाइने स्थितिबाट कर्णालीबासीले छुट्करा पाउन नसकेको कठायतले बताए।

'जहाजमा उड्ने आशामा एअरपोर्ट गयो टिकेट टिकट कताबाट वितरण हुन्छ पत्तो हुँदैन। मुश्किलले एअरलाइन्सका कार्यालय पत्ता लगाउँदा कर्मचारीले सिट छैन भन्दिन्छन्' त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय जमानसिंह कठायतले भने।

'कर्मचारीसँग मिल्ने र सबैतिर पहुँच हुनेका लागि मात्रै जहाज हुन्। सर्वसाधारणका लागि होइन। हप्तौँ बसेर खर्चपर्च सकिन्छ तर जहाज टिकट नपाएर जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ,' कठायतले थपे। जहाज कुर्दा कुर्दै कतिपय सर्वसाधारण खर्चपर्च सकिएर अन्तमा ऋण खोजेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता समेत हुने गरेको कठायतले बताए।

आफ्ना उडाउन मन्त्री नै फोन गर्छन्

कर्णाली उड्ने जहाजलाई भरपर्दो सुविधा प्रदान गर्न लगाउनुको सट्टा कर्णालीका सांसददेखि मन्त्रीले आफै टिकटका लागि एअरलाइन्सलाई शिफारिस गर्ने गरेको सरोकारवालाले बताएकाछन्। 'कर्णाली जन्माएका प्रदेशदेखि केन्द्रसम्मका मन्त्रीले नै आफ्नालाई उडाउन टिकटका लागि शिफारिस गर्छन्। हवाई सिण्डिकेट अन्त्य गर्ने कुरा त कहाँ हो कहाँ' मिशन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भने।

बिकट पहाडी जिल्लामा उठान गर्दै आएका एअरलाइन्स कम्पनीहरूसँग सहकार्य गर्दै कर्णालीको हवाई सेवालाई थप प्रभावकारी बनाउने कुरामा कर्णालीका मन्त्रीहरू चुकेको केसीको भनाई छ। यी र यस्तै कारणले कर्णालीको हवाई सुविधा सर्वसाधारणको पहुँचमा अझै नपुगेको उनको भनाई छ।

सरकारी जहाजको आशा मर्‍यो

सरकारी जहाजको रुपमा रहको नेपाल एअरलाइन्सले भरपर्दो सुविधा नदिएको कर्णालीबासीले गुनासो गरेकाछन्। भौगोलिक विकटताका कारण कर्णालीबासीलाई शहर बजारसम्म जोड्ने एक  मात्र माध्यमनै जहाज हो। सरकारी जहाजले नै नियमित उडान गर्न नसक्नुले पनि कर्णालीबासीलाई हवाई असुविधा ज्यूँका त्यूँ रहेको छ। नेपाल एअरलाइन्सले टेष्ट उडान मात्रै नभई कर्णालीका जिल्लामा दैनिक दुई उडानसम्म नियमित गर्नुपर्ने कर्णालीबासीको माग छ।

नेपाल एअरलाइन्सको नयाँ ट्ववीनेटर जहाजले कर्णालीका सबै जसो जिल्लामा परीक्षण उडान गरिसकेकाले २१ गतेदेखि नियमित उडान सुरु गर्ने भनिएको नेपालगंञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए। कर्णालीका जिल्लाहरूसम्म पुग्न एकदमै समस्या छ,अझ डोल्पा र हुम्ला नागरिक झनै समस्यामा छन् ठाकुरले भने। कर्णालीबासीको समस्यालाई मध्यनजर राख्दै नियमित उडानका लागि केन्द्रमा पहल जारी राखेको ठाकुरले बताए। 

निजी बिमान कम्पनीहरूलाई नाफामुखी भन्दा पनि सेवामुखी हुन कर्णालीबासीले आग्रह गरेका छन्। कर्णालीमा सडक यातायातको भरपर्दो सुविधा नभएकाले चाड पर्वको समयमा कर्णाली छाडेर अन्त उडान गर्न निजी विमान कम्पनीहरूलाई अनुमति नदिन नागरिक उड्ययन प्राधिकरण नेपालगंञ्जलाई कर्णालीबासीले आग्रहसमेत गरेकाछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.