|

त्रिपुराकोट(डोल्पा)  : यातायाका साधनहरु जहाज, गाडीहरुमा बिरामी, अशक्त, अपाङ्ग, महिला लगायतका आरक्षण सिटहरुको व्‍यवस्था गरिएको हुन्छ। प्रत्येक एअरलाइन्समा बिरामिका लागि छुट्टै सिटको पनि व्‍वयस्था हुन्छ।

जहाज अवतरण हुनुभन्दा अगाडिसम्म विमानस्थलमा बिरामी पुगेपछि हवाई टिकट दिएर उडाउने कर्तव्य पनि एअरलाइन्सकै हो। तर, यी सबै कुरालाई बेवास्ता गर्दै बुधबार डोल्पामा जुफाल विमानस्थलमा एअरलाईन्सहरुले पीडामा छट्पटाइरहेको एकजना बिरामीसमेत बोक्न मानेनन्। हातको घाउ बल्झिएर थला परेका काइके गाउँपालिका-५ बस्ने हरिप्रसाद रोकायलाई समिट, तारा, नेपाल  एअरलाइन्सले हवाई टिकट दिएनन्।

एअरलाइन्सले टिकट नदिएपछि पीडा सहेर नजिकैको एक होटेलमा बसेको बिरामी रोकायले बताए। ‘बिहानै जहाजमा उड्ने र अस्पताल पुगेर उपचार गर्ने आशामा एयरर्पोट पुगेँ, चौरभरि जहाज थिए, अरू मान्छे उडिरहेका थिए तर मलाई जहाज टिकट कसैले दिएनन्, उड्न पाइनँ’ बिरामी रोकायले गुनासो गरे। ‘देब्रे हातमा सानो खटिरा थियो, धेरै चिलाउँथ्यो, बढ्छ कि भनेर निचोरे, पिप र रगत निस्क्यो त्यही घाउ बल्झिएर हातनै झर्ने अवस्थामा छ’ रोकायले भने।

‘घाउ बल्झिएला भनेर श्रीमानलाई लिएर जिल्ला अस्पताल डोल्पामा उपचार गराउन गयौँ, त्यहाँ डाक्टरहरुले नसक्ने र उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बताएपछि काठमाडौं जान जुफाल एअरर्पोट पुगेका हौँ’ रोकायकी श्रीमती केसाङ रोकायले भनिन्। जिल्ला अस्पतालले दिएको बिरामी पुर्जा देखाएर हवाई टिकटका लागि हारगुहार गर्दा पनि कसैले नसुनेको रोकायले गुनासो गरिन्।

‘हाम्रै गाउँपालिकाका अध्यक्ष तल झर्न आएका थिए तर वास्ता नगरेरै उनी पनि जहाजमा उडे, जनता भनेका चुनावका वेला मात्रै चाहिँदा रहेछन्, हामी गरिबलाई समस्या पर्दा कसैले हेर्दा रहेनछन्’ रोकायले दुखेसो सुनाइन्। बुधबार तारा एअरलाइन्सले एक, समिटले दुई र नेपाल एअरलाइन्सले दुईवटा उडान भरेका थिए।

‘हात दुखेर चलाउन हुन्न, थोरै हल्लायो भने पनि असह्य पीडा हुन्छ, उता डाक्टरले यथाशीघ्र जिल्ला बाहिरका ठूला अस्पतालमा देखाउनुपर्ने बताएका छन्, यस्तो अवस्थामा पनि हामी सर्वसाधारणलाई कसैले हेर्दैनन्’ गहभरी आँसु पार्दै बिरामी रोकायले भने। ‘जहाजमा उड्न नपाएपछि आज एयरपोर्टनजिकै रहेको एक होटेलमा बसेका छौँ, भोलि टिकट दिन्छन्, दिँदैनन्, चिनेजानका पनि कोही छैनन्’ रोकाय दम्पतीले गुनासो गरे।

जुफाल विमानस्थलमा सेवा दिँदै आएका एअरलाइन्सका कर्मचारीहरूले हवाई टिकट वितरणमा समेत भेदभाव गर्ने गरेपछि सोझासाझा सर्वसाधारणहरु मर्कामा पर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.